६८ लाखमा बनेको ‘भ्यूटावर’ प्रयोगविहीन
मध्यविन्दु । बर्दघाट सुस्तापूर्वको कावासोतीमा रु ६८ लाख लागतमा निर्माण सम्पन्न भएको दृश्यावलोकन स्थल (भ्यूटावर) बेवारिसे बनेको छ । कावासोती नगरपालिका–१ बालुवाडाँडामा रु ६८ लाख लगानीमा ६० फिट अग्लो टावर निर्माण गरिएको थियो ।
तीन वर्षअघि निर्माण सम्पन्न भएको टावरको प्रयोग रेखदेख एवं सञ्चालन गर्ने निकायका अभावमा अहिले बेवारिसे अवस्थामा पुगेको हो । टावरको अहिले स्टिलका बार चोरी हुन थालेका छन् भने भ्यूटावर मद्यपान र धुमपान गर्नेको रोजाइको केन्द्र बन्न थालेको स्थानीय जितुमाया रानाले गुनासो गरिन् । ‘अहिले त भ्यूटावरमा लगाइएको स्टिलको बार काटेर लगिएको छ । भित्ताका प्लास्टर उप्किएको छ, लेउ लागेको छ, यत्रतत्र फोहर फालिएको छ, जमिन पनि धाँजा भएर फाट्न थालेको छ’, उनले भनिन् ।
टावर बनेपछि पर्यटकीय गतिविधि बढ्ने र स्थानीयको आयआर्जनमा वृद्धि हुने आशाले रानालगायत भ्यूटावर नजिकै घर भएका स्थानीयवासी खुसी भएका थिए । तर भ्यूटावर बनेको तीन वर्ष हुँदासम्म पनि सञ्चालनमा नआउँदा खुसीभन्दा पनि अहिले असुरक्षा बढेको रानाले बताए । कावासोती –१ का वडाध्यक्ष तबारक अहमद मियाँले भ्यूटावर सञ्चालनमा नआए पनि दैनिक सयभन्दा धेरै आन्तरिक पर्यटक भ्यूटावर क्षेत्र घुम्न आउने गरेको बताए ।
भ्यूटावरको वरिपरि पहिरो जान थालेपछि आर्थिक वर्ष २०७९÷८० मा रु १० लाख बजेट विनियोजन गरी नगरपालिकाले ‘कम्पाउण्ड वाल’ लगाउन सुरु गरेको थियो । चालु आवमा पनि कम्पाउन्ड वाल निर्माणका लागि रु १० लाख रकम विनियोजन गरिएको छ । भ्यूटावर व्यवस्थापन र नियमित सञ्चालनका लागि नगरपालिकाले प्राथमिकतामा राखेको कावासोतीका नगरप्रमुख विष्णुप्रसाद भुसालले बताए ।
समुद्री सतहबाट झण्डै आठ सय मिटर उचाइमा रहेको भ्यूटावर पूर्वपश्चिम राजमार्गको फलफूलचोकबाट ११ किलोमिटरको दूरीमा रहेको छ । यस क्षेत्रबाट जिल्लाका अधिकांश भूभागसँगै चितवनसहित भारतीय क्षेत्रसमेत देख्न सकिन्छ ।

प्रतिक्रिया