शुक्रबार, वैशाख ७, २०८१

घोडे जात्रा पर्व आज, विभिन्न कार्यक्रम गरी मनाइँदै

नेपालखोज २०७९ चैत ७ गते ६:१८

काठमाडाैं । चैत्र कृष्ण औँसीका दिन प्रत्येक वर्ष मनाइने घोडे जात्रा पर्व आज विभिन्न कार्यक्रम आयोजना गरी विशेषगरी काठमाडौँ उपत्यकामा मनाइँदैछ । जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले सहरका बालबालिकालाई खाने गरेको थियो ।

पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे । राक्षसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय स्थानीयवासीमा रहिरह्यो । यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो ।

साथै सहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ । यसो गरेपछि वर्षभर बालबालिकालाई गुरुमापाबाट खतरा नहुने विश्वास राजधानीवासीमा छ । नेपाली सेनाका तर्फबाट आजै टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकला लगायतको प्रदर्शन गरिन्छ ।

आजकै दिन ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा छ । यस अवसरमा सरकारले काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा पनि दिएको छ ।

राष्ट्रपतिको प्रमुख आतिथ्यमा टुँडिखेलमा समारोह

राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलको समुपस्थितिमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलामा मङ्गलबार घोडेजात्रा कार्यक्रम गर्दैछ । त्यस अवसरमा सैनिक मञ्चमा विविध अश्वकलाले भरिपूर्ण रोचक कार्यक्रम गरी घोडेजात्रा समारोहको आयोजना गरिने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । समारोहमा अश्वकलाअन्तर्गत दुई चरणमा टाङ्गन घोडा दौड, शो जम्प, झन्डोत्तोलन, ड्रिल राइड, घोडचढी आर्चरीलगायतका विविध रोमाञ्चक कलाहरू प्रदर्शन गरिने छ ।

घोडेजात्रा अत्यन्तै पुरानो अनि सामाजिक जात्राका रूपमा प्राचीनकालदेखि नै काठमाडौँ उपत्यकामा मनाइँदै आएको परम्परा हो । परापूर्वकालमा गुरुमापा नामक दैत्यमाथिको विजयका रूपमा मनाइन्छ घोडेजात्रा मनाउने गरिँदै आएको छ । यहाँ दौडने घोडाको टापले त्यस दानवको आत्मालाई दबाउन मद्दत गर्नाका साथै जात्राले देशमा शुभमङ्गल ल्याउने विश्वास गरिन्छ । पाटनको एकल घोडेजात्रा लोकप्रिय जात्रा हो । वैदिक सनातन संस्कारमा सबैभन्दा पुण्य प्राप्त हुने महान् यज्ञ नै ‘अश्वमेध यज्ञ’ हो, जसमा सैयौँका सङ्ख्यामा घोडाहरूलाई स्वतन्त्र गरिन्छ र ती घोडाहरू जहाँ–जहाँसम्म पुग्दछन् त्यहाँ शान्ति, सौहार्दता र आनन्द रहने विश्वास गरिन्छ ।

सेनाले अत्यन्त बफादार अनि वेग समान कुद्न सक्ने घोडाको सम्मान अनि सहकार्यमा टुँडिखेलमा घोडेजात्रा मनाउँदै आएको छ । सो अवसरमा उपराष्ट्रपति, प्रधानमन्त्री, कामु प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, मन्त्रिगणलगायत विशिष्ट महानुभावको सहभागिता हुनेछ । घोडेजात्रामा प्रयोग हुने ६६ वटा घोडामध्ये बग्गीका लागि १०, अश्वकलाका लागि ४६ र दौड विशेषका लागि पानी १० वटा घोडा रहेको निर्देशनालयले जनाएको छ । उक्त समारोहको नेपाल टेलिभिजनलगायतका विद्युतीय सञ्चारमाध्यमले प्रत्यक्ष प्रसारण गर्नेछन्

प्रतिक्रिया