अव्यवस्थित सालिकले ट्राफिक व्यवस्थापनमा सकस
गण्डकी । पोखराका मुख्य चोक र सडकमा रहेका अव्यवस्थित सालिकका कारण ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै आएको छ । सडक सुरक्षासँगै बढ्दो जनघनत्व, सवारी चाप र सहरी सौन्दर्यलाई दृष्टिगत गरी एक वर्षअघि सालिक व्यवस्थापन तथा स्थानान्तरण गर्ने निर्णय गरेकामा कार्यान्वयन नहुँदा ट्राफिक व्यवस्थापन सकसपूर्व बन्दै आएको हो ।
पोखरामा पर्यटकको आगमन बढ्नुका साथै बढ्दो जनघनत्व र सवारी चापका कारण ट्राफिक व्यवस्थापनमा चुनौती थपिँदै गएकाले मुख्य सडक र चोकमा रहेका सालिक अन्यत्र स्थानान्तरण गर्नुपर्ने निर्णय भएको थियो ।
विसं २०८० साउनमा पोखरा महानगरपालिकाको अगुवाइमा बसेको सर्वदलीय-सर्वपक्षीय बैठकले व्यस्त सडकमा भएका सालिक पोखरा–१८ जामुनबोटस्थित सहिद तथा विभूति उद्यानमा सार्ने निर्णय गरेको थियो ।
पोखरा–१ का वडाध्यक्ष सहारा प्रधानले महानगरमा क्रियाशील राजनीतिक दल, सरकारी निकाय तथा सरोकार भएका सङ्घ संस्थासँगको समन्वयमा एक महिनाभित्र सालिक व्यवस्थापन गर्ने भनिएकामा एकवर्षसम्म पनि उक्त निर्णय कार्यान्वयन हुन नसकेको बताए ।
‘महानगरभित्रका सबै चोक र सडकमा रहेका सालिक जामुनबोटको सहिद उद्यानमा स्थानान्तरण गर्ने निर्णय भएकामा अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन’, उनले भने, ‘सालिक सार्ने विषयमा पछिल्लो समय महानगर कार्यपालिकाको बैठकमा छलफल पनि भएको छैन ।’
वडा नं १ हरिचोकमा सहिद हरिप्रसाद गुरुङको सालिक छ । वडाध्यक्ष गुरुङले सालिक व्यवस्थापन र स्थानान्तरण गर्ने कार्यमा सर्वदलीय र सर्वपक्षीय सहमति आवश्यक पर्ने भन्दै यसले ट्राफिक व्यवस्थापनमा सहजता ल्याउने विश्वास व्यक्त गरे ।
जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख भानु शर्माले दीर्घकालीन रुपमा सालिकको व्यवस्थापन गर्नुपर्ने बताए । ‘सालिक राखिएका स्थानमा ती संरचना नहुँदा सडक फराकिलो हुन्छ, व्यस्त चोकमा सालिकको ठाउँमा ट्राफिक आइल्याण्ड राख्न सकियो भने सवारी व्यवस्थापनमा पनि सहजता थपिन्छ’, उनले भने, ‘सालिक भएकाले कतिपय स्थानमा ट्राफिक व्यवस्थापन गर्न कठिनाइ भइरहेकाले यसको दीर्घकालीन समाधान गर्न महानगरले योजना बनाउनुपर्छ ।’
प्रतिक्रिया