रोजाइमा आकर्षक र टिकाउ बेतका फर्निचर

धरान(सुनसरी) । धरान उपमहानगरपालिका–१० का ७० वर्षे रामबहादुर तामाङ बेतका फर्निचर बनाएर बिक्री सुरु गरेका साढे चार दशक बित्यो । भारतको सिलगुढीसम्म पुगेर बेत ल्याउने र त्यसैबाट बनेका सामान बिक्रीबाट उनले घरखर्च चलाइरहेका छन् ।
‘साढे चारदशक भयो, बेतका सामान बनाउने र बिक्री गर्दै आएको छु’, तामाङले भने, ‘यसको बजार अहिलेसम्म राम्रो छ । धरानमै बिक्री गर्दा पनि व्यापार फस्टाएको छ ।’ उनका अनुसार अहिले पनि मासिक रु ३५ हजारसम्म मजाले बचाउन सकिन्छ ।
उनका अनुसार पछिल्लो समय बेतबाट बनेका डोका, डाला, नाङ्लोलगायतका सामानसँगै फर्निचरमा पनि मानिसको आकर्षण बढिरहेको छ । ‘पहिले डोका, डाला र नाङ्गो बढी बनाइथ्यो, अहिले भने बेतबाट बनेका फर्निचर सजावटका लागि आकर्षण र प्रयोगमा आरामदायी हुने भएकाले माग बढ्दो छ’, उनले भने ।
उनले धरान र आसपासमा पर्याप्त बेत नपाइने भएकाले सिलगुडीसम्म जानुपरेको सुनाए । ‘यहाँ पर्याप्त बेत नपाइने भएकाले भारतको सिलगुडीसम्म जानुपर्ने अवस्था छ, स्वदेशमै उत्पादन भए त्यहाँसम्म जानुपर्ने बाध्यता हुँदैनथ्यो र सामान पनि सस्तोमै उपलब्ध गराउन सकिन्थ्यो’, उनले सुनाए ।
उनले अहिले बेतबाट कोक्रो, मुडा, र्याक, कुर्सीलगायतका सामग्री उत्पादन गर्दै आएका छन् । उनले बनाएका सामग्री विदेशीसमेत मन मराउने गरेको उनले सुनाए । ‘बेतबाट बनेका सामान पनि बलियासँगै आकर्षित हुन्छन्, सजावटमा पनि अत्यधिक प्रयोग हुन्छ’, उनले भने । उनका अनुसार अहिले एउटा सामानको तीन हजारदेखि पाँच हजार पाँच सयसम्ममा बिक्री हुने गरेको छ ।
प्रतिक्रिया