पुस्तकालयको महत्वबारे चर्चा

दमौली (तनहुँ) । सत्रौँ पुस्तकालय दिवस तथा मोती जयन्तीका अवसरमा तनहुँको दमौलीमा पुस्तकालयको महत्वबारे चर्चा तथा साहित्य वाचन गरिएको छ ।
एकदेव आले स्मृति तथा चिन्तन प्रतिष्ठानको आयोजना र गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्चको सहआयोजनामा पुस्तकालय दिवसको महत्वका बारेमा चर्चा गरिएको हो ।
कार्यक्रममा प्रगतिशील लेखक सङ्घका अध्यक्ष एवं प्राज्ञ परिषद् सदस्य प्राडा मधुसूधन गिरीले पढ्ने बानीको विकास गर्नुपर्ने बताए । अध्ययनले मानिसलाई ऊर्जाशील बनाउने भएकाले पुस्तकालयको प्रयोग गर्नुपर्नेमा उनको जोड थियो ।
प्रतिष्ठानका संरक्षक पिएल श्रेष्ठ, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रका केन्द्रीय सदस्य राजेन्द्रकेशरी न्यौपाने, नेकपा (एमाले) तनहुँका अध्यक्ष हरिराज कँडेल, नेपाली कांग्रेसका जिल्ला सचिव लक्ष्मीभक्त खनाल, नेकपा (मसाल) का पुष्पलाल श्रेष्ठ, प्रतिष्ठानका सल्लाहकार श्रीराम कार्कीलगायतले पुस्तकालय दिवसका बारेमा भनाइ राखेका थिए ।
कार्यक्रममा विष्णुभक्त अधिकारी, दिवाकर भट्टराई, शान्ता बास्तोला, कल्पना घिमिरे, सङ्गम सापकोटा, शोभासिंह ठकुरी, सञ्जिता पौडेल, गोपाल सुर्खाली, शिव सदाशङ्कर, कल्पना पौडेललगायतले साहित्यवाचन गरेका थिए ।
कार्यक्रममा प्रतिष्ठानको पुस्तकालयमा आएर नियमित अध्ययन गर्नेमध्येबाट व्यास नगरपालिका–२ दमौली निवासी विष्णुप्रसाद वाग्लेलाई सम्मान गरिएको थियो ।
प्रतिक्रिया