शुक्रबार, जेठ ३, २०८२

पर्वतका दुई विकट बस्तीमा खानेपानी सुविधा

नेपालखोज २०८० चैत २६ गते ९:१८

पर्वत । वषौँदेखि खानेपानीको समस्या झेल्दै आएका पर्वतका दुई विकट बस्तीमा खानेपानीको सुविधा पुगेको छ । फलेवास नगरपालिका–३ पुर्कोट र जलजला गाउँपालिका–८ नाङलीवाङको लुप्राङ गाउँमा खानेपानी सुविधा पुगेको हो ।

आकासे पानी घैँटामा सङ्कलन गर्ने र दैनिक एक गाग्री पानीका लागि घण्टौँ समय लगाएर पानीको जोहो गर्नुपर्ने यहाँका नागरिकको समस्या अब समाधान भएको छ । पुर्कोटमा डिप बोरिङ खानेपानी आयोजनामार्फत खानेपानी सुविधा उपलब्ध गराइएको हो । बस्तीभन्दा तल रहेको चाम्लेस्वारा धारापानीमा जमिनमुनिको पानी उत्खनन गरेर माथि डाँडामा पुर्याइएको छ ।

स्थानीय दुई सय परिवारका लागि डिप बोरिङमार्फत उत्खनन गरिएको पानी तानेर ट्याङ्कीमा सङ्कलन गरी एक घर एक धारामार्फत वितरण गरिने भएको छ । चार करोडको लागतमा यो योजना सञ्चालन गरिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङका इन्जिनियर प्रेमबहादुर थापाले बताए । केही महिनामै सबै घरमा धारा बनाएर पानी वितरण गरिने उनले जानकारी दिए ।

अहिलेसम्म पिठ्यूँमा गाग्री बोकेर गुजारा चलाउँदै आएकी स्थानीय बबिता दर्जीले गाउँमा धारामा पानी आउन थालेपछि सुखको सास फेरेको बताए । अब पानीको जोहो गर्नकै लागि रातैमा उठेर कुवा र इनारमा धाउनुपर्ने समस्या अन्त्य भएको उहाँको भनाइ छ । डाडाँमा बस्ती बसेको वषौँ वर्षपछि खानेपानी उपलब्ध भएको दर्जीले बताए ।

बोरिङमार्फत तानिएको पानी ट्याङ्कीमा सङ्कलन गरेर हरेक घरमा वितरण गरिने फलेवास नगरपालिका–३ शङ्करपोखरीका वडाअध्यक्ष अर्जुनबहादुर कार्कीले जानकारी दिए । नजिकमा खोला वा मूल नहुँदा यो गाउँमा अहिलेसम्म खानेपानी योजना सञ्चालनसमेत हुन सकेको थिएन ।

त्यसैगरी, लामो समयदेखि काकाकुलको नियति भोगिरहेको जलजला गाउँपालिका–८ नाग्लीवाङस्थित लुप्राङमा पनि पहिलोपटक पाइपमार्फत खानेपानी पुर्याइएको छ । सिङ्गो बस्ती नै एउटा कुवामा निर्भर हुनुपर्दा भोग्नुपरेको सास्तीका कारण बसाइँसराइ बढिरहेको बेला लामो प्रयासपछि पानीको सुविधा पुगेको हो । जलजला–८ का वडाध्यक्ष हरि विकास जिसीले वर्षौंदेखिको समस्या समाधानका लागि लामो समयदेखि नै प्रयास गरे पनि बल्ल सफल भएको बताए ।

प्रतिक्रिया