शुक्रबार, वैशाख १४, २०८१

बियरले बनायो अंग्रेजी शिक्षकलाई सर्वाधिक धनी

नेपालखोज २०७८ मंसिर ६ गते १७:११

अनलाइन पोर्टल अलिबाबाका प्रमुख ज्याक माको नाम अहिले संसार प्रसिद्ध छ । यद्यपि उनको असली नाम मा युन हो भन्ने कुरा धेरै कमलाई थाहा छ । ज्याक मा १५ अक्टोबर १९६४ मा चीनको दक्षिण पूर्वी सहर ग्वाङझाउको साधारण परिवारमा जन्मिएका हुन् । यो त्यो समयको कुरा हो जब कम्युनिस्ट विचारधाराको कट्टर अनुयायी चीन पश्चिमी प्रभावबाट धेरै टाढा थियो तर पनि ज्याक माका हजुरबुबा र उनको परिवार कम्युनिस्ट पार्टीभन्दा फरक धारणा राख्थे ।

ज्याक माको परिवार आर्थिक रूपले कमजोर थियो । परिवारमा उनका एक दाजु र एक बहिनी थिए । ज्याक मा अक्सर आफ्ना सहपाठी तथा साथीहरूसँग झगडा गर्थे । ज्याक मा फाउन्डर एन्ड सीईओ अफ द अलिबाबा ग्रुप शीर्षकको पुस्तकमा ज्याकलाई उदृत गर्दै भनिएको छ, ‘मलाई आफ्ना त्यस्ता विरोधीहरुसँग कहिल्यै डर लागेन जसको शक्ति म भन्दा बढी थियो ।’

ज्याक मा सानैदेखि अंग्रेजी सिक्न चाहन्थे । १९७२ मा अमेरिकी राष्ट्रपति निक्सन ग्वाङझाउको भ्रमणमा थिए । त्यसपछि उनको सहरमा पर्यटकहरुको भिड बढ्न थाल्यो । पर्यटकहरुको यो भिडले ज्याक माका लागि अंग्रेजी सिक्ने अवसर जुटायो । उनी अंग्रेजी सिक्दै पर्यटकहरुलाई सित्तैमा सहर घुमाउँथे । यही लहडमा उनले अनेकौं पत्रमित्र बनाए । त्यही क्रममा एक पर्यटक मित्रले मा युनलाई नयाँ नाम ज्याक मा दिए ।

ज्याकका अगाडि पढेर अघि बढ्नुको विकल्प थिएन । हाइस्कुलपछि कलेजको प्रवेश परीक्षामा उनी लगातार दुईपटक फेल भए । तेस्रो प्रयासमा उनी ग्वाङझाउस्थित टिचर इन्स्ट्च्युटमा भर्ना भए । १९८८ मा स्नातक गरेपछि ज्याक मा नोकरी खोज्न थाले । त्यस क्रममा उनले आम विकासशील सहरिया युवक झैं कैंयन ठाउँमा निवेदन दिए । ज्याक मा फाउन्डर एन्ड सीईओ अफ द अलिबाबा ग्रुप पुस्तकमा उल्लेख भएअनुसार त्यति बेला ज्याक मा केएफसीसमेत करिब एक दर्जन कम्पनीबाट अस्वीकृत भएका थिए ।

हावर्ड युनिभर्सिटीबाट दशपटक रिजेक्ट भएको कुरा २०१६ मा सम्पन्न वर्ल्ड इकोन‍ोमिक फोरममा ज्याक स्वयंले भनेका थिए । २९९५ मा उनी अमेरिका गए र त्यहाँ इन्टरनेटको विस्तार देखेर उनी आश्चर्यचकित भए । अमेरिका बसाइमै उनले एक साँझ इन्टरनेटमा ‘बियर’ शब्द सर्च गरे तर त्यहाँ चीनको कुनै बियर देखिएन । त्यसपछि ज्याक माले चीनको लागि इन्टरनेट कम्पनी खोल्ने र संसारलाई चीनको सूचना दिने निर्णय लिए ।

ज्याक माले सबैभन्दा पहिले एउटा ट्रान्सलेसन कम्पनी खोलेका थिए । चीनमा इन्टरनेट कम्पनी खडा गर्ने उद्देश्यले उनले पहिले ‘चाइना पेज’ लन्च गरे । य‍ो चिनियाँ कारोबारीहरुको अनलाइन डाइरेक्ट्ररी थियो । पछि यो पेज बन्द भयो । सुरुवातका दुवै कम्पनी बन्द भएपछि ज्याकले आफ्ना साथीहरुलाई आफ्नो अनलाइन मार्केटप्लेस ‘अलिबाबा’ मा लगानी गर्न सहमत बनाए ।

ज्याकको प्रोजेक्टले संसारभरका मानिसलाई आकर्षित गर्‍यो । अक्टोबर १९९९ मा अलिबाबामा ५० लाख डलर गोल्डमैन र २ करोड डलर जापानी कम्पनी सफ्ट बैंकले लगानी गरे । ज्याकको पुस्तकमा उल्लेख भएअनुसार य‍ो लगानी अघि ३० वटा लगानिकर्ताले अलिबाबाक‍ो प्रस्ताव रिजेक्ट गरिसकेका थिए ।

२००५ सम्म आइपुग्दा अली अलिबाबाले आफ्नो दमदार रणनीतिका कारण ई-कमर्स कम्पनी ईबेलाई चीनको बजारबाट लगभग विस्थापित गरिसकेको थियो । २००५ मै इन्टरनेट कम्पनी याहुले अलीबाबामा एक अर्ब डलर लगानी गर्ने भयो । अलिबाबामाथि कहिल्यै कुनै दबाब आएन भन्ने पनि होइन । २०११ मा उसमाथि नक्कली सामान बेचेको आरोप समेत लाग्यो । त्यतिबेला अलिबाबाले केही कर्मचारी माथि कारबाहीसमेत गर्‍यो ।

ज्याकले २०१३ मा अलिबाबाको सीईओ पद छोडिदिए । २०१४ मा अलिबाबाले आईपीओ जारी गर्‍यो । अलिबाबाले य‍ो आईपीओमार्फत १५० अर्ब डलर संकलन गर्‍यो जुन न्युय‍ोर्क स्टक एक्सचेन्जमा दर्ता भएका कम्पनीमध्येको सबैभन्दा ठूलो कारोबार थियो । यही आईपीओले ज्याकलाई २५ अर्ब डलर सम्पत्तिका साथ चीनको सबैभन्दा धनी व्यक्ति बनायो ।

प्रतिक्रिया