समृद्धिका लागि राष्ट्रिय एकता अपरिहार्य छ : नेता सिटौला

नेपालखोज २०८१ भदौ ६ गते १६:०४

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राजनीतिक परिवर्तनमा एक भएका राजनीतिक दल अब मुलुक र जनताको समृद्धिका लागि राष्ट्रिय एकता अपरिहार्य रहेको बताए ।

राष्ट्रियसभाको आजको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथिको दफावार छलफलका क्रममा नेता सिटौलाले वर्तमान अवस्थामा फेरि राष्ट्रिय एकताको अपरिहार्यता रहेको बताए । नेपाललाई विश्व मञ्चमा प्रतिस्पर्धी मुलुकका रुपमा चिनाउन राष्ट्रिय एकताको आवश्यकता रहेको छ । राष्ट्रिय एकतालाई सुदृढ पार्ने राजनीतिक दलले नै हो”, राष्ट्रियसभामा कांग्रेस संसदीय दलका नेता सिटौलाले भने, यसतर्फ सबै राजनीतिक दलले गम्भीर भएर सोच्नुपर्छ । राजनीतिक दलहरुले गरेको सङ्कल्प पूरा गर्ने प्रतिबद्धता आवश्यकता भएको उल्लेख गर्दै उहाँले राजनीतिक परितर्वनमा सरिक हुने सबै राजनीतिक दल मिलेर जनताको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक परिवर्तनको चाहना पूरा गरौँ भने ।

फेरि एकपटक मुलुकले राजनीतिक दलहरुका बीचमा वृहत समझदारी र एकता खोजेको छ, मैले राजनीतिक दलमा जुन विश्वास देखेको थिएँ, त्यो विश्वास टुटेको छ, सिङ्गो मुलुक अविश्वासको खाडलमा छ । विश्वासको सङ्कट छ, नेता सिटौलाले बताए, फेरि एकपटक सैद्धान्तिक र नीतिगत रुपले एक ठाउँमा आएर साझा दृष्टिकोणअनुसार अगाडि बढ्ने सङ्कल्प गरौँ । द्वन्द्व पीडितलाई न्याय दिन हरसम्भव प्रयास गर्न सबैको ध्यान जानुपर्नेमा जोड दिँदै नेता सिटौलाले सङ्क्रमणकालीन न्यायलाई निरुपण गर्न गठित आयोगको कामकारबाहीलाई प्रभावकारी बनाइनुपर्ने बताए । अब द्वन्द्वपीडितलाई न्याय पाइन्छ भन्ने विश्वास दिलाउन सक्नुपर्छ, न्याय दिनसक्ने गरी आयोगलाई पूर्णता दिनुपर्छ, उनले भने । बाह्रबुँदे सम्झौताबाट सुरु भएको राजनीतिक ‘कोर्स’का आधारमा तत्कालीन अवस्थामा विस्तृत शान्ति सम्झौता र अन्तरिम संविधानमार्फत नै नेपालको आगामी राजनीतिक परिदृश्य कोरिएको उनले स्मरण गरे । विसं २००७ को क्रान्तिमा उठेको संविधानसभाद्वारा संविधान जारी गर्ने माग माओवादी आन्दोलनबाट पूरा भएको उल्लेख गर्दै उनले राजनीतिक दलले गरेको प्रतिबद्धताबाट दायाँबायाँ हुन नहुने बताए ।

प्रतिक्रिया