सोमबार, असार १६, २०८२

अमेरिकी राष्ट्रपति चुनाव : ह्यारिस र ट्रम्पबीच तीव्र प्रतिस्पर्धाको सङ्केत

नेपालखोज २०८१ असोज ९ गते १४:१९

काठमाडौं । महाशक्ति राष्ट्र संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिका लागि आगामी नोभेम्बर ५ तारिखका दिन चुनाव हुँदैछ । अर्थात् चुनाव हुन ४२ दिन मात्र बाँकी छ तर राष्ट्रपतिका मुख्य दुई उम्मेदवारमध्ये कसले बाजी मार्छ भन्ने अझै एकिन भइ नसकेको अमेरिकी चुनावी मतसर्वेक्षणहरूले देखाइरहेका छन् ।

यस पटकको चुनावमा रिपब्लिकन पार्टीका तर्फबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीबाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिस मुख्य प्रतिस्पर्धी रहेका छन् । दुवै उम्मेदवारले एकअर्का विरूद्ध तिक्ततापूर्ण गालीगलौज गरिरहेका भएपनि आम अमेरिकी नागरिकले भने उनीहरूले अघि सारेका आर्थिक, सामाजिक, राजनीतिक जस्ता घरेलु मामिलाका विषयसँगै विदेश नीतिका बारेमा उनीहरूका अडानलाई समीक्षा गरिरहेको बताइएको छ ।

एकातिर अमेरिकाको सर्वोच्च नेतृत्वमा कमला ह्यारिसको रूपमा पहिलो महिला र त्यो पनि एसियन–अफ्रिकन मूलकी महिलालाई चुन्ने अवसर प्राप्त भएको छ । ह्यारिसले चुनाव जिते यो अमेरिकी राजनीतिमा एउटा इतिहास नै बन्नेछ । तर ह्यारिसलाई चुनावमा सहज जित निकाल्न भने त्यति सहज छैन ।

सन् २०१६ मा भएको राष्ट्रपति चुनावमा त्यसबेला निकै लोकप्रिय उम्मेदवार हिलारी क्लिन्टन ट्रम्पसँगै पराजित भएका थिए । अमेरिकी समाज चरम पितृसत्तात्मक र दक्षिणपन्थी–अनुदारवादी छ भन्ने त्यसबेला चर्चामा थियो । तर यसपटक महिलालाई शीर्ष नेतृत्वमा स्थापित गराउन अमेरिकी समाज सहजै तयार होला ? अझै द्विविधा कायम रहेको धारणा चुनावी सर्वेक्षणले देखाएका छन् ।

पछिल्लो पटक फाइभ थर्टी एटले सार्वजनिक गरेको विवरणमा ह्यारिसले ४८ प्रतिशत र ट्रम्पले ४६ प्रतिशत मत पाउने आकलन गरिएको छ । अर्थात दुई उम्मेदवारबीच २ प्रतिशतको मात्र अन्तर छ ।

गत सेप्टेम्बर १० मा पेन्सिलभेनियामा भएको बहसपछि कमला ह्यारिसले आफ्नो पक्ष निकै मजबूत बनाएको मानिए पनि मतदाताले दुवै उम्मेदवारप्रति खासै धेरै खुलेर समर्थन गरेका छैनन् । राष्ट्रव्यापी मतसर्वेक्षणमा दुई उम्मेदवार अघिपछि देखिए पनि राष्ट्रपतिको चयन भने इलेक्टोरल कलेजका आधारमा हुने गर्दछ । पपुलर मत धेरै ल्याएर मात्र पुग्दैन ।

अमेरिकी राष्ट्रपतिका लागि कूल ५३८ इलेक्टोरल कलेजमध्ये कम्तीमा २७० स्थान जित्नु पर्दछ । अमेरिकाका ५० वटा राज्यबाट जनसङ्ख्याका आधारमा इलेक्टोरल कलेजको सङ्ख्या निर्धारण हुने गर्दछ । यही कारण धेरै जनसङ्ख्या र इलेक्टोरल कलेज रहेका राज्यहरूमा दुवै उम्मेदवारले प्रचारका कार्यलाई तीव्र बनाएका छन् ।

डेमोक्रेट वा रिपब्लिकनका परम्परागत समर्थक बढी भएका राज्यहरूको आधारमा दुवै उम्मेदवारबीच इलेक्टोरल कलेजको सङ्ख्या लगभग बराबर छ । तर इलेक्टोरल कलेज सङ्ख्या ठूलो भएका केही राज्यको परिणाम कुन उम्मेदवारतर्फ सोझिएला भन्ने अनुमान गर्न कठिन भइरहेको छ । स्वीङ स्टेट वा ब्याटलग्राउन्ड स्टेट (जुनसुकै उम्मेदवारले जित्ने अनुमान गरिएका) नामले चिनिएका केही राज्यमा दुवै उम्मेदवारबीच कडा टक्कर रहेको सर्वेक्षणले देखाएका छन् ।

यसपटक ब्याटलग्राउन्ड स्टेटका रूपमा चित्रित गरिएका मध्ये नेभादा(६ इलेक्टोरल कलेज भोट), पेन्सिलभेनिया (१९), विस्कन्सिन (१०) र मिसिगन (१५) राज्यमा कमला ह्यारिस १ वा २ प्रतिशत मतान्तरले अघि रहेको एबिसी न्यूजको पछिल्लो सर्वेक्षणले देखाएको छ । उता, नर्थ क्यारोलिना (१६), एरिजोना (११) र जर्जिया (१६) मा डोनाल्ड ट्रम्प अत्यन्त झिनो मतान्तरले अघि रहेको देखाएको छ ।

यूगभ, आरएमजी रिसर्च, हार्ट रिसर्च, फ्लोरिडा युनिभर्सिटी समेत अधिकांश मतसर्वेक्षणले डेमोक्रेट उम्मेदवार ह्यारिसले झिनो मतान्तरले चुनाव जित्ने अनुमान गरिरहेको समयमा पछिल्लो पटक दी न्यूयोर्क टाइम्सले सार्वजनिक गरेको सर्वेक्षणले भने डोनाल्ड ट्रम्प १ प्रतिशत मतान्तर सहित राष्ट्रपतिमा विजयी हुने देखाएको छ ।

प्रतिक्रिया