‘जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा’

सोलुखुम्बु । गत साउन ३२ गते शुक्रबार बिहानदेखि खुम्बु क्षेत्रमा पानी परिरहेको थियो । हिमाली भेग तुवाँलाले ढाक्नाका साथै बर्सात भइरहेको बेला हुस्सु पनि लागेको हुन्छ । तीन हजार आठ सय मिटर उचाइमा पर्ने थामेमा करिब ६५ परिवारको बसोबास गर्दै आएका छन् ।
थामे क्षेत्र सुन्दर र मनोरम उपत्यकाका र पर्यटकीय स्थलका रुपमा परिचित छ । गत साउन ३२ गते गाउँको माथिबाट ठूलो आवाज गर्दै लेदोसहितको बाढीपहिरो आयो । उच्च समस्थली भूभाग, थामेमा कृषि उत्पादन हुने गह्रामा बाढीपहिरोसँगै आएका ठूलाठूला ढुङ्गाहरु बसेका खुम्बु पासाङल्हामु गाउँपालिकाका प्रवक्ता लाक्पाछिरि शेर्पाले बताए ।
‘संयोग भन्नुपर्छ दिउँसोको समयमा घटना भयो । अफसिजन भएकाले पनि पर्यटक थिएनन् । त्यसैले मानवीय क्षति हुन पाएन । नाम्चेमा शुक्रबार हाट लाग्ने भएकाले दिउँसोको समयमा बाढी गएकाले स्थानीय नाम्चेबजार झरेका, कति गोठाला गएका थिए । बाढीपहिरोको कटानका कारण थामे बगरमा परिणत भएको छ । मन थाम्न सकिने अवस्था छैन’, उनले भने ।
थामेमा हिमताल फुटेर बाढी आउनुमा तापक्रम वृद्धि मुख्य कारण रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणले यही भदौ ५ गते काठमाडौंस्थित सिंहदरबारमा पत्रकार सम्मेलन गरी तापक्रम वृद्धिका कारण दुईवटा हिमताल फुट्न गई बाढी बस्तीमा पसेको पुष्टि गरेको थियो ।
प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले माथिल्लो हिमतालमा रहेको हिउँ तापक्रम वृद्धिका कारण पग्लिएको र अविरल वर्षाका कारण जलसतह बढ्न गई पानीको छाल तल्लो हिमतालमा बजारिएको बताए । त्यहाँको पोखरीको कमजोर मुख फुट्न जाँदा थामेमा बाढी पसेको प्राविधरणको प्रारम्भिक अनुसन्धानले देखाएको उनले जानकारी दिए ।
हिउँ पग्लेकाले पानी र त्यसको केही छाल तल्लो तालमा गएर बजारिएर ठूलो रुप लिएको प्रमुख पोखरेलले उल्लेख गरे । उनका अनुसार यस बाढीबाट बीसभन्दा बढी घरहरूमा क्षति पुगेको छ । थामे आधारभूत विद्यालय, स्वास्थ्य चौकी र छात्रावास पूर्ण रुपमा क्षतिग्रस्त बनेका छन् भने बाँकी घरहरुमा आंशिक क्षति पुगेको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिए । उनका अनुसार खुम्बु पासाङल्हामु गाउँपालिका–५ मा रहेको नौ सय ५० किलोवाट क्षमताको जलविद्युत् आयोजनामा सोही बाढले क्षति पुर्याउँदा करिब नौ सय घर अन्धकारमा बस्न बाध्य छन् ।
बाढी आएको भोलिपल्ट सङ्घीय सरकारका रक्षामन्त्रीसहितको टोली थामे गाउँमा पुगी प्रतिघर रु १५ हजारका दरले वितरण भएको रकमखुम्बु पासाङ ल्हामु गाउँपालिकालाई हस्तान्तरण गरिएको प्रजिअ खत्रीले बताए । ‘खुम्बु र दोलखाको रोल्वालिङ उपत्यका जोडिने टासी लाप्चा पासतर्फबाट अकस्मात बाढी आएको थियो । अहिले एक सयबढी विस्थापितलाई तल्लो थामेमा अस्थायी रूपमा बस्ने व्यवस्था गरिएको छ’, उनले भने ।
तापक्रम वृद्धि हिमपोखरी फुटनुको प्रमुख कारण
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलले हिमताल फुट्नुअघि त्यहाँको आकाशमा कालो बादल मडारिएको र यसले अनिष्ट निम्त्याउने सङ्केत देखिएको अनुसन्धानका क्रममा स्थानीयले बताएका उल्लेख गरे । ‘हिमताल फुट्नुका कारण तापक्रम बढ्नु हो । जुलाई र अगस्तमा तापक्रम बढी भएकाले पनि यस्तो भएको हो’, उनले भने ।
थामेको शिरमा रहेका ताल विस्फोट भएर तल्लो तटीय क्षेत्र खण्डहर हुनुमा जल तथा मौमम विज्ञान विभागले दुईवटा कारण औँल्याएको छ । हिमताल दुईभन्दा माथिल्लो क्षेत्रमा जमिनको सतह (ग्राउन्ड सर्फेस) मा आएको भूक्षय, भूपरिवर्तन (कम्पाउन्ड क्यासकेडिङ इफेक्ट) ले हिमताल विस्फोट भई तटीय क्षेत्र खण्डहर तुल्याएको विभागका वरिष्ठ जलवायुविज्ञ सुनील पोखरेलले उल्लेख गरे ।
विभागका वरिष्ठ जलवायुविज्ञ पोखरेलसहित जलवायुविज्ञहरू निराकार थापा, मौसम भण्डारी, जोसन महर्जन र सुमित अधिकारीले उक्त घटनाबारे विस्तृत अध्ययन गरी प्रतिवेदन सार्वजनिक गरेका छन् । पछिल्ला दिनमा हिमाल पग्लिने क्रम सुरु भएसँगै हिमतालको आकार र सङ्ख्या वृद्धि भइरहेको अनुसन्धानले देखाएको उनको भनाइ छ ।
‘हिमतालको पानी निकास गर्न ठूलो धनराशि जुटाउनुपर्ने हुन्छ । हिन्दू–कुश हिमालय क्षेत्रमा जोखिममा रहेका ४७ हिमतालमध्ये २१ वटा नेपालमा छन् । सन् २०१६ मा सगरमाथा क्षेत्रको पाँच हजार मिटरको उचाइमा अवस्थित इम्जा हिमतालमा पानीको सतह घटाउन सात दशमलव दुई मिलियन अमेरिकी डलर खर्च भएको थियो । राष्ट्रसङ्घीय वातावरण कोषको सहयोगमा पानी घटाइएको इम्जा हिमतालको जोखिम अहिले पनि छ’, जलवायुविज्ञ पोखरेलले भने ।
वैज्ञानिकहरूले जोखिममा रहेका भनिएका नेपालका २१ हिमतालमध्ये ठुलागी, होङ्गु, तल्लो बरुण र लुम्दिङ छोको पानी तत्कालै निकास गर्नुपर्ने बताएका छन् । पानी तत्कालै निकास गर्न ठूलो धनराशिको आवश्यक पर्ने बताउँदै जोखिम कम नगरे त्यसले निम्त्याउने असर विकराल हुने आङ्कलन गरिएको जल तथा मौमम विज्ञान विभागका वरिष्ठ जलवायुविज्ञ पोखरेलले बताए ।
कसरी आयो बाढी ?
खुम्बु क्षेत्रमा गत साउन २५ गतेदेखि दैनिक औसत तापक्रम वृद्धि भएर ९.७ डिग्री सेल्सियसबाट ११ डिग्री सेल्सियस पुगेको थियो । साउन ३१ गतेको अधिकतम तापक्रम १५.९ डिग्री सेल्सियसम्म पुगेको थियो भने त्यहाँका हिमतालको आकार बढ्दै गएको थियो ।
खुम्बु क्षेत्रको हिमतालबारे अध्ययनमा समेत संलग्न जलवायु परिवर्तन विज्ञो भने त्यहाँका हिमतालको आकार बढ्दै गएको थियो ।
खुम्बु क्षेत्रको हिमतालबारे अध्ययनमा समेत संलग्न जलवायु परिवर्तन विज्ञ
प्रतिक्रिया