सोमबार, असार १६, २०८२

सुनसरीमा किसान भन्छन् : ‘यसपटकको दसैँ दशा भएर आयो’

नेपालखोज २०८१ असोज २१ गते ९:०२

इनरुवा (सुनसरी) । सुनसरी देवानगञ्ज गाउँपालिका–२ का रामवृक्ष मेहताले पाँच बिघाभन्दा बढीमा धानखेती गरेका थिए । उनले ती मध्ये उनले करिब दुई बिघाभन्दा बढीमा घुटराज जातको धानखेती गरेका थिए ।

उनले भने, ‘दसैँ अगाडि नै धान भित्र्याने सोच बनाएको थिए । आफूलाई खानपुग्ने धान घरमा राखेर बाँकी बिक्री गर्ने तयारी समेत गरेको थिए । यसबाट आएको आम्दानीबाट दसैं मनाउने सोच थियो । ‘यही असोज ११, १२ र १३ गते परेको वर्षासँगै आएको बाढीले धानखेतीमा क्षति पु¥याउँदा किसान मेहताको उद्देश्य पूरा हुन पाएन । उहाँले भन्नुभयो, “बाढीबाट १० कठ्ठाभन्दा बढीको धानखेतीमा क्षति भएको छ ।’

यसैगरी भोक्राहा नरसिंह गाउँपालिकाका देवनारायण मेहताले दुई बिघामा धानखेती गरेका थिए । उनले खेतको गोडमेल, रोपाइँ, सिँचाइलगायत व्यवस्थाका लागि प्रतिबिघा रु ४० हजार खर्च गरेका थिए । उनले भने, ‘बाढीले भित्र्याउने बेलमा भएको धानबालीमा धेरै नै क्षति भयो ।

यसपटक दसैँ दशा भएर आयो ।’ बाढीका कारणले जिल्लाकोे धानबालीमा धेरै क्षति भएको छ । धानखेतीका लागि किसानले प्रतिबिघा रु ३० हजारदेखि ४० हजार खर्च गर्दै आएका जनाइएको छ । धान पाकेर भित्र्याउने बेलामा आएको बाढीले खेतीसँगै लाखौँको लगानीमा क्षति भएको किसानको गुनासो रही आएको छ ।

जिल्लामा बाढीका कारणले धानखेतीमा भएको क्षतिको आँकल एवं तथ्याङ्क सङ्कलन जारी रहेको छ । कृषि ज्ञान केन्द्र इनरुवाका प्रमुख निलकमल सिंहले बाढीले एक सय ९५ हेक्टरमा लगाएको धानखेतीमा क्षति भएको प्रारम्भिक अनुमान गरिएको जानकारी दिए । उनले बाढीबाट रु दुई करोड ५० लाख बराबारको धान नोक्सानी भएको बताए । उनले भने, ‘बाढीबाट धानखेतीमा भएको क्षतिको तथ्याङ््क आउने क्रम जारी छ । रासस

प्रतिक्रिया