मंगलबार, वैशाख १८, २०८१

पाठ्यपुस्तक समयमै पुग्दा नतिजा सुधारोन्मुख

नेपालखोज २०८० चैत २५ गते १२:४१

चैनपुर (बझाङ) । केदारस्यूँ गाउँपालिकाको जनचेतना आधारभूत विद्यालय देउरामा अहिले कक्षा छ मा पढ्छिन, अङ्किता दमाई । विगतका वर्षमा मुस्किलले पास हुने उनी यसपटक भने कक्षामा उत्कृष्ट अङ्क ल्याउन सफल भइन । पाठ्यपुस्तक अभाव र मेहेनत नहुँदा खस्केको उनको पढाइ यस वर्ष भने राम्रो हुँदा उनका परिवार पनि ढङ्ग छन् ।

‘उसको पढ्ने रहर त थियो । तर, पढ्नलाई किताबै पाइँदैन थिइन्’, उनकी दिदी सिर्जनाले भने, ‘पुराना किताब आधा च्यातिसकेका हुन्थे । घरमा पनि खासै पढाइमा कसैले सघाउँदैन थिइन् । बहिनीको नतिजा पनि गतिलो हुँदैन थियो ।’ गत वर्ष पाँच कक्षामा भर्ना गर्न जाँदा नयाँ किताब पाएपछि भने बहिनीको पढ्ने बानी पनि विकास भएको र वार्षिक परीक्षामा उत्कृष्ट नतिजा आएको सिर्जनाले सुनाए ।

सोही विद्यालयका तेजेन्द्र भण्डारी चार कक्षामा पढ्ने बेलामा एउटा किताब त फागुनमा मात्रै पुगेको थियो । ‘फागुनमा किताब पढेर चैतमा जाँच दिएर कसरी पास हुनु रु निकै मुस्किल हुन्थ्यो । मेरो मात्रै नभई अरू विद्यार्थीले पनि खासै पढ्न पाउँदैन थिए । यस पटक सबैले राम्रो अङ्क ल्याएर पास भएका छन्’, उनले भने ।

वित्थडचिर गाउँपालिकाको केदार माविमा पढ्ने विनोद बोहरा विद्यालयमा राम्रो विद्यार्थीका रुपमा चिनिनुहुन्छ । गत वर्ष भर्नासँगै पुस्तक पाएपछि भने झन् उनले मेहेनत बढाए । ‘विगतका कक्षामा किताब पाउन त मुस्किल हुन्थ्यो । सरहरूले पनि किताब नआएको भन्दै पढाउन हेलचक्क्र्याँई गर्नुहुन्थ्यो’, उनले भने, ‘आधा कोर्स पढाइ नहुँदै वार्षिक परीक्षा हुन्थ्यो । अहिले भने सबै पढाइ हुन्छ । विद्यार्थीहरू पनि राम्रो नम्बर ल्याएर पास हुन्छन् ।’

बोहराको जस्तै अनुभव छ, सोही विद्यालयमा अध्ययनर कल्पना ढाँटको पनि । उनले भने, ‘सरकारले किताब दिएको छ, सरहरूले खुसी भएर पढाइरहनुभएको छ । विभिन्न सङ्घ संस्थाले सहयोग गरिरहनुभएको छ । केही अपुग भए पनि हामी गुनासो गर्छौं । समस्या समाधान हुन्छ ।’

जिल्लाकै बढी विद्यार्थी हुने मध्येको केदार माविमा यसपटक नतिजा राम्रो आएको उनले सुनाए । शैक्षिक सत्रसँगै विद्यार्थीलाई पाठ्यपुस्तक वितरण भएकाले नतिजा सुधारोन्मुख भएको शिक्षा विकास तथा समन्वय इकाई बझाङको भनाइ छ । इकाईका सूचना अधिकारी वसन्तबहादुर सिंहका अनुसार विद्यार्थीको नतिजाको तथ्याङ्क यकिन नभए पनि नतिजा फेरिएको छ । पाठ्यपुस्तक समयमै विद्यार्थीले पाउँदा वर्षभरिमा पढाइ पनि हुने ज्ञान पनि हासिल गर्ने उनले बताए ।

गत शैक्षिक सत्र २०८० को वैशाखमा विद्यार्थी भर्नासँगै हात–हातमा पाठ्यपुस्तक वितरण गरेका सामुदायिक विद्यालयले यस वर्ष पनि भर्नासँगै पाठ्यपुस्तक वितरण गर्ने तयारी गरिरहेका छन् ।

कतिपय विद्यालयले आवश्यकताअनुसार चैत महिनामै विद्यालयमा पाठ्यपुस्तक पुर्याइसकेका छन् भने कतिले ल्याउने तयारी गरिरहेका छन् । खप्तडछान्ना गाउँपालिकाको शिक्षा शाखा प्रमुख हरिप्रसाद सोतीका अनुसार जम्मा विद्यार्थी सङ्ख्याको ७५ प्रतिशत पुग्ने गरी पाठ्यपुस्तकका लागि विद्यालयलाई भुक्तानी भइसकेको छ ।

जनक शिक्षा सामग्री केन्द्रका आधिकारिक बिक्रेता रहेका पुस्तक पसलहरूले पुस्तकहरू धमाधम ढुवानी गरिरहेको शिक्षा विकास तथा समन्वय विकास इकाइले जनाएको छ । इकाइका अनुसार जिल्लाका सबै सामुदायिक विद्यालयबाट सबै विद्यार्थीले नयाँ पुस्तक पाउनेछन् ।

प्रतिक्रिया