बढ्दो अन्तर्राष्ट्रिय आप्रवासन 

नेपालखोज २०८१ भदौ १६ गते १५:३१

काठमाडाैं । संयुक्त राष्ट्रसंघको विश्व आप्रवासन प्रतिवेदन २०२४ अनुसार भारत अन्तर्राष्ट्रिय आप्रवासीहरूको सबैभन्दा ठुलो स्रोत देश हो। 

प्रतिवेदन अनुसार अन्तर्राष्ट्रिय आप्रवासन मानव विकास र आर्थिक वृद्धिको चालक हो । २०२२ मा विश्वमा अनुमानित २८ करोड १० लाख अन्तर्राष्ट्रिय आप्रवासी थिए । संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम)ले यो प्रतिवेदन सार्वजनिक गरेको हो । 

आप्रवासीहरूले पठाएको रकम 

प्रतिवेदनले सन् २००० देखि २०२२ सम्म आप्रवासीहरूले आफ्नो देशमा पठाएको रकम ६५० प्रतिशतले बढेको देखाएको छ । सन् २००० मा यो रकमको कुल मूल्य १२८ अर्ब डलर थियो भने सन् २०२२ मा यो रकम बढेर ८३१ अर्ब डलर पुगेको थियो । 

कम आय भएका देशहरूलाई फाइदा 

उक्त ८३१ अर्ब डलरमध्ये आप्रवासीहरूले ६४७ अर्ब डलर न्यून र मध्यम आय भएका आफ्ना देशहरूमा  पठाएका थिए। आईओएमका अनुसार यो रकम त्यस्ता देशको कुल गार्हस्थ्य उत्पादनको महत्त्वपूर्ण हिस्सा साबित भएको छ । विश्व स्तरमा यो रकमले त्यस्ता देशमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) लाई पछि पारेको छ । 

आप्रवासीमा पुरुष बढी 

विगत २० वर्षदेखि आप्रवासीहरूबिचको लैङ्गिक अन्तर बढ्दै गएको छ र अहिले अन्तर्राष्ट्रिय आप्रवासीहरूमा महिलाभन्दा पुरुष बढी छन् । सन् २००० मा अन्तर्राष्ट्रिय आप्रवासीहरूमध्ये ५०.६ प्रतिशत पुरुष तथा ४९.४ प्रतिशत महिला थिए भने सन् २०२० मा पुरुषको सङ्ख्या ५१.९ प्रतिशत (१४.६ करोड) र महिलाको सङ्ख्या ४८.१ प्रतिशत (१३.५ करोड) पुगेको थियो । 

अधिकांश आप्रवासीहरू कहाँ जान्छन् ? 

अमेरिका अन्तर्राष्ट्रिय आप्रवासनका लागि सबैभन्दा ठुलो गन्तव्य देश हो। त्यसपछि जर्मनी, साउदी अरेबिया, रुस, बेलायत र त्यसपछि युएई आउँछन् । चाखलाग्दो कुरा के छ भने युरोपेली देश, अमेरिका तथा क्यानडा छनोट गर्ने आप्रवासीमा पुरुषको तुलनामा महिलाको प्रतिशत बढी छ ।

यसै गरी भारतबाट सबैभन्दा बढी मानिस आफ्नो देश छोडेर अन्य देशमा गइरहेका छन्। सन् २०२२ मा भारत छोड्ने अन्तर्राष्ट्रिय आप्रवासीको सङ्ख्या करिब १.७० करोड थियो। जसमध्ये करिब ६० लाख महिला र बाँकी पुरुष थिए। 

विस्थापन बाध्यता 

प्रतिवेदनमा द्वन्द्व, हिंसा, प्रकोप तथा अन्य कारणले विश्वभर विस्थापितहरूको जनसङ्ख्या ११ करोड ७० लाख पुगेको छ जुन आधुनिक युगमा सबैभन्दा ठुलो सङ्ख्या हो ।

प्रतिक्रिया