बुधबार, असोज ३०, २०८१

५२ खर्ब नाघ्यो कुल कर्जा रकम

नेपालखोज २०८१ असोज १ गते १३:२२

काठमाडौं । बैंकिङ क्षेत्रको कुल कर्जा रकम ५२ खर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैङ्कले पछिल्लो पटक अर्थात् यही भदौ २७ गते अद्यावधिक गरेको बैंकिङ क्षेत्रको कुल निक्षेप तथा कर्जा प्रवाह सम्बन्धी प्रतिवेदन अनुसार सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंक, क्षेत्रीय र राष्ट्रिय स्तरका समेत गरी १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनी सहितका कुल ५४ वटा संस्थाहरूको कुल कर्जा रकम ५२ खर्ब १३ अर्ब रुपैयाँ पुगेको हो ।

राष्ट्र बैंकका अनुसार बैंकिङ क्षेत्रको कुल कर्जा रकम मध्येमा वाणिज्य बैंकहरुको मात्र कुल कर्जा रकम ४६ खर्ब १४ अर्ब रुपैयाँ पुगेको छ । यस अवधिमा विकास बैक र फाइनान्स कम्पनीहरूको कुल कर्जा रकम भने पाँच खर्ब ९९ अर्ब रुपैयाँ पुगेको छ । बैंकिङ क्षेत्रको कुल निक्षेप रकम भने पछिल्लो अवधिमा ६५ खर्ब पाँच अर्ब रुपैयाँ पुगेको छ । कुल निक्षेप मध्येमा वाणिज्य बैंकहरुको मात्र कुल निक्षेप रकम ५७ खर्ब ७७ अर्ब रुपैयाँ पुग्दा विकास बैंक र फाइनान्स कम्पनीहरूको कुल निक्षेप रकम सात खर्ब २७ अर्ब रुपैयाँ रहेको छ ।

राष्ट्र बैंकका अनुसार अहिले बैंकिङ क्षेत्रको कुल निक्षेप र कर्जा रकमको बिचमा १३ खर्ब रुपैयाँको फरक देखिएको छ । यस अवधिमा बैंकिङ क्षेत्रमा निक्षेप तथा कर्जा अनुपात अर्थात् सिडी रेसियो भने ७८ दशमलव ७८ प्रतिशत रहेको छ । सो अनुसार नेपाली बैंकिङ क्षेत्र अहिले सात खर्ब रुपैयाँ भन्दा बढी रकम कर्जा प्रवाह गर्न सक्ने अवस्थामा रहेको छ । तर कर्जाको माग नहुँदा अधिक तरलता बढेकाले राष्ट्र बैङ्कले विभिन्न किसिमका मौद्रिक उपकरण बिक्री गरेर बैंकिङ प्रणालीमा भएको अधिक तरलता खिच्दै आएको छ ।

प्रतिक्रिया