विपद् व्यवस्थापनका लागि हातेमालो गरौँ : गृहमन्त्री लेखक

नेपालखोज २०८१ असोज ९ गते २१:५०

अन्नपूर्ण (कास्की) । गृहमन्त्री रमेश लेखकले विपद् व्यवस्थापनका लागि सबैले हातेमालो गर्न जरुरी रहेको बताउनुभएको छ । कास्कीको पोखरास्थित पुरानो पोखरा विमानस्थलमा विश्वखाद्य कार्यक्रम (डब्लुएफपी)ले निर्माण गरेको आपत्कालीन गोदाम घरको उद्घाटन कार्यक्रममा आज उहाँले विपद्मा मिलीजुली अगाडि बढ्नुपर्ने बताए ।

मौसमको खराबीका कारण पोखरा आउन नसकेपछि गृहमन्त्री लेखकले गोदामघरको भर्चुअल रुपमा उद्घाटन गरेका थिए । ‘विपद् व्यवस्थापनको कार्यमा हामीले एकअर्कालाई सहयोग गर्नका लागि मिलीजुली अगाडि बढ्नुपर्छ’, उनले भने, ‘यस कार्यका लागि तीनैतहका सरकार, विकास साझेदार निजी क्षेत्र र मानविय सहायताका क्षेत्रमा काम गर्ने सङ्घसंस्था पुनःस्थापना, पुनःनिर्माणको चरणमा एक भएर अघि बढौँ । सम्भावित क्षति न्यूनीकरणका लागि हातेमालो गरौँ ।’

जलवायु परिवर्तनबाट सिर्जित नकरात्मक प्रभावले गर्दा नेपालमा क्षतिको परिणाम बढ्दै गृहमन्त्री लेखकले बताए । ‘सबैखालका प्राकृतिक एवं मानव सिर्जित विपद्को सामना गर्न पूर्वतयारीको आवश्यकता पर्दछ,’ उनले भने, ‘पूर्व तयारीस्वरुप पछिल्लो आपतकालिन अवस्थामा विकास साझेदारका साथीहरूले सहयोग गर्दै आउनुभएको छ ।’ सरकारले आपतकालिन गोदामघर व्यवस्थापन कार्यविधि जारी तयारी गरिरहेका उनले बताए ।

पोखरामा गोदाम घरमा स्थापनापछि तीन तहको सरकार, मानवीय सहायता कक्षमा कार्य गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरू भण्डारण र वितरणमा जवाफदेही बन्नेमा उनले विश्वास व्यक्त गरे । यसका लागि सरकारले जारी गर्न लागेको कार्यविधिले धेरै सहयोग गर्ने गृहमन्त्री लेखकले सुनाए । गृहमन्त्री लेखकले वक्तव्य दिएर भर्चुअल रुपमा गोदामघरको उद्घाटन गर्नुभएपछि गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले ताम्रपत्र अनावरण गरेका थिए ।

मुख्यमन्त्री पाण्डेले प्रदेशले विपद् व्यवस्थापन कोष सञ्चालन गर्दै आएको जानकारी दिए । गण्डकी प्रदेश सरकारले सुरक्षा निकायको क्षमता अभिवृद्धि गर्दै राहत तथा उद्धारमा एकद्वार नीति अवलम्बन गर्दै आएको उनको भनाइ थियो । कार्यक्रममा नेपालका लागि युरोपियन युनियन (इयु)का राजदूत भेरोनिक लोरन्जोले विपद् जोखिमबाट हुने आपतकालिन अवस्थामा पोखरामा स्थापना गरिएको गोदामघर सहयोगी बन्ने धारणा राखे ।

उक्त केन्द्रका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले चार रोपनी जग्गा उपलब्ध गराएको थियो । गोदाम घरमा राहत सामग्री, उद्धारका उपकरण, खाद्यान्न, जेनेरेटरलगायत सामग्री राखिएको गोदाम घर पोखराका बन्दोबस्ती सम्पर्क व्यक्ति रतिन्द्र खत्रीले बताए ।

गण्डकीमा आइपर्ने मानवीय सङ्कटका बेला यो गादाम घर उपयोगी हुने उहाँको भनाइ छ ।विपद्को समयमा सङ्कलन हुने राहत सामग्रीको अभिलेख राख्ने, सहजीकरण गर्ने र उद्धार एवं राहत वितरणलाई छरितो बनाउनका लागि गोदाम घरमार्फत काम हुने खत्रीले बताए ।

प्रतिक्रिया