संसारका सबैभन्दा ठूला वित्तीय केन्द्र

काठमाडाैं । बेलायती अनुसन्धान संस्थान लङ फाइनान्सका अनुसार विश्वका वित्तीय केन्द्रहरू अहिले पश्चिमी देशहरूको सिमानाभन्दा बाहिर फैलिएका छन्। सन् २०२४ को ग्लोबल फाइनान्सियल सेन्टर इन्डेक्समा एशियाली केन्द्रहरूले महत्वपूर्ण स्थान हासिल गरेका छन्।
न्यू योर्क शीर्षमा
न्यूयोर्क अझै पनि सबैभन्दा प्रतिस्पर्धी वित्तीय केन्द्र हो । सन् २०१४ मा यसको अंक ७६३ थियो तर २०२४ मा बढेर ७७८ पुगेको छ ।
लन्डन कमजोर भयो
लन्डनको अवस्था केही कमजोर भएको छ। २०१४ मा यसको स्कोर ७७७ थियो तर २०२४ मा घटेर ७५० मा पुग्यो । यसमा ब्रेक्जिटको असर पनि परेको हुन सक्छ ।
हङकङ पनि कमजोर
हङकङले पनि गिरावटको सामना गरेको छ । २०१४ मा यसको स्कोर ७५६ थियो तर २०२४ मा घटेर ७४९ मा पुग्यो । यद्यपि हङकङ आज पनि विश्वको तेस्रो ठूलो वित्तीय केन्द्र हो ।
सिंगापुर स्थिर
सिंगापुरको अवस्था स्थिर छ। २०१४ मा यसको स्कोर ७४६ थियो भने २०२४ मा थोरै बढेर ७४७ पुगेको छ, जसले यसलाई विश्वको सबैभन्दा स्थिर वित्तीय केन्द्रहरू मध्ये एक बनाएको छ।
सान फ्रान्सिस्को
अमेरिकाको सान फ्रान्सिस्कोले सूचकांकमा उल्लेखनीय वृद्धि हासिल गरेको छ। २०१४ मा यसको स्कोर ७१९ थियो जुन २०२४ मा ७४२ पुगेको छ। यसमा सिलिकन भ्यालीको महत्वपूर्ण योगदान छ ।
लस एन्जलसको तिब्र बिकास
अमेरिकाको लस एन्जलस पछिल्लो १० वर्षमा सबैभन्दा बढि वृद्धि हासिल गर्ने आर्थिक केन्द्र हो । २०१४ मा यसको स्कोर ६५० थियो जुन २०२४ मा बढेर ७३९ पुगेको छ । यसैगरी शिकागो पनि शीर्ष १० मा छ ।
चीनका शहरहरू
सांघाई र शेन्जेन शीर्ष १० मा पुगेका छन् र बढि प्रतिस्पर्धात्मक बन्दै गएका छन्। सांघाईको स्कोर ६९० बाट ७३८ तथा शेन्जेनको स्कोर ६८० बाट बढेर ७३२ पुगेको छ । २००७ मा यी सहरको र्याकीङ २४ र ३६ थियो । यसैगरी चेङ्दुले पनि ठूलो प्रगति हासिल गरेको छ ।
एशियाली शहरहरूको वृद्धि
एसियाली सहरहरू यो सूचकांकमा निरन्तर उकालो लागिरहेका छन् । दक्षिण कोरियाको राजधानी सियोल ११ नम्बरमा छ भने भारतको मुम्बई चार स्थान माथि चढदै ५४औँ स्थानमा पुगेको छ । यसैगरी नयाँ दिल्ली सात स्थान माथि ६८औँ स्थानमा पुगेको छ ।
प्रतिक्रिया