शुक्रबार, वैशाख १२, २०८२

सन्तान छाडेर श्रम गर्न विदेसिँदै आमाहरु

नेपालखोज २०८१ असोज ३० गते १९:२०

काठमाडौं । दसैँको पूर्वसन्ध्यामा सात वर्षीय छोरा माइत छाडेर झापाकी रुपा गिरी मलेसिया उडिन् । मलेसिया जान लागेकी गिरीले भावुक हुँदै भनिन्, ‘घर चलाउन, घरै छाड्नुपर्‍यो ।’ घरको आर्थिक स्थिति सुधार्न विदेसिन लागेको उनको भनाइ थियो ।

कक्षा ११ को पढाई बीचैमा छाडेर गिरीले बिहे गरेको केही वर्षमा छोरा जन्मियो । कलाकारिता पेसामा आबद्ध श्रीमान्को कमाइले परिवार चलाउन सकिन । छोरो स्कुल पठाउन थालेपछि पठनपाठन शुल्क तिर्न र पालनपोषण गर्नसमेत हम्मेहम्मे भयो । उनले ऋण गरेर स्वदेशमै व्यापार गर्नेबारे पनि नसोच्नुभएको होइन तर लगानी गर्ने आँट नभएपछि विदेसिन बाध्य भएको बताइन् ।

‘सन्तान छाडेर विदेसिने कुन आमालाई खुसी मिल्छ होला र’, उनले भनिन्, ‘मुटुमा ढुङ्गा राखेर जान लागेकी छु । राम्रै कम्पनी परे त ठिकै हो । नभए के गर्ने थाहा छैन ।’ गिरीसँगै कामदारका रुपमा विदेश जान आठ महिला तयार हुनुहुन्थ्यो । ती सबै आमाहरु थिए । त्यही लहरमा भेटिनुभएकी झापाकै ३४ वर्षीया सरस्वती तामाङको अनुहार मलिन देखिन्थ्यो । आफ्नै नाम भन्न लजाउने तामाङले समुन्द्रपारिको मुलुकमा कसरी काम गुर्नहुन्छ ? भन्ने प्रश्नको जवाफ छोटोमा दिइन्, ‘जे त होला ।’ तामाङले ५ कक्षासम्म मात्रै पढेकी छिन्। सानैमा बिहे भयो

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य लिली थापाले वैदेशिक रोजगारमा आमा जान बाध्य हुँदा परिवारमा नकारात्मक असर परेको बताइन् । आयोगले एक वर्षअघि गरेको तथ्याङ्कको विश्लेषण गर्दै भनिन्, ‘आमा नहुँदा घर परिवार लथालिङ्ग भएको छ ।’ राज्यले स्वदेशमै रोजगारीको सुनिश्चितता नगर्दा नागरिककले सास्ती खेप्नुपरेको उनको भनाइ छ ।

पौरखी नेपालका पूर्वअध्यक्ष मञ्जु गुरुङका अनुसार आमाहरु परिवार पाल्न विदेसिनुमा सामाजिक, आर्थिक, राजनीतिक पक्षहरु मुख्य छन् । संस्थाले विदेश जानुअघि परामर्श दिने, सकेसम्म स्वदेशमै बस्न उत्साहित गर्ने र नभएमा विदेश जाँदा अपनाउनुपर्ने सचेतताबारे परामर्श दिँदै आएको उनले बताइन् । बितेका १५ वर्षमा पाँच हजार बढी वैदेशिक रोजगारीमा अलपत्र महिलाको उद्धार गरिएको उनले जानकारी दिइन् । ‘नेपाली समाजमा महिलाले थुपैै्र विभेद सहन बाध्य छन्’, उनले भनिन्, ‘जसले गर्दा घर छोडेर कमाउन विदेसिएका छन् ।’ आमाहरुलाई स्वदेशमै टिकाउन राज्यले उद्यमशील निती ल्याउन जरुरी रहेको उनको सुझाव छ ।

प्रतिक्रिया