आइतबार, जेठ ६, २०८१

सामुदायिक विद्यालयमा व्यवस्थापनकै समस्या

नेपालखोज २०८१ वैशाख २६ गते १५:०१

तुलसीपुर । दाङको राप्ती गाउँपालिका–५ पहरुवास्थित बालकल्याण आधारभूत विद्यालयको कक्षा ७ को बोर्ड (कालोपाटी) फुटेको तीन वर्ष भयो । १२ वर्षअघि खरिद गरेको त्यो बोर्ड फुटेको तीन वर्ष हुँदा पनि नयाँ ल्याइएको छैन । त्यही पुरानै बोर्डमा कक्षा सञ्चालन भइरहेको छ । कक्षा ८ सम्म सञ्चालित उक्त विद्यालयमा एक सय ५५ विद्यार्थी छन् ।

सोही पालिकाको वडा नं। ४ स्थित जनज्योति आधारभूत विद्यालय नयाँ गाउँमा एउटै कक्षामा कम्प्युटर ल्याब र सोही कोठामा शिक्षकहरु बस्ने कोठा छ । यसले गर्दा विद्यार्थीहरुलाई पठनपाठनमा समस्या भएको छ । कक्षा ८ सम्म सञ्चालित यस विद्यालयमा दुई सय ४६ विद्यार्थी अध्ययनरत छन् ।

राप्ती गाउँपालिका–८ पिपरीस्थित शङ्कर मावि पिपरीमा पनि समस्या उस्तै छन् । कक्षा १२ सम्म सञ्चालित उक्त विद्यालयका प्रत्येक कोठा फोहर छन् । कोठामा धुलैधुलो छ । त्यही धुलोमा विद्यार्थीहरु बसिरहेका हुन्छन् । यहाँ पाँच सय २५ विद्यार्थी छन् । राप्ती गाउँपालिका–१ भलावाङ स्थित नेपाल राष्ट्रिय माविमा शौचालयमा पानी छैन । शौचालय दुर्गन्धले जानसक्ने अवस्था छैन । निर्माण भएको शौचालयको ढोका फुटेको छ । विद्यालयअगाडि राखिएको झन्डा च्यातिएर लत्रिएको अवस्थामा छ । कक्षा १२ सम्म सञ्चालित उक्त विद्यालयमा चार सय बढी विद्यार्थी छन् ।

यी त, दाङ राप्ती गाउँपालिकाभित्र रहेका केही सामुदायिक विद्यालयमा देखिएका बेथिति हुन् । अधिकांश सरकारी विद्यालयको समस्या उस्तै देखिन्छ । विद्यार्थी भर्नादर बढिरहे पनि विद्यालयले आफ्नो स–साना कुरा सुधारमा खासै ध्यान दिएको पाइँदैन तर पनि सामुदायिक विद्यालयमा विद्यार्थीको भर्ना दर भने केही वर्षयता बढिरहेको छ । राप्ती–१ स्थित नेपाल राष्ट्रिय माविमा एक सयभन्दा बढी नयाँ विद्यार्थी भर्ना भएका छन् । यस विद्यालयमा गएको वर्ष तीन सय विद्यार्थी थिए ।

त्यस्तै, सर्वोदय माविमा यस वर्ष मात्रै दुई सय बढी नयाँ विद्यार्थी थपिएका छन्भने जनज्योति आधारभूत विद्यालयमा ५० बढी नयाँ विद्यार्थी थपिएका छन् । सामुदायिक विद्यालयप्रति विद्यार्थीको विश्वास घटेको छैन । दक्ष शिक्षक र सुरक्षित कक्षा कोठाजस्ता कुराले सामुदायिक विद्यालयहरु निजीभन्दा राम्रा छन् । स–साना कुराहरुलाई सुधार गरे सामुदायिक विद्यालयमा आकर्षण बढ्ने स्वयं विद्यालयका प्रधानाध्यापकहरु बताउँछन् । ‘पछिल्लो समय जति नयाँ भर्ना भइरहेका छन्, तीमध्ये अधिकांश विद्यार्थी निजी विद्यालयबाट आएका छन्’, राष्ट्रिय माविका प्रधानाध्यापक लोकेन्द्र केसीले भने, ‘हामीले सामान्य कुरामा सुधार गर्दै गर्याेँ भने सामुदायिक विद्यालयमा विद्यार्थी दर अझै बढ्ने देखिन्छ ।’

अधिकांश सामुदायिक विद्यालयमा ठूला–ठूला भवन पनि छन् । शौचालय, खानेपानीसहित आधारभूत कुराहरु पूरा भए पनि ती कुराको सही सदुपयोग हुन सकेको छैन । विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा अभिभावकहरु एकजुट भएर लागेमा विद्यालय सफल हुने प्रधानाध्यापकहरुको धारणा छ । ‘विद्यालय व्यवस्थापन समितिले योजना बनाउने, प्रअसहित शिक्षकहरुले कार्यान्वयन गर्नुपर्छ’, जनज्योति आधारभूत विद्यालयका प्रअ कुलराज जैसीले भने, ‘त्यति गरेमा सामुदायिक विद्यालयको अवस्था सुधार हुन्छ ।’ शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि भवन मात्रै महत्वपूर्ण कुरा नभई व्यवस्थापनको पाटो पनि महत्वपूर्ण हुने उनको भनाइ छ ।

दाङकै नमूनामध्येको एउटा विद्यालय हो–राप्ती गाउँपालिका–२ लालमटियास्थित आदर्श नमूना मावि । यहाँ दुई हजार दुई सय विद्यार्थी छन् । कक्षा १२ सम्म सञ्चालित उक्त विद्यालयमा चालु शैक्षिक सत्रमा मात्रै प्रत्येक कक्षामा ५० जना भन्दा बढी विद्यार्थी थपिएका छन् । ती सबै नजिकैको निजी विद्यालयबाट आएको प्रधानाध्यापक किरण पोख्रेलले बताए । ‘अहिले धेरै विद्यार्थी नयाँ थपिएका छन्, यो वर्ष मात्रै प्रत्येक कक्षामा ५० जनाभन्दा बढी विद्यार्थी थपिएका छन्’, उनले भने, ‘यो सामुदायिक विद्यालयका लागि सकारात्मक पक्ष हो ।’

यस विद्यालयमा अहिले अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पढाइ हुन्छ । यसले गर्दा पनि विद्यार्थीको आकर्षण बढिरहेको उहाँको भनाइ छ । अङ्ग्रेजी माध्याममा प्रत्येक कक्षामा तीन वटासम्म सेक्सन रहेका छन्भने नेपाली माध्यममा दुईवटा सेक्सन रहेका छन् । प्रत्येक कक्षामा ५० जनासम्म विद्यार्थी राखिएको प्रअ पोख्रेलले बताए ।

प्रतिक्रिया