कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’

दाङ । लमही नगरपालिका–९ रिहार निवासी ५७ वर्षीया सम्झना चौधरीले कुचोबाट आफ्नो जीविकोपार्जन गर्दै आउनुभएको छ । उनले कुचो बनाउने र बजारमा चामलसँग साटेर घर खर्च चलाउने गर्छन् । ‘कुचो बनाएर घोराही बजार लैजान्छु, धेरैले चामल दिनुहुन्छ’, चौधरीले भने, ‘कुचो बेचेर/साटेर सङ्कलन भएको चामल तथा रकमले जीविकोपार्जन भइरहेको छ ।’
सिरुको कुचो बनाउने गरेको भन्दै यसको बजारमा माग पनि धेरै रहेको उनले बताए । बजारमा माग भएकाले पछिल्लो एक वर्षदेखि कुचो बनाएर बिक्री गर्ने, चामलसँग साट्ने गरेको चौधरीले बताए । ‘एउटा कुचोबापत दुई मानासम्म चामल दिने गर्नुहुन्छ । नगदभन्दा चामलसँग बढी कारोबार हुने गरेको छ’, उनले भने ।
चार सन्तानकी आमा सम्झनाले छोराछोरीको बिहेपछि आफू घरमा एकै रहेको बताए । एक पटकमा ५० वटासम्म कुचो बनाएर बिक्री गरेपछि त्यसबाट भएको आम्दानीले दुई महिनासम्म घर खर्च चलाउन पुग्ने उनको भनाइ छ ।
‘काचो सिरु ल्याएर त्यसबाट कुचो बनाउछौँ, त्यही कुचो सुकेपछि बेच्छौँ’, उनले भने । सिरुको कुचो बजारमा पाइने कुचोभन्दा राम्रो हुने भएकाले धेरैले माग गर्ने भन्दै यो पेसालाई निरन्तरता दिने चौधरीले बताए । ‘उमेर पनि गइसक्यो, अरु काम गर्न सकिदैन”, उहाँले भन्नुभयो, “कुचो बिक्री हुँदासम्म यही पेसालाई निरन्तरता दिनेछु ।’ काम सानो वा ठूलो नहुने भन्दै महिला आत्मनिर्भर हुन आर्थिकस्तर सुधार गर्नुपर्नेमा उनले जोड दिए ।
प्रतिक्रिया