शुक्रबार, असार २०, २०८२

नेपाल संवत्, यसको गरिमामय इतिहास र वर्तमान अवस्था

नेपालखोज २०८१ कार्तिक १८ गते १८:२८

काठमाडौं । नेपाल संवत् अन्तर्राष्ट्रिय जगत्मै आफ्नो देशको पहिचान बोकेको एकमात्र संवत् हो । नेपाल संवत् नामैले देशको पहिचान दिन समर्थ छ । विश्वमा अरु कुनै पनि त्यस्तो सवत् प्रचलनमा भएको देखिँदैन, जसले देशको नामबाटै आफ्नो संवत्लाई चिनाएको होस् । त्यसैले, नेपाल संवतले सिङ्गो नेपालको राष्ट्रिय स्वाधीनता, एकता र राष्ट्रियतालाई आफूभित्र समेटेको छ भन्दा अत्युक्ति हुँदैन ।

नेपालमा धेरै संवत् प्रचलनमा आएका भेटिन्छन् । इस्वी (गे्रगोरियन), शक, मानदेव, विक्रम, हेब्र्ु, हिजरी, चिनियाँ, कलिगतलगायत अरु थुपै सम्वत् हामीकहाँ चलनचल्तीमा देखिन्छन् । नेपालभित्र प्रचलनमा रहेका जति पनि संवत्हरू हामी देख्छौं, नेपाल संवत्ले ती संवत्हरूभन्दा भिन्न इतिहास र भावना बोकेको पाउँछौं । नेपाल संवत् जति जनस्तरमा व्याप्त छ, चर्चित छ र राष्ट्रिय संस्कतिसँग अभिन्न रूपमा गाँसिएको छ, अरु संवत् त्यस्तो देखिँदैन ।

नेपाल संवत् नेपालको चाडपर्व लगायत जन्मदेखि मृत्युसम्मका सम्पूणे संस्कारहरूको मुख्य आधार हो । यस संवत्मा तिथिमितिदेखि यावत् कुराहरू व्यवस्थित छन् । कतिपय यस्ता संवत्को चर्चा पनि हुने गर्छ, जसको वर्ष गणना भए पनि तिथिमिति देखिँदैन । बुद्ध संवत्, यले संवत् यसका उदाहरण हुन् । यसमा तिथिमिति देखिँदैन । नेपाल संवत् नै एक मात्र यस्तो संवत् हो जुन जनस्तरमा आजपर्यन्त सर्वस्वीकार्य भई प्रचलनमा रहिआएको छ ।

इतिहास केलाएर हेर्दा विसं १८२५ (नेपाल संवत् ८८८) मा गोरखाका राजा पृथ्वीनारायण शाहले आफ्नो राज्य विस्तार गरी तत्कालीन नेपालमण्डल, जसभित्र कान्तिपुर, ललितपुर, भक्तपुर र द्वाल्खा चारवटा स्वायत्त राज्य थिए, त्यसमध्ये कान्तिपुर विजयपश्चात् क्रमशः अरु राज्यहरू पनि आफ्नो नियन्त्रणमा लिए । लिच्छविकालमा नेपाल उपत्यका र वरिपरिको भूभागलाई नेपालमण्डलको नामले पुकारिन्थ्यो । नेपालमण्डल शब्दको प्रयोग नेपालमा तत्कालीन दक्षिण एसियामा प्रचलित महाजनपद राज्यहरूजस्तै सङ्घीय नेपाल भन्ने अर्थमा प्रयोग भएको देखिन्छ । त्यतिबेला नेपालमण्डल पाँचवटा राज्यहरूको सङ्घराज्य थियो । तत्कालीन कान्तिपुर, ललितपुर, भक्तपुर, बनेपा र द्वाल्खा विभिन्न कालखण्डमा अस्तित्वमा आए र यसको सङ्घीय स्वरूप नेपालमण्डल थियो । बनेपा राज्य भक्तपुरमा गाँभिएपछि त्यो चारवटा राज्यको सङ्घ थियो । नेपाल संवत् नेपालमण्डलभरि प्रयोगमा थियो । गोर्खा राज्य विस्तारको माध्यमबाट आजको आधुनिक नेपालको स्थापना गरेपछि नेपाल संवत्लाई हटाएर शक संवत् प्रयोगमा ल्याउने काम भयो ।

नेपालमा शक संवत् दुईपटक प्रयोगमा आए । पहिलोपटक लिच्छवि कालमा शक संवत् प्रयोग भयो, पछि फेरि शक संवत् हटेर मानदेव संवत् र त्यसपछि नेपाल संवत् प्रयोगमा ल्याइएको देखिन्छ । दोस्रोपटक वर्तमान आधुनिक नेपाल निर्माणपश्चात् पृथ्वीनारायण शाहले पुनः शक संवत् प्रयोगमा ल्यायो । वर्तमान भारतको स्थापनापूर्व त्यहाँ झन्डै ५६५ वटा रजौटा राज्यहरू थिए । त्यसमध्येका विभिन्न राज्यहरू वज्जी, लिच्छवि, गुजरात, मेवाड, चितौड आदिमा शक संवत् चल्दथ्यो । यसरी पुनः शक संवत् प्रयोगमा आउनाका कारण केलाउँदा पृथ्वीनारायण शाहले आफ्नो पुख्र्यौली राज्यमा प्रचलित संवत् भित्र्याएको देखिन्छ ।

त्यतिबेला नेपालको आफ्नै नेपाल संवत् अस्तित्वमा आइसकेको थियो । नेपाल सवत् फेरि शक संवत्कै परिमार्जित र विकसित रूप पनि हो । किनकि नेपालको तिथिमिति र चाडपर्वलाई निरन्तरता दिने मात्र हैन त्यसलाई क्रमबद्ध रूपमा मनाउने पद्धति यसमै निहीत छ । जस्तै नेवाः समुदायले मनाउने मोहनी अरु समुदायले मनाउने दशैं वा दशहराभन्दा अलि भिन्न छ । नेवारहरूले कुछि भ्वय्, स्याक्वःत्याक्वः, चालँ (अर्थात् अष्टमी, नवमी र दशमी) मनाउँछ, जुन आदि कालदेखि नै क्रमवद्धरूपमा मनाउने चलन थियो र छ । स्वन्ति दीपावली (त्रिहार) भनेर लगातार तीन दिन तीन वटा तिथिमा लगातार मनाउने चलन चलिरहेको छ । नेपाल संवत् अनुसार नेवाः समुदायले लक्ष्मी पूजा वर्षको अन्तिम दिनका रूपमा मनाउँछन् । त्यस दिन विशेष गरी वर्षभरिकै हिसावकिताबको फरफारक गर्ने काम हुन्छ । लक्ष्मी पूजा गरेर धनको देवता मानेर धनधान्यले पूर्ण होस् भनेर आराधना गर्ने गरिन्छ ।

पृथ्वीनारायण शाहबाट आधुनिक नेपाल निर्माण भएपछि जुन कारणले हटाइ सकेको शक सम्वत् नेपालमा पुनः चलाएपछि राणाहरूले सत्ता हातमा लिएपछि त्यसैको हुबहु नक्कल गरेर शक संवत् हटाए र वि.सं. १९६२ (नेपाल संवत् १०२६) मा तिनीहरूले पनि आफ्नै पुर्खासँग जोडेर विक्रम संवत् भित्र्याए । नेपालमा राणा शासन सुरु भएपछि जनताका राजनीतिक र आर्थिक अधिकार मात्रै होइन, सांस्कृतिक अधिकारहरू पनि थप हनन भए ।

नेपालको इतिहासका जानकार सबैलाइ थाहा छ, जंगबहादुर राणा नभई कुँवर थरका थिए । राजकूलका भारदार रहेका उनले कोत पर्व गरी सत्ता हातमा लिएपछि आफ्ना पुर्खाहरू तत्कालीन उज्जैन राज्यको राणाखलक भएको बताउँदै त्यहाँका राजखलकसँग नाता जोडेर कुँवरबाट राणा बने । चन्द्र शमशेरको पालामा आएर तत्कालीन उज्जैन राज्यमा प्रचलित विक्रम संवत्लाई नेपालमा प्रचलनमा ल्याउने घोषणा गरे । यदि राणाहरूमा राष्ट्रियताको भावना भएको भए नेपाल संवतलाई नै पूर्ण प्रयोगमा ल्याउन सक्थे ।

नेपालमा विक्रम संवत् चलाउनुपर्ने पक्षमा तर्क दिँदा अघि सार्ने एउटा मुख्य तर्क त्यतिबेलासम्म नेपालमा प्रचलनमा रहेका संवत्हरू तिथिमा आधारित भएकाले प्रत्येक ४ वर्षमा १२ महिनाको सट्टा १३ महिना हुने हुँदा अतिरिक्त एक महिनाको तलब भत्ता बढी खुवाउन पर्ने बाध्यता हो भन्ने गरेको छ । तर विक्रम संवत् भित्राएको बखत त्यस संवत्मा पनि त्यहि समस्या थिए । त्यसैले त्यसमा कुनै सत्यता देखिंदैन । किनभने तत्कालिन समयमा उज्जैनमा प्रचलित विक्रम संवत् पनि तिथि सम्वत् (लुनार क्यालेन्डर) अर्थात चन्द्रमासमै आधारित थिए ।

नेपालमा भित्रयाइएका बेला श्री ३ चन्द्र शम्शेरले संवत् मात्रै भित्र्याएको नभई केही ब्राह्मण र ज्योतिष पनि भित्र्याए र त्यसमा गते थप्न निर्देशन दिए । अहिले पनि भारतको राजस्थान राज्यका केही भागहरूमा चन्द्रमासमै आधारित विक्रम संवत् प्रचलनमा छ । अहिले पनि कृष्ण पक्ष, शुक्लपक्ष भन्ने गरिन्छ त्यहाँ । नेपालमा गते थप्ने कामको निर्णय चन्द्र शमसेरको पालामा भए पनि गते थपेर सरकारी कामकाजमा प्रयोगमा ल्याउने काम भने भीम शमसेरको पालामा भएको कुरा प्रो। माणिक लाल श्रेष्ठले उल्लेख गर्नुभएको छ । यसरी विक्रम संवत् चलाउनुको पछाडि कुनै राष्ट्रिय भावना देखिँदैन । साँच्चै नै राष्ट्रिय भावना वा एकतालाई महत्व दिन चाहेको भए नेपाल संवत्मै पनि गते थप्न सकिन्थ्यो ।

नेपालमा नेपाल संवत् प्रयोगमा ल्याउनु पर्छ भनिरहँदा सबैको मनमा उब्जने प्रश्न भनेको कसरी प्रयोगमा ल्याउने भन्ने हो । त्यसका बारेमा अहिले विभिन्न चर्चा परिचर्चा हुने गरेको छ । पहिलो कुरा नेपालमा यो स्तरीय छैन, वैज्ञानिक छैन भनेर प्रश्नहरू उठाउने गरिएको छ । नेपाल संवत्को ऐतिहासिकता, वैज्ञानिकता र व्यावहारिकताका बारेमा संवत्माथि उठ्ने उठाइने यी सवाललाई हामीले हल गर्न जरुरी छ । हामीले बुझ्नुपर्ने कुरा के हो भने नेपाल संवत् प्रयोगको इतिहास गरिमामय छ । यो वैज्ञानिक पनि छ । तर स्तरीय छ कि छैन भन्ने सवालमा वहस हुन सक्दछ । सौर्यमासमा आधारित इस्वी सम्वत् पनि कतिपय देशमा पछि सुधारिएकै हो । रुसमा अक्टोवर क्रान्ति जुलियस सिजरले विकास गरेको संवत् अनुसार अक्टोबर २५ मा भएको थियो । पछि पोप ग्रेगोरीले परिमार्जित गरेका सौर्यमासमा आधारित पात्रोमा मिलाउँदा अक्टोबर क्रान्ति नोभेम्बर ७ मा पर्न गयो ।

सौर्यमासको क्यालेण्डरको सैद्धान्तिक अवधारणा भनेको मेष राशिदेखि १२ राशिको सूर्यको भोगावधि हो, जसको अवधि ३६५.२५ दिन हुन्छ । अर्को भाषामा भन्दा पृथ्वीलाई सूर्यको परिक्रमा पूरा गर्न लाग्ने समय ३६५ दिन र ६ घण्टा हो । त्यसैले सौर्यमासको क्यालण्डर भनेको वर्षमा ३६५.२५ दिनको व्यवस्थापन हो । सौर्यमास पात्रो नै भए पनि विक्रम संवत्मा पनि धेरै खोटहरू छन् ।

अर्को कुरा चन्द्रमासको तिथि संवतमा सौर्यमासको गते थप्दा आउने समस्याहरू पनि ज्युँका त्युँ छन् । विक्रम संवत्मा चन्द्रमासको तिथिसँगै सौर्यामासको गते थपेर प्रयोग गर्दा यस संवत्मा कुनै वर्ष चैत दसैँ नै नहुने, कुनै वर्ष २ पटक चैत दसैँ पर्ने समस्या पनि छ । त्यहि भएर होला सायद भारतले सरकारी कामकाजमा इश्वी संवत् प्रयोग गर्ने गरेको छ । चीनले पनि आफ्नो राष्ट्रिय संवतमा सौर्यमासको तरिख वा गते नथपी इश्वी संवत् नै प्रयोग गर्ने गरेको छ ।

चीनमा आफ्नो चिनियाँ क्यालेण्डर भएपनि उनीहरूले आफ्नो चाडपर्वमा मात्र प्रयोग गर्ने गरेका छन् र सरकारी कामकाजमा इस्वी संवत् नै प्रयोग गर्छन् । भारतमा शक संवत्, विक्रम संवत्लगायत थुप्रै संवतहरू छन् । भारतले शक संवत्लाइृ आफ्नो राष्ट्रिय संवत्को मान्यता दिएको छ तर सरकारी कामकाजमा इस्वी संवत् नै प्रयोग गर्ने गरेको छ । नेपालमा सौर्यमास थपेर विक्रम संवत् चलाए, तर यो वैज्ञानिक र स्तरीय देखिंदैन ।

नेपाल संवत्को वैज्ञानिकताको जुन सवाल छ, त्यसमा नेपाल संवत्मा वैज्ञानिकता छैन भनेर कसैले पनि भन्न सकिने आधार छैन । विज्ञानले कारण र परिणामको माग गर्छ । चन्द्रमास पद्धतिअनुसार यसका तिथि तय हुन्छ । नेपाल संवत्को पात्रो निर्धारण गर्ने विज्ञहरूद्वारा जुन दिन सूर्यग्रहण हुन्छ भनेका हुन्छन्, त्यो दिन सूर्यग्रहण भएकै छ, जुन दिन चन्द्रग्रहण हुन्छ भनेका हुन्छन्, त्यो दिन चन्द्रग्रहण भएकै छ । त्यस्तै पूर्णिमाको दिनमा झलमल्ल जुन लागेकै हुन्छ र औंशीको दिन रात अन्धकार भएकै छ ।

प्रतिक्रिया