मंगलबार, असोज २९, २०८१

बीस वर्ष नपुग्दै आमा बने महिला

नेपालखोज २०८१ भदौ २९ गते १३:५८

वालिङ (स्याङ्जा) । सत्र वर्षीया शुभा परियार यही साउन १४ गते छोराको आमा बनिन् । वालिङ नगरपालिका–७ पैदीकी परियारले वालिङस्थित ग्रहौँ प्राथमिक अस्पतालमा छोरालाई जन्म दिइन् । एक वर्षअघि जेठमा भागी बिहे गरेकी परियारलाई बिहे गर्न २० वर्ष पुग्नुपर्छ भन्ने थाहै थिएन । न त उनलाई थाहा थियो सानै उमेरमा आमा बन्न हुन्न भनेर । भागी बिहे गरेकी परियार कलिलै उमेरमा गर्भवती बनिन् । उनलाई परिवार नियोजनका साधनका बारेमा राम्रो ज्ञान पनि भएन । उमेर कलिलै भएकाले केही समय पर धकेल्न अस्थायी साधनको प्रयोग गर्न सकिने हुँदाहुँदै पनि उहाँ सानै उमेरमा आमा बन्नुपर्ने अवस्था आयो ।

छोराको न्वारन भर्खरै सकेकी परियारले आफ्नो बिहे दर्ता र छोराको जन्मदर्ता अब गर्ने बताइन् । ‘तपाईंको बिहे दर्ता २० वर्ष नपुगी हुँदैन नि ?’ भनी गरिएको प्रश्नमा उनले यसबारेमा आफूलाई केही पनि थाहै नभएको जवाफ दिए । समुदायस्तरमा कानुनी अज्ञानताकै कारण अझै पनि २० वर्ष उमेर नपुग्दै बिहे हुने र आमा बन्नेहरु थुप्रै छन् ।

आफ्नै शारीरिक, मानसिक तथा अन्य विकासहरु पूर्ण नभइसकेको अवस्थामा आफूसँगै बच्चाको स्याहारसुसार गर्नु पक्कै पनि चुनौती हो । जोखिम मोलेर आमा बन्दै गर्दा आमा तथा बच्चाको स्वास्थ्य, शारीरिक, मानसिक असर पर्न सक्छ । उमेर नपुगी कलिलै अवस्थामा गर्भवती भई आमा बन्न आउने युवतीमा प्रसव पीडा अत्यधिक देखिने गरेको वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालकी सिनियर अनमी तीला राना बताइन् ।

उमेर नपुगेकाहरु सुत्केरी हुन अस्पतालमा आउँदा कलिलै उमेरमा आमा बन्न हुन्नथ्यो नि भन्दा ‘थाहै भएन’ भन्ने जवाफ पाउने गरेको उनले बताइन् । ‘आफ्नै शारीरिक अङ्गहरुको विकास हुन नपाउँदै आमा बन्दा समस्या हुने कुरा सुनाउँदा अप्ठ्यारो महशुस गरिन्’ उनले भनिन्, ‘सुरक्षित रुपमा सुत्केरी भएर गइसकेपछि पनि आफ्नो र शिशुको स्याहारसुसार तथा स्वास्थ्यमा विशेष ख्याल गर्न सुझाव र परामर्श दिन्छौँ ।’

कलिलै उमेरमा आमा बन्दा आफ्नै स्याहार सुसार गर्न नसक्ने अवस्थामा त्यसैमाथि नवजात शिशुको स्याहारसुसार गर्न नसक्ने, नजान्ने भएकाले यस्तो बेलामा परिवारले विशेष ख्याल गर्न पनि सुझाव दिने गरेको उनले बताइन् । ‘पहिलो सन्तान र दोस्रो सन्तानबीच जन्मान्तर राख्नका लागि घरपरिवार साथै दम्पतीलाई सुझाव दिन्छौँ’, उनले भनिन्, ‘जन्मान्तरका लागि अस्थायी साधनको प्रयोगमा जोड दिन्छौँ ।’ उमेर नपुग्दै कतिले भागी बिहे गर्ने त कतिले परिवारको दबाबमा बिहे गर्ने गरेका छन् । सानै उमेरमा अस्थायी साधनको प्रयोग नगरी शारीरिक सम्पर्क राख्नाले आमा बन्नुपर्ने बाध्यात्मक स्थिति पनि रहेको उनले बताइन् । अस्पतालमा तल्लो उमेर समूहमा १६ वर्षसम्मका युवती सुत्केरी भएका छन् । अस्पतालमा सुत्केरी हुन छिमेकी जिल्ला पाल्पा, पर्वतको दक्षिणी भेग तथा स्याङ्जाकै अन्य केही स्थानीय तहहरुबाट आउने गरेका छन् ।

नेपालको कानुनले २० वर्ष उमेर नपुग्दै गरेको विवाहलाई कानुनी मान्यता दिँदैन । बीस वर्ष उमेर नपुगी विवाह दर्ता नभए पनि २० वर्षभन्दा कम उमेरका आमाबुबाबाट जन्मेका शिशुको भने जन्मदर्ता हुन्छ । आमाबाबुको नागरिकता प्रमाणपत्रको आधारमा, बच्चा जन्मेको अस्पतालले दिने प्रमाण पत्रका आधारमा बच्चाको जन्मदर्ता गर्न सकिने वालिङ नगरपालिका–८ का सचिव प्रेमनारायण सुवेदी बताए ।

‘यस्तो अवस्थामा कसैले ३५ दिनभित्रै जन्मदर्ता गराइन्’ उनले भनिन्, ‘कसैले २० वर्ष पूरा भएपछि विवाह दर्ता गर्ने र बच्चाको जन्मदर्ता गराउनुहुन्छ ।’ केही समय पहिले नै विवाह गरे पनि कानुनी सीमाका कारण २० वर्ष पूरा भएपछि मात्रै बिहे दर्ता गर्न आउनेहरु पनि छन् । ‘बिहेवारी २० वर्ष पारी’ कानुनमा स्पष्ट उल्लेख गरिएको छ । २० वर्षभन्दा मुनिको विवाह कानुनविपरीत मानिन्छ अर्थात् विवाह दर्ता नै हुँदैन । कानुनी रुपमा २० वर्षमुनिका विवाह कानुनविपरीत देखिँदै गर्दा उमेर नपुग्दै आमा बन्नेको सङ्ख्या स्याङ्जामा भयावह छ ।

देवानी संहिताले २० वर्षमुनिको विवाहलाई बदरयोग्य विवाहका रुपमा राखेको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताइन् । देवानी संहिताले २० वर्षमुनिको विवाहलाई चिन्दैन । संहिताले २० वर्षमुनिको विवाहलाई कानुनी मान्यता नदिए पनि २० वर्षमुनिका महिला पुरुषको सम्बन्धबाट जन्मेको बच्चाको जन्मदर्ता गराउन कुनै पनि असर पर्ने छैन भनी पञ्जीकरण ऐनमा उल्लेख भएको उनले बताए । यसैका आधारमा रहेर बच्चाको जन्मदर्ता हुने गरेको छ । ‘बीस वर्ष उमेर पूरा नभई विवाह गर्दा हुने आमा र बच्चाको स्वास्थ्यमा पर्ने असरहरु, कानुनी सचेतनालगायतका सवालमा सर्वसाधारणलाई बुझाउन जरुरी छ’, उनले भनिन्, ‘कानुनी सचेतनालाई तल्लो तहसम्म पुर्याउनका लागि सरोकारवाला सबैले आ–आफ्नो ठाउँबाट पहल गर्नुपर्छ ।’

प्रतिक्रिया