पोखराको पर्यटकीय मौसम सुरु, ‘अकुपेन्सी’ घट्दा व्यवसायी चिन्तित

पोखरा । हिमशृङ्खला, तालतलैयाका मनमोहक दृश्यले पर्यटकलाई लोभ्याउने पोखरामा पर्यटकीय मौसम सुरु भए पनि पर्यटकको चाप बढ्न नसक्दा पर्यटन व्यवसायी चिन्तित बनेका छन् ।
सामान्यतया अक्टुबर नोभेम्बर पर्यटकीय याम मानिन्छ । विगत वर्षहरुमा ९०-९५ प्रतिशत होटल ‘अकुपेन्सी’ हुने यो समयमा अहिले पुग–नपुग ४०-४५ प्रतिशतमा सीमित हुँदा व्यवसायीमा निराशा छाएको हो । पोखरा होटल सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले कोभिड महामारीपछि पर्यटन क्षेत्रमा आएको सुस्तताले अहिलेसम्म असर गरिरहेको बताए ।
‘कोभिड अगाडिको जस्तो अवस्था पर्यटन क्षेत्रमा अझै आउन सकेका छैन, कोभिड पछाडिका केही वर्षमा ७०-८० प्रतिशत अकुपेन्सी हुने होटलहरु अहिले भने आधाआधीमा सिमित छन्’, उनले भने, ‘कोभिडले धेरै मुलुकको आर्थिक स्थिति कमजोर बनायो, पर्यटकहरु कम खर्च गर्न बाध्य भए, योसँगै आन्तरिक पर्यटकले पनि खर्च गर्ने क्षमता कम भयो, यसको असर सिङ्गो पर्यटन क्षेत्रले लामो समयदेखि भोगिरहेको छ ।’
सुवेदीले अन्तर्राष्ट्रिय विमानस्थल बनेसँगै पर्यटन क्षेत्रमा लगानी बढेको तर सोही अनुपातमा विदेशी पर्यटकको आगमन बढ्न नसकेको बताए । उनले भने, ‘होटल बढे कोठाको क्षमता बढ्यो, तर बाह्य पर्यटकको आगमन बढेन, आन्तरिक र सीमित पर्यटकले ठूलो लगानीलाई धान्न सकेन, त्यसैले व्यवसायीमा चिन्ता थपिएको छ ।’
योसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित उडान हुन नसक्नु र महँगो टिकट दरले पनि विदेशी पर्यटक आगमनमा बाधा पुर्याइरहेको उनको भनाइ छ । होटल माउन्ट कैलाशका सञ्चालक नरेश भट्टराईले यो याममा पाहुना राख्न महिना दिन अघिदेखि नै कोठा ‘बुक’ हुने गरेको स्मरण गरे ।
‘यो याममा निकै गाह्रो हुन्थ्यो, साथीभाइको फोन त्यस्तै आउँथ्यो, तर अहिले ३०-३५ प्रतिशत अकुपेन्सीमा होटल चलाउनु परेको छ’, भट्टराइले भने, ‘कहिले कोभिड, कहिले जहाज दुर्घटना, कहिले सडक दुर्घटना, बाढीपहिरोलगायत विविध कारणको यस क्षेत्रलाई निरन्तर असर पुर्याएको छ ।’
उनले पोखरालाई सुरक्षित गन्तव्य बनाउन पूर्वाधार र विश्वसनीय व्यवस्थापनको सुधार आवश्यकता रहेको बताए । सडक, होटल र अन्य पूर्वाधार सुधार गरी सुरक्षित तथा सहज यात्रा सुनिश्चित गर्नुपर्ने उनको भनाइ छ । उनले भने, ‘मौसम खुल्दै गएको छ, फेवातालको छेउछाउबाट हिमालका सुन्दर दृश्य अवलोकन गर्न र साहसिक गतिविधिमा रमाउने उत्तम समय हो, तर रमाउने पर्यटक नै पर्याप्त छैनन् ।’
टिका रिसोर्टका सञ्चालक एवं नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टस् गण्डकीका उपाध्यक्ष सङ्गीता पौडेलले विविध कारणले पर्यटन क्षेत्र सुस्ताउँदै गएको र पछिल्ला वर्षहरूमा अपेक्षित चहलपहल बढ्न नसक्दा व्यवसायी तथा स्थानीय अर्थतन्त्रमा समेत ठूलो असर पारेको बताए । ‘हिमाल खुलेका छन्, वातावरण शान्त छ, तर यो रमाइलो वातावरणमा रमाउने पर्याप्त पर्यटक छैनन्’, उनले भने । पौडेलले यो यामको समय पनि ३०-४० प्रतिशतको अकुपेन्सीमा होटल चलाएर बस्नु बाध्यता भएको सुनाए ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले अन्तर्राष्ट्रिय विमानस्थल निर्माण, पर्यटकीय राजधानी घोषणालगायतले व्यवसायीलाई उत्साह थपे पनि सोचेअनुरुप गतिविधि हुन नसक्दा यो याममा पनि व्यवसायी सुस्ताएर बस्नु परेको बताए ।
उनले भने, ‘पर्यटकीय राजधानी त भन्यौँ, तर आवश्यक पूर्वाधारलगायत प्रचारप्रसारदेखि प्रवद्र्धनात्मक काम प्राथमिकताका साथ हुन सकेनन्, पर्यटन निजी क्षेत्रको प्रयासले मात्र हुँदैन, यो एकीकृत सोच, साझा प्रयासले मात्र सम्भव हुन्छ ।’ उनले पर्यटकको आगमन बढाउन सरकारले पर्यटन नीति ल्याउनुपर्ने र त्यसको कार्यान्वयनमा जोड दिनुपर्ने बताए ।
वायुसेवा प्रदायक कम्पनीसँगको सहकार्यमा टिकट दर सस्तो बनाउनुपर्ने, अन्तर्राष्ट्रिय प्रचार, डिजिटल मार्केटिङमार्फत पोखरालाई साहसिक र सांस्कृतिक पर्यटन गन्तव्यका रूपमा विश्वभर प्रचार गर्न सके पोखराको पर्यटनले छिट्टै गति लिने उनको विश्वास छ ।
प्रतिक्रिया