पुस्तक समीक्षा : झापा विद्रोहको यथार्थमाथि बहस चलाउँदै ‘२८ साल’

काठमाडौं । इतिहासका घटनालाई आधार बनाएर नाटक, खण्डकाव्य, उपन्यास आदि साहित्यिक कृति लेखिने तथा चलचित्र निर्माण गरिने चलन कायमै छ ।
बालकृष्ण सम, डायमनशमशेर, भीमनिधि तिवारी, माधवप्रसाद घिमिरे, एसपी आशा, श्रीकृष्ण श्रेष्ठ, नारायण ढकाल, योगेशराज, निलम कार्की निहारिका, नगेन्द्र न्यौपाने, चन्द्रप्रकाश बानियाँ, केशव दाहाल, गोविन्दप्रसाद कुसुम, राजव, चिरञ्जीवी वाग्ले आदिले ‘अमरसिंह’, ‘सेतो बाघ’, ‘शिलान्यास’, ‘राष्ट्रनिर्माता’, ‘राजराजेश्वरी’, ‘जङ्गबहादुर’, ‘वृषभ वध’, ‘रणहार’, ‘योगमाया’, ‘दरबार बाहिरकी महारानी’, ‘महारानी’, ‘मोक्षभूमि’, ‘भृकुटी’, ‘क्रूर पृष्ठमा जो थिए’, ‘बहादुर शाह’ आदि उपन्यास, नाटक, काव्यकृतिमा इतिहासका पक्षलाई विषय बनाए । कतिपयले सत्रौँ–अठारौँ शताब्दीका र केहीले पञ्चायतकालकै घटनाबारे लेखेर मदन र पद्मश्रीलगायत पुरस्कार पनि प्राप्त गरे ।
पात्रमार्फत इतिहासका लुकेका पाटाबारे जानकारी दिने र मनोरञ्जन पनि गराउने उद्देश्यले लेखिएका त्यस्ता कृतिमा वास्तविकता एवं सत्यताबारेको जोखिम भने कायमै रहन्छ । कथालाई रोचक बनाउन बिचबिचमा घुसाइने प्रसङ्ग, संवाद र वाक्यहरू मसला मात्र हुन् भन्ने सत्य जान्दा जान्दै पनि उपन्यासकारले घटनालाई तन्काइरहन्छन्, पाठक त्यसैमा रमाइलो मान्दै जान्छन् र आफू ऐतिहासिक घटनाको नजिक पुगेको ठान्छन् ।
कतिपय कृतिमा पात्रहरूका समय र घटनाको सत्यतामा आनका तान फरक परे पनि त्यसलाई कथा वा उपन्यास वा नाटक आदि भनिदिनाका साथै लेखकको कल्पनाशीलता भनिदिए पुग्छ । तैपनि ऐतिहासिक घटना र त्यसका पात्रहरूलाई प्रस्तुत गर्न लेखकहरू जोखिम मोल्नमै लालायित भइरहन्छन् । इतिहास लेख्दा तथ्यतथ्याङ्कको नजिक पुग्न निकै मेहनत पर्ने र कतिपय प्रसङ्गमा सत्यता नभेटिने भयले पनि उनीहरू आख्यान वा साहित्य लेखनमा लागेकाे हुन सक्छ ।
साङ्ग्रिला मिडिया ग्रुप प्रालिद्वारा २०८० पुसमा प्रकाशित साहित्यकार कुमार भट्टराईको ‘२८ साल’ उपन्यास नेपालको त्यस्तै ऐतिहासिक ‘झापा विद्रोह’ (२०२८–०३२) मा आधारित छ । सोही वर्ष माघ १० गते काठमाडौंमा विमोचन भएर बजारमा आई चर्चापरिचर्चा हुन थालेको छ । ‘२०२८ः झापा विद्रोहको अन्तर्कथा’ शीर्षकमा गत वर्ष नै भदौमा सार्वजनिक भएको निरोज कट्टेलको अनुसन्धानमूलक कृतिले पनि भट्टराईकै जस्तो कथा भन्छ तर इतिहासका वर्णनका रूपमा । आख्यानका रूपमा आएको भट्टराईको समीक्ष्य कृतिलाई भने कतिसम्म पत्याउने भन्ने प्रश्न चाहिँ बाँकी नै रहन्छ ।
लेखक विद्रोहसँग सम्बन्धित पात्रहरू कसैलाई देवत्वकरण र कसैलाई दानवीकरण गरिएकाले इतिहासको समूल सत्य स्वरूप खुल्न नसकेको तथ्यसँग विश्वस्त भएपछि नै अनुसन्धानात्मक समीक्ष्य कृति लेख्न आफू उद्यत भएको स्पष्ट गरे । आठ वर्षअघि अध्ययन सुरु गरी चार वर्ष लेखन, पुनर्लेखन, सम्पादन र प्रकाशनमा लागेको यस उपन्यासका ‘सबै तथ्य पात्रहरूसँग गरिएका आधिकारिक संवाद’ भएकाले ‘कृतिमा उल्लिखित विषय र सन्दर्भमा जिज्ञासा रहे उनीहरूसँग हरेक पाठकले सम्पर्क गर्न सक्ने’ वा रुजु गर्न सक्ने चुनौती पनि लेखकले दिएका छन् । झापाका पत्रकार भट्टराईका यसअघि ‘नसमेटिएका पाइलाहरू’ र ‘बकाइनो’ कथासङ्ग्रह तथा ‘मेरो’ कवितासङ्ग्रह र ‘कृष्ण’ सूत्रकाव्य पनि प्रकाशनमा आइसकेका छन् ।
उपन्यासकार ‘सम्पूर्ण सत्य केही हुँदैन’ भन्नेमा विश्वस्त भएपछि घटनाको यथार्थ खोज्नपट्टि तथा लेखनमा लाग्नुभयो । ‘इतिहासको वास्तविकता खोज्ने र हेर्ने प्रयासमा तयार’ भएको अनुसन्धानमूलक उपन्यासमा २०२८ सालदेखि सुरु भएको विद्रोहको पृष्ठभूमि, विकास र त्यस क्रममा विद्रोहीबाट आठ, सरकार पक्षबाट ६ र नागरिकको अगुवाइमा भएको एक जनाको हत्यासँग सम्बन्धित घटनाको नालीबेली वक्ताहरूका मुखबाट व्यक्त गराइएको छ ।
गाउँका हुनेखाने वर्गका धर्मप्रसाद ढकाल र उहाँका छोरा ज्ञानी एक्सनका नाममा मारिएपछि सरकारबाट पक्राउ परेकामध्ये पाँच जना झापा र इलामको सिमानामा पर्ने सुखानी जङ्गलमा २०२९ फागुन २१ गते मारिएकाले घटनाले झनै उग्र रूप लिएको र त्यसैबाट कोअर्डिनेसन केन्द्र हुँदै हालका नेकपा (माले), एमाले, एकीकृत समाजवादी जन्मेका हुन् । यसैले नेपाली कम्युनिस्ट आन्दोलनको इतिहास अध्ययन गर्दा २८ साल र त्यसपछिका घटना बिर्सनै सकिन्न ।
नेपालको वाम–प्रजातान्त्रिक आन्दोलनको विकास हुँदै गणतन्त्र प्राप्तिसम्मको उपलब्धिमा सो अभियानको भूमिका अत्यन्तै महत्त्वपूर्ण छ । राजाको सत्र सालको कदमपछि छिन्नभिन्न वामपन्थी समूहलाई त्यस घटनाले नयाँ तागत भने दिएको थियो । उग्रता, युवा जोस, क्रान्तिकारी दुस्साहस जे भए पनि सो कार्यको सकारात्मक–नकारात्मक दुवै पक्षबाट मूल्याङ्कन हुँदैआएको छ । रोचक कुरा त, भारत, पश्चिम बङ्गाल, नक्सलबाडीमा चारु मजुमदारका अगुवाइमा ‘नक्सलाइट’बाट भएको ‘वर्गशत्रु खत्तम’ को सिको गरेर केही किलोमिटर दूरीमा रहेको झापामा चलाइएको अभियानमा राजनीतिक र लडाकु दुवै पक्षको संलग्नता थियो र नक्सलबाडीका केही युवा पनि सहभागी थिए ।
सुखानीमा मारिएका क्रान्तिकारी कम्युनिष्टका नाममा ‘सुखानी सहिद स्मृति प्रतिष्ठान’ नै बन्यो भने विद्रोहमा सामेल भएकालाई केपी शर्मा ओली सरकारका पालामा २०७२ सालमा राष्ट्रिय सहिद पनि घोषित गरियो । जहाँ सुखानीका सहिदको प्रतिमा बनेको छ, त्यसको करिब तीन सय मिटर पूर्वमा विद्रोहीबाट मारिएका बुटन चौधरीलाई पनि सहिद नै मानेर सालिक स्थापना गरिएको घटना रोचक छ । मर्ने, मार्ने दुवै सहिद र दुवैका सालिक सार्वजनिक स्थानमा सँगसँगै हुनाले इतिहासको पुनःमूल्याङ्कन भएको मान्न सकिन्छ ।
मारिनुपर्ने भनिएका सामन्त र शोषक तथा नमारिनुपर्ने निर्दोष दुवैथरी मारिएको सुनिएको सो घटना आन्दोलन थियो कि पूर्वाग्रह भन्ने ठोस प्रमाण नभएकाले नै त्यसको पूर्तिका लागि पुस्तक लेख्नुभएका भट्टराईले इतिहास नै त लेखेन, बरु त्यसलाई स्पर्श गर्ने उपन्यास लेखे । नयाँ उपन्यास लेख्नलाई उनलाई ‘धनबहादुर र म’ र महाभारतकालीन पात्र ‘अश्वत्थामा’लाई लिएर लेख्दाको पहिलेकै अभ्यास छँदै थियो । पहिलो प्रयोगवादी उपन्यासमा उनले सामान्य भनिएका मानिसका भोगाइलाई विषय बनाउनुभएको छ भने दोस्रो सबैले भन्दै आएका असत्य पक्षका दुर्योधन एवं कौरवपक्ष सत्य भएको नयाँ कथ्य दिएका छन् ।
प्रतिक्रिया