विश्वशान्तिका लागि योग, यज्ञ र ध्यानको आवश्यकतामा जोड

काठमाडौं । विश्वशान्तिका लागि योग, यज्ञ र ध्यान नै महत्वपूर्ण हुनेमा जोड दिइएको छ । नेपाल महर्षि वैदिक फाउन्डेसनले यहाँ आयोजना गरेको वैदिक विज्ञान र आधुनिक विज्ञान दोस्रो महासम्मेलनको तेस्रो दिनको कार्यक्रममा महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिले विश्वशान्ति स्थापनामा योगदान गर्ने योग, यज्ञ र ध्यानको संस्कारलाई भावी पुस्तामा पनि हस्तान्तरण गर्नुपर्नेमा जोड दिए ।
यसका लागि फाउन्डेसनले वैदिक साम्यवादको अवधारणा अगाडि बढाउनुपर्ने उनको भनाइ थियो । हाम्रा पुर्खा अशिक्षित भए पनि उनीहरूले दिएको संस्कारले अहिलेसम्म पनि काम गरिरहेको उल्लेख गदै गिरिले संस्कार हस्तान्तरणमा पनि यस्ता कार्यक्रम सहयोगी हुने बताए ।
महर्षि व्यवस्थापन विश्वविद्यालय आयोवा अमेरिकाका पूर्वकुलपति डा जोन हेगलिनले चेतनामा आधारित शिक्षा, योग, यज्ञ र ध्यानका माध्यमबाट नेपालले वैदिक ज्ञानको विश्वव्यापी नेतृत्व गर्न सक्ने बताए । महर्षिले पनि वैदिक ज्ञानको नेतृत्व हिमालयको देश नेपालले गर्न सक्छ भनेका उनले स्मरण गरे ।
वैदिक दर्शनका विद्वान् डा गुरुप्रसाद सुवेदीले स्थान र शुद्ध समयमा गरिने यज्ञले नै विश्व शान्तिका लागि योगदान गर्ने भएकाले यस्ता कुरामा पनि ध्यान दिनुपर्ने सुझाव दिए । शुद्ध यज्ञका लागि स्थानीय गाईकै दुध, दहीलगायत सामग्री चाहिनेमा पनि उनले जोड दिएका थिए ।
फाउन्डेसनका अध्यक्ष एवं पूर्वगृह राज्यमन्त्री दीपकप्रकाश बास्कोटाले महायज्ञ एवं महासम्मेलन आइतबार समापन गरिने जानकारी दिए । विश्वशान्ति, समृद्धि र विकासका लागि वैदिक विज्ञान र आधुनिक विज्ञानलाई एकसाथ लैजानुपर्नेमा उनको जोड थियो ।
महर्षि नेपाल आएको स्वर्ण महोत्सवका अवसरमा महासम्मेलनसँगै विश्व कल्याणका लागि अतिरुद्री विराट महायज्ञ पनि आयोजना गरिएको छ । महर्षि महेश योगीले पनि ५० वर्षअघि नेपाल आउँदा हिमालयको काखमा रहेको नेपालले वैदिक ज्ञानका माध्यमबाट विश्वलाई शान्तिको सन्देश दिन सक्ने उद्घोष गरेका थिए ।
बिहीबारदेखि सुरु भएको महायज्ञ कात्तिक २५ गतेसम्म सञ्चालन हुनेछ । महायज्ञमा भावातीत ध्यान र सिद्धि साधना गरिरहेका एक हजार १११ वैदिक पण्डितले रुद्राभिषेक गरिरहेका छन् ।

प्रतिक्रिया