मंगलबार, वैशाख ३०, २०८२

अमेरिकामा ममता काफ्लेलाई बेपत्ता पारेको आरोपमा श्रीमान् नरेश भट्ट पक्राउ

नेपालखोज २०८१ भदौ ७ गते ९:२१

काठमाडाैं । करिब तीन साता अघि मनासस, भर्जिनियामा अन्तिम पटक देखिएकी २८ बर्सिया ममता काफ्लेलाई बेपत्ता पार्न संलग्न भएको आरोपमा उनका पति नरेश भट्ट पक्राउ परेका छन् । प्रिन्स विलियम काउन्टी र मनासास र मनासस पार्कका सहरहरूका लागि न्यायधिवक्ता एमी एशवर्थले मनासास पार्कका पुलिस प्रमुख मारियो लुगोसँगै पक्राउको घोषणा गरेका थिए ।

भट्टलाई भर्जिनिया कानुनको उल्लङ्घन गरी शव लुकाउन प्रतिबन्धको जघन्य अपराधको अभियोग लगाइएको छ । तर, अदालतमा दोषी प्रमाणित नभएसम्म भट्टलाई निर्दोष रहेको मानिन्छ । ममता बेपत्ता भएको विस्तृत अनुसन्धान पछि उनका पतिलाई गिरफ्तारी गरिएको हो  ।

ममता अन्तिम पटक सन् २०२४ जुलाई २७ मा देखिएकी थिइन् र त्यस पश्चात् उनी अगस्त १ मा आफ्नो काममा नआएपछि खोजी सुरु भएको थियो । २०२४ अगस्ट २१ मा गुप्तचरहरूले प्रिन्स विलियम काउन्टी पुलिसको सहयोगमा भट्टको निवासमा खोजी वारेन्ट जारी भए अनुसार तलासी लिएका थिए । विभागको फरेन्सिक इकाईले खोजीका क्रममा थप प्रमाणहरू फेला पारेका थिए, जसले भट्टलाई अधिवक्ताको कार्यालयसँग परामर्श गरेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनको एक वर्षकी छोरीलाई भने समाज सेवा विभागमा राखिएको छ । उनी हाल सुरक्षित रहेको र सामाजिक सेवा र पुलिस विभागद्वारा खटाइएको हेरचाहकर्ताको रेखदेखमा रहेको बताइएको छ । मनासास पार्क पुलिस विभागले ममता बेपत्ताको अनुसन्धान जारी राखेको छ र थप प्रमाणहरू खोजिरहेको छ ।

अनुसन्धान अगाडि बढ्दै जाँदा भविष्यमा भट्टलाई थप अभियोग लाग्न सक्छ । नरेश भट्टलाई धरौटीविना नै थुनामा राखेर भोलि बिहान अदालतमा उपस्थित गराइने भएको छ । अधिकारीहरूले ममता काफ्ले भट्टको ठेगाना वा उनको बेपत्ताको बारेमा कुनै पनि विवरणको बारेमा जानकारी भएका जो कोहीलाई सूचना दिन आग्रह गरेको छ ।

प्रतिक्रिया