बिहीबार, मंसिर २५, २०८२

सुन्दर पक्षीको अवार्ड कसले पाउला ?

नेपालखोज २०८१ भदौ २५ गते १४:२१

काठमाडाैं । सन् २०२५  को उत्कृष्ट पक्षी कुन हुनेछ ? सन् २०२५ को स्टार वर्ड बन्न अहिले एउटा प्रतियोगितामा अचम्मलाग्दा र अनेक विशेषताहरूले सुसज्जित धेरै सुन्दर पंक्षीहरू प्रतिस्पर्धा  गर्दैछन् । 

पाँच उत्कृष्ट उम्मेदवार 

ब्ल्याक रेडस्टार्ट, कमन क्रेन, ब्ल्याक वुडपेकर, लामो कान भएको उल्लू तथा ब्ल्याक स्टर्क – ती पाँच चरा हुन् जो २०२५ को “वर्षको उत्कृष्ट चरा” को उपाधिका लागि प्रतिस्पर्धा गर्दै छन् । यी पाँच चरा तथा यो प्रतिस्पर्धाले चराहरूको संरक्षण एवं   लोप हुँदै गएको उनीहरूको प्राकृतिक वासस्थानका बारेमा मानिसहरूलाई सचेत गराउन मद्दत गर्न सक्ने आसा गरिएको छ । 

यो अवार्ड ५३ वर्षदेखि प्रदान गरिँदै आएको छ । जर्मन युनियन फर कन्जर्भेसन अफ नेचर एण्ड बायोडाइभर्सिटी (NABU) तथा बाभेरियाको स्टेट एसोसिएसन फर बर्ड एन्ड नेचर कन्जर्भेसन (LBV) ले सन् १९७१ मा लोपोन्मुख चराहरूप्रति ध्यानाकर्षण गराउन यो पुरस्कारको थालनी गरेको  थियो । यो प्रतियोगिताका लागि सहभागीहरूले आज अक्टोबर १० सम्म आफूलाई मन पर्ने चरालाई अनलाइन भोट गर्न सक्छन् । 

कमन क्रेन 

एलबीभी ( LBV ) का अनुसार कमन क्रेन धेरै किसिमले एउटा रोमाञ्चक प्रवासी चरा हो । यसले आफ्नो  सुन्दर नृत्यबाट जोकसैलाई  मन्त्रमुग्ध तुल्याउँछ । यसलाई  आराम गर्न र प्रजननका लागि ओसिलो जमिन चाहिन्छ । यसको लम्बाइ १.१६  मिटर छ, जसको अर्थ यो सेतो सारस भन्दा लामो हुन्छ । 

लामो कान भएको उल्लू 

लामो कान भएको उल्लु जर्मनीमा सबैभन्दा सामान्य उल्लु हो, त्यसपछि टाउनी उल्लू। यो चील उल्लू (उलुको एक प्रजाति) जस्तै देखिन्छ, तर सानो र पातलो हुन्छ । अन्य उल्लुहरू जस्तै यसले जंगलको खुला ठाउँमा चुपचाप मुसाको सिकार गर्छ। 

ब्ल्याक  रेडस्टार्ट 

ब्ल्याक रेडस्टार्ट यो वर्षको प्रतियोगितामा सहभागी गीत गाउने एक मात्र पक्षी हो । यो चरा बिहान सबेरै उठ्छ र सूर्य उदाउनुभन्दा अघि देखि नै गीत गाउन थाल्छ । एलबीभीका अनुसार यो चरा उत्तर अफ्रिकामा जाडो बिताउँछ भने भवनहरूमा प्रजनन गर्दछ । विज्ञहरूका अनुसार अहिले यसलाई गुँड बनाउने सुरक्षित स्थान खोज्न ठुलो समस्या भइरहेको छ । 

कालो सारस 

कालो सारस ( ब्ल्याक स्टोर्क ) ले सेतो सारसको तुलनामा अलि कम हल्ला गर्छ । यी दुबै चरा तिनको लामो रातो खुट्टा र लामो चुच्चोका कारण चिनिन्छन् । यसको बासस्थान तटीय जंगलका साथै आर्द्र पातलो र मिश्रित जंगलहरूमा हुन्छ । यसले प्रायः भ्यागुता र माछा खान्छ । 

कालो वुडपेकर 

कालो कठफोर ( वुडपेकर ) लाई हामी  चरा संसारको सामाजिक कार्यकर्ता भन्न सक्छौं । यसले रूखहरूमा प्वाल बनाएर वनलाई अन्य चराहरूका लागि समेत उपयुक्त बनाउँछ । अन्य चराहरूले ती प्वालहरूमा आफ्नो घर बनाउन सक्छन्। एलबीभी भन्छ – यो चरा “जंगलको सिकर्मी” हो । विज्ञहरूका अनुसार यसले रुखमा बनाएको प्वालको प्रयोग ६० भन्दा बढी प्रकारका जीवले  गर्छन् । 

गत वर्ष कसले जितेको थियो प्रतियोगिता ? 

ल्यापविङ सन् २०२४ मा ‘बर्ड अफ द इयर’ घोषित भएको  थियो । ड्रेनेज तथा सघन कृषिले ल्यापविङको प्राकृतिक बासस्थान सिमसार क्षेत्रमा अतिक्रमण गरिरहेको छ जसले  यो चराको अस्तित्वलाई खतरामा पारेको छ।

प्रतिक्रिया