नेपालगञ्जको सडकमा रोपिए जकरान्दाको बिरुवा

नेपालखोज २०८१ भदौ २६ गते १९:१८

जानकी (बाँके) । नेपालगञ्जका सडकमा जकरान्दा फूलका बिरुवा रोपी सफा, स्वच्छ, हराभरा सहर बनाउने अभियान सुरु भएको छ ।

हरित अभियन्ताले नेपालगञ्ज बजारको मुख्य सडक रत्न राजमार्गस्थित सडक परिसरमा बिरुवा रोपी हराभरा बनाउन लागेका हुन् ।

‘हामीले रोपेका यी जकरान्दालाई संरक्षण गर्न सकियो भने यसले सडकलाई मात्र नभई सहरलाई नै सुन्दर बनाउने छ’, हरित अभियन्ता प्लाष्टिक सर्जन डा विनोद कर्णले भने, ‘सहरको सुन्दरतालले पनि त्यो सहरको पहिचान निर्माण गर्दछ । त्यसैले हामीले नेपालगञ्जको सुन्दर पहिचानका लागि बिरुवा रोप्ने काम सुरु गरेका हौँ ।’

डा. कर्णसहित वन तथा प्रकृति संरक्षणका क्षेत्रमा क्रियाशील बिन्दु घर्तीमगर, ऋषिराज देवकोटा, वसन्ती खड्कालगायतका अभियन्ता सडक आसपासमा जकरान्दाको बिरुवा लगाउन खटिएको हो । हरित अभियन्ता डा कर्णका अुनसार प्रत्येक वर्ष विभिन्न प्रजातिका बिरुवा लगाउँदै आएकामा यस वर्ष भने जकरान्दा फूलका बिरुवा मुख्य सडकसहित आसपासका क्षेत्रमा लगाइएको हो ।

नगर प्रमुख प्रशान्त विष्टको नेतृत्वमा नेपालगञ्ज उपमहानगरपालिका–७ रानीतलाउमा छ वटा जकरान्दाको बिरुवा रोपिएको हरित अभियन्ता डा कर्णले जानकारी दिए ।

उनका अनुसार सरकारी कार्यालयलाई हराभरा र सुन्दर बनाउने उद्देश्यले वडा नं १ कार्यालय परिसरमा नौ वटा जकरान्दाका बिरुवा रोपिएका छन् । त्यसैगरी वडा नं २० को भीमसेन मन्दिरमा पनि जकरान्दाका छ वटा बिरुवा लगाइएको छ । अभियानकै रुपमा लगाउन सुरु गरिएको जकरान्दालाई सुर्खेत रोड र वाटरपार्क क्षेत्रभित्र १४ वटा जकरान्दा लगाइएको हरित अभियन्ता डा कर्णले बताए ।

आव २०८०/८१ मा नेपालगञ्जस्थित सडक विभाग कार्यालय परिसरमा १८ वटा बिरुवा लगाइएको छ । तीमध्ये १३ वटा जोगिएका छन् भने बाँकी पाँच वटा भने छाडा पशुचौपायाका कारण जोगाउन नसकिएको हरित अभियन्ता डा कर्णले बताए ।

उनका अनुसार मङ्गलप्रसाद महिला कलेजमा गुलमोहर, निम, जकरान्दा, कपुरलगायत २५ वटा बिरुवा लगाइएको छ । डा कर्णले आफ्नो जन्मदिनका अवसरमा नेपालगञ्ज औद्योगिक क्षेत्रको बाहिरपट्टी ११ र नेपालगञ्ज–काठमाडौं बसपार्कमा छ वटा जकरान्दा लगाएर हरित अभियानलाई निरन्तरता दिँदै आएका छन् ।

प्रतिक्रिया