भियतनामको चिडियाखानामा बर्डफ्लूको कारण ४७ बाघको मृत्यु

भियतनाम । भियतनामको चिडियाखानामा बर्डफ्लूका कारण ४७ बाघको मृत्यु भएको छ। ‘एच ५ एन १’ बर्ड फ्लू भाइरसको सङ्क्रमणका कारण दक्षिण भियतनामको चिडियाखानामा ४७ बाघ, ३ वटा सिंह र एक प्यान्थरको मृत्यु भएको बताइएको छ ।
आधिकारिक भियतनाम समाचार एजेन्सी (भिएनए) का अनुसार अगस्ट र सेप्टेम्बरमा लङ एन प्रान्तमा रहेको निजी माई क्विन्ह सफारी पार्क र डोङ नाइमा रहेको भुओन जोई चिडियाखानामा जनावरहरुको मृत्यु भएको हो ।
‘नेसनल सेन्टर फर एनिमल हेल्थ डायग्नोसिस’को परीक्षणको नतिजाअनुसार जनावरहरूको मृत्यु ‘एच५एन’१ टाइप–ए भाइरसको सङ्क्रमणबाट भएको भिएनएले जनाएको छ । चिडियाखानाहरूले यस विषयमा कुनै पनि टिप्पणी गर्न अस्वीकार गरेका छन् ।
वन्यजन्तु संरक्षणमा केन्द्रित गैरसरकारी संस्था ‘एजुकेशन फर नेचर भियतनाम (इएनभी)’ ले सन् २०२३ को अन्त्यमा भियतनाममा कुल ३ सय ८५ बाघ बन्दी अवस्थामा रहेको बताएको छ ।
सन् २०२२ देखि एच५एन१ सहित इन्फ्लुएन्जा भाइरसका कारण स्तनपायीहरूमा घातक प्रकोप बढ्दै गएको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जनाएको छ । भियतनामले मार्चमा विश्व स्वास्थ्य सङ्गठनलाई यस भाइरसबाट मानिसको मृत्यु भएको जानकारी दिएको थियो ।
प्रतिक्रिया