युक्रेनमा ‘लडाइँ नबढाउन’ चीनको जोड

कजान (रुस) । चीनका राष्ट्रपति सी जिनपिङले बुधबार ब्रिक्स समूहका नेताहरूलाई युक्रेनमा ‘लडाइँ नबढाउन’ आग्रह गरे । सम्मेलनमा रुसी समकक्षी भ्लादिमिर पुटिन पनि उपस्थित थिए ।
करिब विश्वका २० नेता मध्य शहर कजानमा भेला भएका छन् । ब्रिक्स सम्मेलन पुटिनले २०२२ मा युक्रेनमा सेना पठाएदेखि रुसमा भएको सबैभन्दा ठूलो कूटनीतिक मञ्च हो ।
बेइजिङले द्वन्द्वमा तटस्थ पक्ष भएको दाबी गर्दै आएको भए पनि तर पश्चिमी शक्तिहरूले मस्कोलाई कूटनीतिक र आर्थिक समर्थन प्रदान गरेको भन्दै कडा आलोचना गरेका छन् । मस्को चीनको लामो समयदेखिको सहयोगी रहीआएको छ ।
‘युक्रेन सङ्कट लम्बिँदै गएको छ…स्थिति जति सक्दो चाँडो शान्त होस् भनेर हामीले तीन सिद्धान्तहरूको पालना गर्नुपर्छ – ‘युद्धक्षेत्रबाट फैलिन नदिने, लडाइँ नबढ्ने र सम्बन्धित पक्षहरूले आगोमा घिउ नथप्ने’, सीले बुधबार भने ।
यसैबीच, चीन परम्परागत रूपमा प्यालेस्टिनी पक्षप्रति सहानुभूतिशील रहेको भन्दै राष्ट्रपति सीले गाजामा सकेसम्म चाँडो ‘युद्धविराम’ का लागि बेइजिङको धारणा दोहोर्याए ।
‘सम्बन्धित पक्षहरूबीचको सङ्घर्ष थप बढ्दै गएको छ’, उनले भने, ‘हामीले… हत्या रोक्नुपर्छ र प्यालेस्टिनी मुद्दाको व्यापक, न्यायोचित र दीर्घकालीन समाधानका लागि अथक प्रयास गर्नुपर्छ ।’
प्रतिक्रिया