तीन पुस्तादेखिको कटुवाल पेसा धान्दै मनबहादुर

गोरखा । नेपाली समाजमा पहिला पहिला गाउँघरमा सूचना दिन कुनै माध्यम नहुँदा घरघरमा पुर्याउने कटुवाल राख्ने चलन थियो । मेला पर्व होस् वा गाउँभरि पूजाआजाका लागि सूचना दिनुपरे सबैले सुन्न सक्ने गरी गाउँको बीचमा पर्ने अलि अग्लो डाँडामा गएर कटुवाल कराएपछि त्यसैलाई गाउँलेले आधिकारिक सूचना मान्ने चलन थियो । उक्त चलन अब भने केही ठाउँमा मात्र कायम छ ।
गोरखाको बारपाक सुलिकोट गाउँपालिका–६ स्थित माइकोट कोर्थोकका मनबहादुर दर्जीले कटुवाल पेसा गर्दै आए करिब तीन दशकभन्दा बढी भइसक्यो । हजुरबुबा र बुबाले गरेको पेसालाई पछ्याउँदै उनले पनि उमेरमै कटुवाल पेसामा जोडिए ।
माइकोट मन्दिरमा गरिने विशेष पूजा र मेला पर्व परेपछि मनबहादुर एकदुई दिनअघि नै हातमा माइक बोकेर गाउँका डाँडाडाँडामा पुगेर कराए । गाउँको खबर गाउँलेका घरघरमा पुर्याउन्छन् । उनलाई कटुवाल कराउने दिन जहिले बिहानै हतार भइसकेको हुन्छ । पूरै गाउँ डुलेर कटुवाल कराएर घर फर्कदा साँझ पर्ने भएकाले पनि बिहान सकभर ६ बजे नै निस्किने गरेको मनबहादुर बताए ।
‘गाउँको उल्टे, बाँकोट, मैलुम हुँदै भालुस्वाँरसम्म एकैदिन हिँडेरै ११ ठाउँमा पुगेर कटुवाल कराउनुपर्छ’, उनले भने, ‘बिहान चाँडै उठेन भने भ्याउन मुस्किल पर्छ ।’
मनबहादुरको कटुवाल पेसा मात्रै पुरानो होइन । उनले पाउने पारिश्रमिक पनि अझैसम्म पहिलाकै छ । ‘हाम्रो परिवारको म मात्र होइन, तीन पुस्तादेखि नै कटुवाल पेसा गर्दै आएका छौँ’, उनले भने, ‘बाजेले गरे, बाउले गरे अहिले मैले पनि गर्दैछु ।’ कटुवाल कराएबापत मनबहादुरले गाउँका सबै घरबाट गरेर वर्षमा करिब–करिब चार मुरी जति कोदो र दसैँमा प्रत्येक घरबाट एक भाग खानेकुरा पाए।

प्रतिक्रिया