सोमबार, वैशाख २९, २०८२

दसैँ, हाम्रो बाल्यकाल र घर रङ्गाउने चटारो

सुनिल उलक २०८१ असोज १६ गते १०:१६

दशैँ साच्चै नेपालीहरुको बिशेष र महान चाड । दशैँ आउने दिन नजिकिदै गर्दा हामीलाई आफ्नो बाल्यकालको सम्झना आउँछ । अहिलेको बालबालिकाहरुका दशै कस्तो हुन्छ वा उनिहरुले कसरी दशै मनाउँछन् यसको चर्चा खासै नगरौ । तर हाम्रो समयको दशै आउनु अगाडिको समय भने निकै सम्झने लायक हुन्थ्यो । लामो छुट्टी पाउने हुँदा पनि निकै रमाइलो हुन्थ्यो । दशै आउनु केही दिन अगाडि आमाबुबाले दिदी बहिनी वा दाजुभाइसंगै लाइन लगाएर बजार लग्नुहुन्थ्यो ।

खासगरि कपडा दुकानमा । पहिले रेडिमेड कपडाको खासै चलन थिएन । सिलाउने कपडा नै हुन्थ्यो । दिदीबहिनीहरुका लागि एउटै कपडा रोजिदिनु हुन्थ्यो । दाजुभाइहरुका लागि पनि उस्तै हुन्थे । दशै आउनु १०/१५ दिन अगाडि नै नजिकैको दमिनी आमा घरमा नै मशिन बोकेर आउनुहुन्थ्यो । आमाले घरमा बनाउनु पर्ने पुरानो कपडा नयाँ कपडा सबै सिलाउन दिनुहुन्थ्यो । कहिले काँही एकहप्ता सम्म नै ति दमिनी आमाको दिनभरको बास हाम्रै घरमा हुन्थ्यो ।

राती सुत्न मात्रै घर जानु हुन्थ्यो । यसरी हप्ता दश दिनमा घरको पुरानो कपडा तह लगाउने तथा नयाँ सिलाउने सबै काम सकिन्थ्यो । अहिले जस्तो ठाउँ ठाउँमा कपडा सिलाउने पसल हुदैनथ्यो । भए पनि पुरानो थाङ्ना बनाउने देखि पुराना साडीहरुको पनि उपयोग गर्ने गर्दैनन् ।

घर रङ्गाउन आमा दुइतीन दिन अगाडि देखि ब्यस्त हुने गर्नुहुन्थ्यो । भारी बोकेर १(२ बोरा रातो माटो घरमा आइपुग्थ्यो । रातो माटोलाई पानीमा राखेर बाक्लो लेदो बनाउनु हुन्थ्यो । पुरानो कपडाको पोको पारेर त्यहि कपडा चोपल्दै भित्ता लिप्नुहुन्थ्यो । घर चम्किलो रातो र राम्रो देखिन्थ्यो । यो देखेपछि हामीलाई दशै आएको अनुभुति हुन्थ्यो । गाउँघरमा भने घाँसको मुठो चोपल्दै भित्तामा झ्यापझ्याप हानेर लिप्ने पनि गरिन्थ्यो । कमेरो पाउने ठाउँमा कमेरोले घर लिप्ने पनि गरिन्थ्यो ।

अहिले माटाका गाह्रा भएका घरहरु नै हराइसके । आधुनिक घरमा आधुनिक रङ्गरोगन गरिन्छ । रातो माटो र कमेरो पनि नजिकै पाउन नै छोड्यो । पूजाका थलो लिप्नका लागि नभइ नहुने हुँदा बजारमा माटो पनि बेच्न राखिएको पाइन्छ । तर ति थोरै ल्याएर पूजामा रेखी हाल्ने ठाउँ शुद्ध गराउन गोबरका साथ लिप्ने चलन भने अझै बाकी छ । अन्यथा घर लिप्ने काम गाउँघरमा पनि निकै घटेको छ ।

अचेल त दशै आएको रौनक बजारमा भएको भिडले मात्र देखिन्छ । त्यो पनि पहिले जस्तो खासै हुदैन । हेरौ हाम्री आमाले झै पहिले पहिले घर कसरि रङ्गाउने गरिन्थ्यो भन्ने केही तस्विरहरु तथा दशैमा सिलाइ दिएको उस्तै कपडा लगाएकी दिदीबहिनी ।

प्रतिक्रिया