यी हुन् सय दिनमा रक्षा मन्त्रालयले हासिल गरेका प्रमुख उपलब्धिहरू

नेपालखोज २०८१ कार्तिक ६ गते १९:५९

काठमाडौं । रक्षा मन्त्रालयले पछिल्लो सय दिनमा राष्ट्रिय सुरक्षा, नीतिगतरकानुनी, प्रशासनिक, विकास निर्माण, विपद् व्यवस्थापन, अन्तर्राष्ट्रिय शान्ति स्थापना र द्विपक्षीय सैनिक सम्बन्ध तथा सहयोग आदानप्रदानका क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल भएको जनाएको छ ।

वर्तमान सरकार गठन भएको सय दिनमा रक्षा मन्त्रालयबाट सम्पादन भएका प्रमुख कार्यको प्रगति विवरण सार्वजनिक गर्दै मन्त्रालयका प्रवक्ता मनोजकुमार आचार्यले यसअवधिमा विभिन्न नौ क्षेत्रमा ५६ भन्दाबढी काम सम्पादन भएको जानकारी दिए ।

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको काठमाडौं–तराई-मधेस द्रुतमार्ग सडक आयोजनाको निर्माणलाई थप गति दिइएको र सय दिनको अवधिमा १ दशमलव ०४ प्रतिशत थप भौतिक प्रगति भई हालसम्म उक्त आयोजनाको समष्टिगत भौतिक प्रगति ३६ दशमलव ४२ प्रतिशत पुगेको मन्त्रालयले जनाएको छ । आयोजनाको कुल वित्तीय प्रगति ३८ दशमलव ५५ प्रतिशत रहेको छ ।

द्रुतमार्गअन्तर्गत प्याकेज नं २ मा पर्ने धेद्रे सुरुङ गत साउन २१ गते छिचोल्नेकार्य सम्पन्न भएको, खोकना–बुङ्गमती क्षेत्रमा आवश्यक भई अधिग्रहण गरिएका जग्गाको मुआब्जामा पूँजीगत लाभकर छुट दिन मन्त्रिपरिषद्बाट निर्णय भई राजपत्रमा प्रकाशन गरिएको छ ।

द्रुतमार्गको सुरु बिन्दु निर्धारण तथा सवारी आवागमन व्यवस्थापन सम्बन्धमा इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पस अन्तर्गतबाट विस्तृत सम्भाव्यता अध्ययन पूरा भई प्रतिवेदन प्राप्त भएकामा अध्ययनको चरणमा रहेको मन्त्रालयले जनाएको छ । द्रुतमार्गअन्तर्गत मौरीभीर खण्डको निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) हेरफेर गर्न नेपाल सरकारसमक्ष सिफारिस गर्ने निर्णय भएको छ ।

आयोजनाअन्तर्गत रहेका जम्मा ८९ पुलमध्ये ८५ स्थानका पुल निर्माणको लागि खरिद सम्झौता सम्पन्न भएको, हालसम्म मकवानपुरको राजदमार इलाकामा पाँच वटा पुलहरुको निर्माणकार्य सम्पन्न भएको मन्त्रालयले जनाएको छ ।

यस्तै कर्णाली कोरिडोर (लालिबगर–दुलिकुन्ना र घाटपारीचौर–बद्रिगाउँ–भुक्काखोला खण्ड) सडक आयोजनामा शून्य दशमलव २९ प्रतिशत थप प्रगति हासिल भई २०८१ असोज मसान्तसम्मको समष्टिगत प्रगति १३ दशमलव ७९ किमी पुगेको छ ।

कोसी कोरिडोर (च्याम्ताङ–घोङघप्पा खण्ड) मा शून्य दशलव ४१ किमी, महाकाली कोरिडोर दार्चुला–टिङ्कर (तुसारपानी–टिङ्कर खण्ड) सडक आयोजनाअन्तर्गत थप शून्य दशमलव २ किमी, बेनिघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक आयोजनाअन्तर्गत थप शून्य दशमलव ३२ किमी सडकको ट्रयाक खोल्नेकार्य सम्पन्न भएको छ ।

राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको भौतिक संरचना निर्माणका लागि बहुवर्षीय ठेक्का स्वीकृत भई विभिन्न प्याकेजमा काम भइरहेको र चालु आवको असोज मसान्तसम्म आयोजनाको भौतिक प्रगति २४ दशमलव २१ र वित्तीय प्रगति १७ दशमलव २२ प्रतिशत रहेको छ ।

प्रधानमन्त्री र रक्षामन्त्रीबीच भएको कार्यसम्पादन सम्झौताका आधारमा मन्त्री र सचिव तथा सचिव र प्रधान सेनापतिबीच कार्यसम्पमादन सम्झौता गरी तदनुसार कार्य भइरहेको, राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयबाट दैनिक, साप्ताहिक तथा पाक्षिक रूपमा राष्ट्रिय सुरक्षा विश्लेषण प्रतिवेदन तयार गरी सम्बन्धित पदाधिकारीसमक्ष नियमित रूपमा सम्प्रेषण गरिएको मन्त्रालयले जनाएको छ ।

यसअवधिमा राष्ट्रिय सुरक्षा नीति, २०७५ र सोको प्रभावकारी कार्यान्वयनका लागि तयार गरिएको एकीकृत कार्ययोजनामा रक्षा मन्त्रालय र नेपाली सेनालाई जिम्मेवारी तोकिएको कार्यलाई प्राथमिकतापूर्वक कार्यान्वयन गरिएको छ । राष्ट्रिय प्रतिरक्षा नीति, २०७७ कार्यान्वयनको लागि नेतृत्व, अन्तर–निकाय समन्वय र सहजीकरण गरिएको छ ।

प्रतिक्रिया