शनिबार, असार १४, २०८२

स्पेनमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या २११ पुग्यो, प्रभावित क्षेत्रमा थप १० हजार सैनिक पठाइयो

नेपालखोज २०८१ कार्तिक १७ गते २०:४८

भ्यालेन्सिया, स्पेन । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बाढीका कारण प्रभावित पूर्वी भ्यालेन्सिया क्षेत्रमा थप १० हजार सैनिक र प्रहरी अधिकारी खटाइने शनिबार बताएका छन् ।

भ्यालेन्सिया र वरपरका क्षेत्रमा गरी बाढीका कारण २११ जनाको मृत्यु भएको पुष्टि भएसँगै प्रधानमन्त्री साञ्चेजले थप सेना र प्रहरीलाई बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि पठाउने घोषणा गरेका हुन् ।

दशकौँ यताकै सबैभन्दा घातक यस प्रकारको विपत्तिका कारण पानीमा डुबेका शहरहरू र भत्किएका पूर्वाधारहरूबाट जीवित व्यक्तिहरू भेट्टाउने आशा क्षीण भएको छ ।

सान्चेजले एक टेलिभिजन सम्बोधनमा यो विपत्ति युरोपमा यस शताब्दीको दोस्रो सबैभन्दा घातक बाढी भएको र राहत कार्यका लागि सुरक्षा बलमा ठूलो वृद्धि भएको घोषणा गरेका छन्।

भ्यालेन्सिया क्षेत्रका नेताले थप पाँच हजार सैनिकका लागि गरेको अनुरोधलाई सरकारले स्वीकार गरेको र थप सैनिक र प्रहरी तैनाथ गर्ने जानकारी दिएको सान्चेजले बताएका छन् ।

प्रतिक्रिया