शुक्रबार, असार २०, २०८२

बीस पैसे सिक्का

सुनिल उलक २०८१ कार्तिक १८ गते १४:३०

नेपालमा बीस पैसे सिक्का पहिलो पटक वि.सं. १९८९ मा राजा त्रिभुवनको पालामा छापिएको थियो । हुन त राजा त्रिभुवनको समयमा चौथाइ पैसा (एक दाम), आधा पैसा, चार पैसा, १ आना (६ पैसा) जस्ता भिन्न सिक्काहरु पनि छापिएका थिए । १९८९ देखी २०१० सालसम्म पृष्ठभागमा बिचमा ठूलो त्रीशुल भएको २० पैसे सिक्का छापिएको थियो भने २०१० र २०११ मा खुकुरी भएको २० पैसे सिक्का छापिएको थियो ।

यी सिक्काहरुमा त्रिशुल भएको सिक्का आकारका हिसाबले तीन किसिमको निस्काशन भएको थियो । १९८९ मा केही ठूलो (१८.२ मिमी) आकारको त्यसपछि पून १९८९ देखि २००४ सम्म (१८ मिमी) केही सानो आकारको र २००६ देखि २०१० सम्म (१८.१ मिमी) आकारको निकालिएको थियो । यसपछि २०१० र २०११ मा खुकुरी भएको बीस पैसा निस्काशन भएको थियो । राजा त्रिभुवनको स्वर्गारोहण पछि राजा महेन्द्रको समयमा २० पैसे सिक्का छापिएन ।

राजा वीरेन्द्रको समयमा २०३५ र २०३६ मा दुइ पटक २० पैसे सिक्का छापियो । २०३५ सालमा विश्व खाद्य संगठनको स्मारकमा निकालिएको थियो । बिचमा कहिल्यै अन्न नसकिने अक्षय पात्र तथा खड्ग भएको २०३५ को सिक्का २३४००० थान निष्काशन भएको हुदा यो धेरै नै पाइन्छ तर अन्तराष्ट्रिय बाल वर्षको सिक्का केवल ३०००० थान निष्काशन भएको हुँदा केही दुर्लभ छ ।

प्रतिक्रिया