स्थानीय तहले सङ्कलन गरेको करको अधिकतम हिस्सा उपयोग गर्न पाउनुपर्छ : उपसभामुख रानामगर

नेपालखोज २०८१ कार्तिक २ गते २१:३७

सिन्धुपाल्चोक । उपसभामुख इन्दिरा रानामगरले स्थानीय सरकारले सङ्कलन गरेको करको अधिकतम हिस्सा स्थानीय तहले नै उपभोग गर्न पाउनुपर्ने बताएकी छन् ।

आज सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिकामा भएको पाँचपोखरी महिला ट्रेल रेस प्रतियोगिताको समापन कार्यक्रममा उनले स्थानीय सरकारले आफ्नो क्षेत्राधिकारभित्र रहेको प्राकृतिक स्रोतसाधनको उपभोग र सोबाट सङ्कलन गरेको करको अधिकतम हिस्सा स्थानीयस्तरमै विकास निर्माणलगायत नागरिकको जीवनस्तर उकास्न प्रयोग गर्न पाउनुपर्ने धारणा राखेकी हुन् ।

उपसभामुख रानामगरले ग्रामीण क्षेत्रमा किसानले उत्पादन गर्ने तरकारी, अन्नबालीलगायत खाद्यान्नलाई स्थानीय सरकारको समन्वयमा बजारीकरण गर्नसके किसानले आफ्नो पसिनाको मूल्य र आमउपभोक्ताले पनि स्वस्थ्यकर खाने कुरा उपभोग गर्न पाउने हुँदा स्थानीय तहले अर्गानिक उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने सुझाव दिइन् । पाँचपोखरी थाङ्पाल गाउँपालिका अध्यक्ष टासी लामाले पर्यटकीयस्थल पाँचपोखरीलाई खेलकुदमार्फत पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यमा प्रतियोगिता महत्वपूर्ण रहेको बताए ।

उनले प्रतियोगितामार्फत पाँचपोखरीको परिचय देश विदेशमा प्रख्यात हुँदै गएको र अब पर्यटकको आवागमनमा वृद्धि भई स्थानीयको जीवनस्तरमा टेवा पुग्दै जाने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया