शुक्रबार, जेठ ४, २०८१

बेसहारा र अपाङ्गता भएकाहरुको घरदैलोमै चिकित्सक

नेपालखोज २०८१ वैशाख २० गते १४:१९

बलेवा (बागलुङ) । बागलुङको काठेखोला गाउँपालिका–२ भीमापोखराका हर्कबहादुर सार्की ‘क’ वर्गको अपाङ्गता भएका व्यक्ति हुन् । केही वर्षअघि शारीरिक अपाङ्गता भएका सार्कीलाई हिँड्डुल गर्नसक्ने भएकाले ‘ग’ वर्गको अपाङ्गता परिचयपत्र दिइएको थियो ।

उनको स्वास्थ्य अवस्था बिग्रिँदो थियो । शारीरिक समस्या थप हुने, उपचार गर्दा निको नहुने भएकाले उनले लामो समय थाले । ओछ्यानमा आराम गरिरहेका सार्कीलाई अपाङ्गताको बिग्रँदो अवस्थामा थप सुविधा पाउनेगरी परिचयपत्र पाइन्छ भन्ने थाहै थिएन ।

सामान्य परिवारका हर्कबहादुरको हिँडेर गाउँपालिका पुग्ने अवस्था थिएन । गाउँपालिका पुगेर मात्रै हुँदैनथ्यो । धौलागिरि अस्पताल पुगेर चिकित्कको सिफारिस ल्याउने पनि त अवस्था थिएन् । सवारी साधन रिजर्भ गरेर अस्पताल र पालिकासम्म पुग्न उनसँग आर्थिक अभाव थियो ।

गाउँपालिकाले अपाङ्गता परिचयपत्र पाएका सबैको नियमित अनुगमन गर्ने गरेको छ । उपचारका क्रममा रहेका अपाङ्गता भएको अवस्था बुझ्ने, अपाङ्गताको बिग्रँदो र सुधार भइरहेको अवस्था बुझ्ने गरेको गाउँपालिकाले हर्कबहादुरबारे जानकारी पायो ।

उनलाई ‘क’ वर्गको अपाङ्गता परिचयपत्र दिनका लागि गाउँपालिकाले चिकित्सक नै उनको घरमा लिएर गयो । गाउँपालिकाको प्रशासनिक जनशक्ति र जनप्रतिनिधिसँगै पुगे र उनलाई ‘क’ वर्गको अपाङ्गता परिचयपत्र दिइयो ।

घरमै पुगेर चिकित्सकले जाँच गरेपछि परिचयपत्र पाउने हर्क एक्ला व्यक्ति भने हुनुहुन्न । काठेखोला गाउँपालिका–७ रेशकी डम्मिकला थापाले पनि आफ्नै आँगनमा सबै प्रक्रिया पूरा गरेर ‘क’ वर्गकै परिचयपत्र पाए । काठेखोला गाउँपालिकाले असहाय अपाङ्गता भएका व्यक्तिका लागि घरमै पुगेर सबै सेवा दिने गरेको छ ।

प्रतिक्रिया