सांसद भट्टचनको पहलमा दामोदरकुण्ड र गुरुसाङ्वो गुफा जोड्ने झोलुङ्गे पुलको डिपिआर सर्वे

नेपालखोज २०८१ कार्तिक ७ गते २१:१६

जोमसोम । धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाको दामोदरकुण्ड पदमार्ग र थासाङको गुरुसाङ्वो गुफा जाने पदमार्ग २ वटा झोलुङ्गे पुलको बुधबार डिपिआर सर्वे गरिएको छ । सहरी विकास मन्त्रालय अन्तर्गत स्थानीय पूर्वाधार विभाग संस्पेन्सन ब्रिज डिभिजनका प्राविधिक र्ईन्जिनीयर लगायतको टोली उक्त स्थानमा पुगेर २ झोलुङ्गे पुलको डिपिआर सर्वे गरिएको हो ।

प्रतिनिधि सभा सदस्य देवीप्रकाश भट्टचन, पूर्व प्रतिनिधि सभा सदस्य प्रेमप्रसाद तुलाचन र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टको पहलमा ब्रिज डिभिजनको प्राविधिक टोली मुस्ताङ आएको हो । पुल डिपिआर सर्वेका लागि काठमान्डौंबाट प्रभुको हेली मार्फत प्रतिनिधि सभा सदस्य भट्टचनसहित डिभिजनका ईन्जिनीयर प्रवेश रेग्मी र ईन्जिनीयर गोपाल बहादुर थापा मुस्ताङ आएका थिए ।

ब्रिज डिभिजनको प्राविधिक टोली मुस्ताङको उच्चस्थानमा रहेको मुस्ताङको पवित्र धार्मिक स्थल दामोदरकुुण्ड जाने पदमार्ग सडकमा पुल सर्वे गर्न हेली मार्फत त्यहाँ पुगे । उनीहरुले उक्त पखमार्गको भर्सा खोलामा झोलुङ्गे पुलको डिपिआर सर्वे गरेका हुन् । दामोदर कुण्ड तिर्थ यात्राका लागि त्यसपदमार्गको भर्सा खोलामा झोलुङ्गे पुल स्थापना भएमा करिव ४ घण्टाको पैदल यात्रा दुरी छोट्टिन जनाईएको छ ।

दामोदरकुण्डको भर्सा खोला समुन्द्री सतहदेखि करिव ५ हजार १०७ मिटरको अग्लो उचाईमा रहेको र त्यहाँ पुल निर्माणका लागि प्रारम्भिक गृहकार्य भईरहेकाले डिपिआर सर्वे अघि बढाईएको सस्पेन्स ब्रिज डिभिजनका ईन्जिनीय प्रवेश रेग्मीले जानकारी दिए । ‘यो सर्वे र डिपिआर दुबै हो, डिपिआर फाईनल भएपछि योजना छनौटका लागि अघि बढ्छ, डिभिजन ई। रेग्मीले भने, आगामी आर्थिक वर्ष पुलको योजना रातो कितावमा समावेश हुने र त्यसपछि अर्थ मन्त्रालयले श्रोत सुनिश्चित गरेपछि पुल निर्माणको ठेक्का अघि बढ्ने छ ।’

दामोदरकुण्ड पदमार्गको भर्सा खोलामा करिव ४६० मिटर लामो पुलको आवश्यकता पर्ने ईन्जिनीयर रेग्मीले बताए । उनले समुन्द्री सतहको उच्च उचाईको क्षेत्रमा पुल निर्माणका लागि डिपिआर सर्वे भएको जनाए । ‘डिपिआर सर्वे भयो, यसको डिपिआर बन्न ३ महिना लाग्छ, उनले भने, त्यसपछि योजना अघि बढाउन सहज हुन्छ, हामीले यस योजनालाई निकै महत्वका साथ लिएका छौं ।

भगवान बिष्णुको वासस्थानको रुपमा रहेको प्रसिद्ध धार्मिक स्थल दामोदरकुण्ड जोमसोम—कोरला राजमार्ग हुँदै चराङ पुगेर तल झर्नुपर्छ । यारा हुदै पैदलमार्ग हुँदै दामोदरकुण्ड पुग्न करिव ९ घण्टाको समय लाग्छ । भर्सा खोलामा पुल नहुदा दामोदकुण्ड जाने धार्मिक पदयात्री उकालो र आरोलो झर्नु पर्ने हुदा पैदलयात्राको दुरी लम्बिएको हो । पुल बनेपछि ९ घण्टाको पदयात्रा ५ घण्टामा पुरा गर्न सकिने लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले उल्लेख गरे । उनले दामोदकुण्ड जाने भर्सा खोलामा झोलुङ्गे पुलको आवश्यकता रहेको सुनाए ।

यसै गरी मुस्ताङको थासाङ गाउँपालिका—२ नाउरिकोट—गुरुसाङ्वो जोड्ने अर्को एक झोलुङ्े पुलको पनि डिपिआर सर्वे भएको प्रतिनिधि सभा सदस्य देवीप्रकाश भट्टचनले जानकारी दिए । उनका अनुसार गुरु पद्यसम्भव ध्यान गरेर बसेको धार्मिक गुफा जाने पदयात्रीको सहजताका लागि त्यहाँ पुल निर्माणको प्रक्रिया अघि बढेको बताए । उनका अनुसार सस्पेन्स ब्रिज टोलीका प्राविधिक ईन्जिनीयरले त्यसस्थानमा पुगेर डिपिआर सर्वे गरेका हुन् ।

थासाङको नाउरिकोट—गुरुसाङ्वो गुफा जोड्ने पुल निर्माणको डिपिआरका लागि प्रतिनिधिसभा सदस्य देवीप्रकाश भ्टटचनसहित पूर्व प्रतिनिधि सभा सदस्य प्रेमप्रसाद तुलाचन, लोघेकर दामोदरकुुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्ट र थासाङ—२ का वडाध्यक्ष गौतम शेरचनसहित प्राविधिक ईन्जिनीयरहरुको टोली त्यसक्षेत्रमा पुगेको थियो । त्यहाको प्रारम्भिक सर्वेमा करिव ४७० मिटर लामो झोलुङ्गे पुलको आवश्यकता महशुस गरिएको छ ।

थासाङको नाउरिकोट—गुरुसाङ्वो जोड्ने झोलुङ्गे पुल निर्माणका लागि यसअघिनै रातो किताबमा योजना समावेश भईसकेको छ । डिपिआर फाईनल भएपछि पुल निर्माणका लागि बजेट सुनिश्चिताको प्रक्रिया अघि बढ्ने संस्पेन्सन ब्रिज डिभिजनले बताएको छ । डिभिजन टोलीले दुबै स्थानमा पुल निर्माणको प्रक्रिया आगामी आर्थिक वर्षदेखि कार्यान्वयनमा ल्याउने गरी प्रक्रिया अघि बढाईने बताईएको छ । नाउरिकोट—गुरुसाङ्वो जोड्ने झोलुङ पुल निर्माण भएमा करिव आधा घण्टाको पैदल उकालो दुरी छोट्टिने जनाईएको छ ।

मुस्ताङको दामोदरकुण्ड र थासाङमा झोलुङ्पुलको डिपिआर सर्वेका लागि प्रतिनिधि सभा सदस्य देवीप्रकाश भट्टनको हेली प्रयोग गरिएको थियो । प्रतिनिधि सभा सदस्य भट्टनले आफ्नो जन्मस्थान मुस्ताङमै भएको र यहाँको विकासमा आफ्नो सक्दो सहयोग रहने बताए ।

प्रतिक्रिया