अविरल वर्षाले कर्णाली राजमार्ग पूर्णरुपमा अवरुद्ध

जुम्ला । अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । सुर्खेत – जुम्ला सडक खण्ड अन्तर्गत गएराति आएको अविरलले कालिकोट जिल्लाको एसमोड र हुल्ममा पहिरो आउँदा बुधबार बिहानैदेखि राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको सडक डिभिजन कार्यालय जुम्लाका सुचना अधिकारी वीर बहादुर जिटीले जानकारी दिए ।
सो ठाउँमा आएको बाढी पहिराेले बन्द भएका सडक खुलाउने काम भइरहेको छ । छिटोभन्दा छिटो सडक सञ्चालनमा आउनेगरी काम भइरहेको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी जिटीको भनाइ छ ।
विशेषगरी वर्षाले कर्णाली राजमार्गअन्तर्गत कालीकोट खण्डको दहीखोला, गगनेखोला, एसमोड र हुल्ममा बारम्बार पहिरो जाने गरेको छ ।
यी जोखिम ठाउँहरुमा सडकको स्तरउन्नती सम्बन्धि निकायको ध्यान जान नसक्दा बर्षाैदेखि कर्णालीका आम नागरिकले दु:ख पाउने गरेका छन् ।
सडक बन्द हुँदा जुम्ला, मुगुबाट सुर्खेत, नेपालगन्ज र काठमाडौं जाने सवारीसाधनबीच बाटोमा रोकिँदा सयौं यात्रुहरू अलपत्रमा परेका छन् । रासस
प्रतिक्रिया