दैनिक १० घण्टा बहिरङ्ग सेवा दिँदै नगर अस्पताल

कागेश्वरी (काठमाडौं) । यहाँस्थित कागेश्वरी मनोहरा नगर अस्पतालले दैनिक १० घण्टा बहिरङ्ग सेवा उपलब्ध गराउँदै आएको छ । बिरामीले बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म बहिरङ्ग सेवामार्फत उपचार गराइरहेको अस्पतालका मेडिकल अधिकृत डा सन्तोष रम्तेलले जानकारी दिए ।
उनले भने, ‘हामीकहाँ बहिरङ्ग (ओपिडी) अन्त जस्तो नर्मल छैन । साँझ ५ बजेसम्म त टिकट काट्छौंँ । यदि कोही डा खाली भएमा पौने ६ बजेसम्म टिकट काटेर जाँच गर्छौंँ ।’ उनकाअनुसार यस अस्पतालमा दैनिक पाँच सयको हाराहारीमा सेवाग्राही आउने गर्छन् । ‘कार्यविधि बनाएरै प्रत्येक दिन एक सय ५० जना बिरामीको उपचार गर्छौँ,’ मेडिकल अधिकृत रम्तेलले भने ।
अस्पतालमै कार्यरत अर्का डाक्टर निवेश सुवेदीले अस्पताल स्तरोन्नतिको प्रक्रियामा रहेको बताए । सुरुवातमा १५ शय्याबाट सञ्चालन थालिएको सो अस्पताल अब ५० शय्याको स्तरोउन्नति प्रक्रियामा रहेको उनले बताए । उनकाअनुसार यस अस्पतालले स्याटलाइट ओपिडीसमेत सञ्चालन गरेको छ ।
स्याटलाइट ओपिडी सेवाबाट कागेश्वरी मनोहरा नगरपालिका–१ गागलक्षेत्रका स्थानीय लाभान्वित भएको उनले सुनाए । दुर्गम गागल क्षेत्रमा स्थानीय तहद्वारा सञ्चालित ‘मेयरसँग ज्येष्ठ नागरिक’ र ‘मेयरसँग बालबालिका’ कार्यक्रम अति उपयोगी भएको डाक्टर सुवेदीको भनाइ छ । यी कार्यक्रमबाट ६० वर्ष माथिका ज्येष्ठ नागरिकले उपचारसँगै अल्ट्रासाउण्ड, इसिजी, औषधिलगायतका निःशुल्क सुविधा प्राप्त गरेका छन् ।
अस्पतालको सेवा सन्तोषजनक रहेको सेवाग्राही सीतादेवी खड्काले बताए । मुटुको समस्याले ओखलढुङ्गाबाट उपचारका लागि आउनुभएकी उहाँले उपचारपश्चात निकै बिसेक भएको बताए ।
अस्पताललले १० घण्टा बहिरङ्ग सेवा दिँदा सेवाग्राहीलाई सहज भएको स्थानीय भीमराज खड्काले बताए । ‘अफिस छुट्टी लिएर अस्पताल धाउनुपर्ने बिरामीका लागि सहज भएको छ,’ खड्काले भने ।
प्रतिक्रिया