शुक्रबार, असार २०, २०८२

वीरगञ्जका पोखरी छठ पर्वका लागि सिँगारियो

नेपालखोज २०८१ कार्तिक १९ गते ९:१५

वीरगञ्ज (पर्सा) । यहाँका पोखरी तथा नदी घाटलाई छठ पर्वका लागि विशेष सजावट तथा सिँगारिन थालिएको छ । वीरगञ्ज महानगरभित्रमात्रै एक दर्जनभन्दा धेरै स्थानमा रहेका छठघाटलाई ‘दुलही’ जस्तै सिँगारिएको छ । प्रायजसोः यहाँका सर्वसाधारणले आफ्नो घरदैलो नजिकै रहेको पोखरी तथा छठ घाटमा गएर छठ पूजाअर्चना गर्ने परम्परा रहेको छ ।

सोही अनुसार यहाँका सर्वसाधारणले आ–आफ्नो घरनजिकै रहेको पोखरी तथा घाटलाई सरसफाइ तथा सजावट गरेर चिटिक्क पार्ने काम गरिरहेका छन् । वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंह पनि वीरगञ्ज महानगरभित्र मनाइने छठ घाटहरुको नियमित रुपमा निरीक्षण गरिरहेका छन् ।

उनले छठ पर्वलाई भव्य र सभ्य ढङ्गले मनाउने गरी तयारी तीव्र पारिएको जानकारी दिनुभयो । वीरगञ्ज महानगरभित्र घडीअर्वा पोखरी, रानीघाट छपकैयाको छठघाट, माईधिया पोखरी, नगवा पोखरी, सोलकपुर चोर्नी र परसवाको छठघाटमा विशेष सजावट र डेकोरेसन गरेर छठ पर्व मनाइँदैछ । यीबाहेक अन्य स्थानमा पनि छठका लागि आ–आफ्नो ढङ्गले झकिझकाउ गर्ने काम भइरहेको छ । वीरगञ्ज महानगरभित्र सजावट र झकिझकाउको हिसाबले भने घडीअर्वा पोखरीमा विशेष गर्ने गरिन्छ ।

छठ पूजा व्यवस्थापन समिति घडीअर्वा पोखरीका अध्यक्ष दिलीप साह कानुले घडीअर्वा पोखरीमा मनाइने छठ पर्वको झकिझकाउ सजावट हेर्नका लागि नेपालका मात्रै नभएर सीमावर्ती भारतीय सहरका पर्यटकहरुको पनि घुइँचो लाग्ने बताउँछन् । समितिका अध्यक्ष कानुले घडीअर्वा पोखरीमा मनाउने छठ पर्व सुरक्षा, सजावट र सप्तरङ्गी बत्तीको झिलीमिलीले पनि अवलोकनकर्ताको मन जित्ने दाबी गरे ।

समितिका अनुसार पण्डाल र लाइट व्यवस्थापनको जिम्मेवारी जगदीश टेन्टले पाएको छ । तराई–मधेशका महिलाले छठ पूजा गर्नाले आफ्नो परिवार र सन्ततिको सुख समृद्धिको कामना गर्दै मनाउने गरिन्छ । यस वर्ष छठ पर्वको मुख्य दिन यही कात्तिक २२ गते कात्तिक शुक्ल षष्ठीको दिन परेको छ । छठपर्व विशेषगरी कात्तिक शुक्ल चतुर्थीका दिनदेखि आरम्भ भएर षष्ठीको दिनसम्म मनाउने गरिन्छ ।

छठ पूजा व्यवस्थापन समिति घडीअर्वा पोखरी सरसफाइ उपसमितिका संयोजक शम्भु साह कानुनले घडीअर्वा पोखरीभित्रको सरसफाइलाई पनि तीव्र बनाएको जानकारी दिए । रासस

प्रतिक्रिया