मृग भनेर हानेको गोली साथीलाई लागेपछि…

खोटाङ । सिकार खेल्न सँगै जङ्गल गएका साथीले हानेको भरुवा बन्दुकको गोली लागेर केपिलासगढी गाउँपालिका–१ फेदीस्थित पिपिङका ५८ वर्षीय जगतप्रसाद राईको मृत्यु भएको छ । फेदीको हात्तीढुङ्गे जङ्गलमा सिकार खेल्न सँगै गएका स्थानीय २५ वर्षीय चेतन राईले प्रहार गरेको भरुवा बन्दुकको गोली लागेर बुधबार राति जगतप्रसादको घटनास्थलमै मृत्यु भएको हो ।
मृग भनेर आफूले हानेको गोली लागेर साथी (जगतप्रसाद)को घटनास्थलमै मृत्यु भएको चेतनले स्वीकार गरेको फेदीका स्थानीयवासी एवं स्थानीय नेता लक्ष्मण साम्पाङले जानकारी दिए । ‘रातको समयमा दुईजना मिलेर सिकार गर्न गएका रहेछन् । चरणमा आउने मृग भनेर चेतनले गोली चलाएको रहेछ । तर आफूले प्रहार गरेको गोली मृगलाई नभई जगतप्रसादलाई लाग्दा घटनास्थलमै मृत्यु भएछ’, उनले भने, ‘गोली लागेर जगतप्रसादको मृत्य भएपछि चेतनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
चेतनले मृग भनेर गोली हानेको तर, दृष्टि भ्रम भएर साथीलाई लागेर मृत्यु भएको स्वीकार गरिसकेका छन् । फेदीको पिपिङस्थित गाउँ नजिकैको जङ्गलमा भरुवा बन्दुक पड्केको आवाज सुनेपछि हेर्न जाँदा जगतप्रसादको छातीबाट रगत बगिरहेको अवस्थामा घटनास्थलमै मृत्यु भएको र चेतन भाग्दै गरेको फेला पारिएको आफन्तले बताएका छन् ।
घटनालगत्तै आफूले प्रहार गरेको बन्दुक छाडेर भागेका चेतनलाई फोन सम्पर्क गरेर घरमा बोलाएपछि प्रहरीको जिम्मा लगाइएको साम्पाङले बताए । घटनाका बारेमा स्थानीयले प्रहरी चौकी खार्ताम्छालाई जानकारी दिएपछि खार्ताम्छाबाट खटिएको प्रहरी टोलीले घटनास्थल सुरक्षित राखेर जिल्ला प्रहरी कार्यालय खोटाङलाई खबर गरेको थियो । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक सञ्जु कार्कीको नेतृत्वमा गएको प्रहरी टोलीले बिहीबार घटनास्थलको सर्जमिन मुचुल्का गरेर मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल ल्याएको जनाइएको छ ।
घटनास्थलबाट एउटा प्रहार भएको खाली र अर्को गोली भरिएको भरुवा बन्दुक बरामद गरिएको निरीक्षक कार्कीले बताए । उनका अनुसार चेतनले प्रहरीसमक्ष आफूबाट गल्ती भएको स्वीकारेका छन् । जिल्लाका स्थानीयले मनोरञ्जनका साथै मासु र हाडखोर बिक्रीका लागि बाघ, भालु, मृग, थार, घोरल, खरायो, कालिजलगायत जङ्गली जनावर तथा पक्षी सिकार गर्दै आएका छन् । सिकारीले लोपोन्मुख जनावर रेडपाण्डा, सालक र हुचिल जीवितै नियन्त्रणमा लिएर बिक्रीसमेत गर्ने गरेको स्थानीयले बताएका छन् । चोरी सिकार गर्नेलाई नियन्त्रणमा लिएर कानुनी कारबाही नगर्दा पछिल्लो समय लोपोन्मुख जीवजन्तु जिल्लामा हराउन थालेको स्थानीयले बताएका छन् । रासस
प्रतिक्रिया