हावाको गति मन्द हुँदै… ?

नेपालखोज २०८१ कार्तिक १९ गते ११:५०

विश्वभर हावाको गति सुस्त हुँदैछ । यो हावाको गति तुरुन्तै स्पष्ट नहुन सक्छ । तर वैज्ञानिकहरू भन्छन् – हावाको विश्वव्यापी शान्तताले हाम्रो जीवनको लगभग हरेक पक्षलाई असर गर्छ। यो विशेष गरी अप्रत्याशित वर्षा, अत्यधिक गर्मी र आँधीका रूपमा देखिन्छ। हावाको स्थिरताले वायु ऊर्जा उत्पादन र उड्डयन क्षेत्रलाई पनि असर गर्छ। ग्लोबल वार्मिङ र हावाका बीच स्पष्ट सम्बन्ध देखिन्छ ।

हावा के हो ? यो प्रश्नको उत्तर आदिमकाल  देखि नै खोजीदै आएको छ । एरिस्टोटलले आफ्नो पुस्तक मेट्रोलोजिकामा ३४० वर्ष  ईसा पूर्व मै पहिलो पटक हावाको बिबेचना गर्ने प्रयास गरे । यसलाई फ्रान्सिस बेकन्सले १६२२ ईस्वीमा हावाको इतिहास लेख्दै व्याख्या गरेका थिए । अहिले पनि आधुनिक युगका वैज्ञानिकहरू यो अमूर्त, सर्वव्यापी र निरन्तर चलिरहने हावाको गहिरो अन्वेषणमा संलग्न छन् ।

पवन लाई हामी वायु पनि भन्छौ जुन चलायमान हुन्छ अर्थात यसमा गति छ ।  हामी के भन्न सक्छौं भने वायुमण्डलमा उच्च चापीय क्षेत्रबाट न्यून चापीय क्षेत्रमा सर्ने वायु नै हावा हो । मुख्यतया हावाको गति पृथ्वीको सतहबाट सौर्य विकिरणको असमान अवशोषणका कारणले तय हुन्छ । उदाहरणका लागि, समुद्रको हावाको गति तब तय हुन्छ जब जमिन पानीको तुलनामा छिटो तातिन्छ र छिटै चिसो पनि हुन्छ। दिनमा जब जमिन तात्तीएको हुन्छ तब जमिन माथिको हावा तातो र कम बाक्लो हुन्छ र यो माथि तिर बढ्छ जसका कारण तल कम चाप रहन्छ ।

समुद्र माथिको हावा चिसो र घना हुने भएकाले, यो हावाको चाप र तापक्रममा देखापर्ने असमानतामा सन्तुलन कायम गर्न  जमिन तर्फ बढछ । तातो हावा माथि उच्च स्तरमा पुगेपछि चिसिन्छ र बाक्लो पनि हुन्छ । त्यसपछि यो जमिन तिर झर्छ । हावाको यो सर्कुलेशन प्याटर्न विश्वव्यापी छ । पृथ्वीको वक्रता र झुकावका कारण यसका विभिन्न भागमा  फरक-फरक ढंगको तातो हुन्छ अर्थात पृथ्वीको तापक्रम ठाउँ अनुसार फरक – फरक हुन्छ ।

उदाहरणका लागि, भूमध्य रेखा वरपरका उष्णकटिबंधीय क्षेत्रले ध्रुविय क्षेत्रको तुलनामा सूर्यबाट बढी ताप प्राप्त गर्छन् र त्यहाँ तातो हावाको द्रव्यमान बढ्न थाल्छ र त्यसपछि ध्रुवहरूतिर सर्छ । तर पृथ्वीको परिक्रमा जुन भूमध्य रेखामा सबैभन्दा छिटो छ र ध्रुवहरू नजिक सुस्त छ, यसले विश्वव्यापी वायुमण्डलीय परिसंचरणमा जटिलता थप्छ। वायुप्रवाह उत्तरी गोलार्धमा दायाँ र दक्षिणी गोलार्धमा बाँया तर्फ अघि बढछ  जसका कारण घुमाउरो बाटोहरु बन्छन् ।

यो स्पष्ट विचलन कोरिओलिस प्रभाव भनेर चिनिन्छ। विश्वको तापक्रममा भिन्नताका कारण प्रत्येक गोलार्धका लागि तीन फरक वायुमण्डलीय प्रणाली जिम्मेवार छन् – ह्याडली सेल, फेरेल सेल र ध्रुवीय कोशिका जुन कम उचाइमा वा कम ट्रोपोस्फियरमा हुन्छ। तल्लो ट्रोपोस्फियर वायुमण्डलको सबैभन्दा तल्लो तह हो। हावाको प्रणालीले पृथ्वीमा मौसमको अवस्थालाई नियन्त्रित गर्दछ र विश्वभरको जीवनलाई आकार दिन्छ । आखिर हावा नभए यो वातावरण , यो वायुमण्डल कसरी सम्भव थियो ?

प्रतिक्रिया