सहकारी पीडितद्वारा बृहत् सडक आन्दोलनको घोषणा

नेपालखोज २०८१ भदौ १० गते १८:०८

काठमाडाैं । सहकारी पीडितहरुले बृहत् सडक आन्दोलनको घोषणा गरेका छन् । सहकारी वचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी दवाबमूलक बृहत्त सडक आन्दोलन गर्न लागिएको जानकारी गराएको हो ।

महासंघले तेस्रो चरणको आन्दोलन सुरु गरेको ९५औं दिनसम्म पनि सरकारले विगतका सहमति कार्यान्वयनमा कुनै चासो नदेखाएकाले सडक आन्दोलनको विकल्प रोजिएको बताइएको छ ।

पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष कुशलव केसीले आन्दोलनकै क्रममा चारजना पीडितहरुले ज्यान गुमाइसकेको बताए । सहकारी पीडितले आफ्नो बचत फिर्ता पाओस् भन्ने मनशायले तेस्रोपटकको आन्दोलन सुरू गरेको १०१औं दिन पुगेको अवसरमा आगामी भदौ १६ गतेबाट बृहत्त आन्दोलन गर्ने उहाले बताए ।

उनले सहकारी पीडितहरु १६ महिनादेखि निरन्तर आन्दोलनमा रहेको र यो अवधिमा सरकारले दुईपटक सम्झौता गरेपनि पीडितको पक्षमा केही काम नभएको धारणा राखे ।

अध्यक्ष केसीले सरकारले तत्काल कार्यान्वयन गर्ने भनेर दोस्रोपटक आफूहरुसँग सम्झौता गरेको ५ महिना बितिसकेको बताए ।

तत्कालिन अवस्थामा आफूहरुले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीसँग सम्झौता गरेको र अहिले पुनः उनी सोही मन्त्रालयको जिम्मेवारीमा आएको बताउँदै अध्यक्ष केसीले अब तत्काल राजीनामा दिनुपर्ने जिकिर गरे ।

प्रतिक्रिया