‘मस्कोसँगको निकटता ईयूमा सामेल हुने सर्वियाको चाहनाको बाधक’

ब्रसेल्स । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग एक उच्च सरकारी अधिकारीले भेट गरेपछि युरोपेली सङ्घ (ईयू) ले बिहीबार सर्बियालाई मस्कोसँग बलियो सम्बन्ध राख्नु ईयूमा सामेल हुने उसको चाहनासँग मेल नखाने बताएको छ ।
सर्बियाका उपप्रधानमन्त्री अलेक्जेन्डर वुलिनले बुधबार भ्लादिभोस्तोकमा आयोजित एक आर्थिक सम्मेलनका क्रममा पुटिनलाई भटेका थिए ।
बुलिनले पुटिनलाई भेटेपछि ईयूका विदेश मामिला प्रवक्ता पिटर स्टानोले भने, ‘युक्रेनी जनताविरुद्ध रूसको अवैध आक्रमणको समयमा रूससँग सम्बन्ध कायम राख्नु वा बढाउनु ईयूको मूल्यमान्यता र सङ्घमा प्रवेश प्रक्रियासँग मेल खाँदैन।’
सर्बियालाई सन् २०१२ मा ईयूको उम्मेदवारको दर्जा दिइएको थियो र त्यसयता सदस्यताका लागि प्रतीक्षारत रहेको छ ।
ब्रसेल्समा आयोजित पत्रकार सम्मेलनमा स्टानोले भने, ‘प्रवेश प्रक्रियाको एक भागको रूपमा, देशहरूले आफ्नो विदेश नीतिलाई ईयूसँग संरेखित गर्न प्रतिबद्ध छन्। ‘त्यसैले सर्बियाले रुससँगको सम्बन्ध र सम्पर्कलाई थप प्रगाढ नबनाउने अपेक्षा गरेका छौं।’
बाल्कन देश (सर्बिया)को मस्कोसँग ऐतिहासिक रूपमा घनिष्ठ सम्बन्ध छ । सर्बिया करिब पूर्ण रूपमा रूसी ग्यासमा निर्भर छ।
उसले संयुक्त राष्ट्रसङ्घमा युक्रेनमा रूसी आक्रमणको निन्दा गरे पनि क्रेमलिनमाथि प्रतिबन्ध लगाउन अस्वीकार गरेको छ।
‘सर्बिया कहिल्यै पनि नेटोको सदस्य बन्नेछैन, रूसी सङ्घमाथि कहिल्यै पनि प्रतिबन्ध लगाउने छैन र आफ्नो भूमिबाट कुनै पनि रूसविरोधी गतिविधि हुन दिनेछैन,’ रूसी टेलिभिजनले प्रसारण गरेको एक भिडियो क्लिपमा भनेका छन् ।
प्रतिक्रिया