सोमबार, मंसिर २४, २०८१

एसीसी यू-१९ एसिया कप : नेपालले कहिले कोसँग खेल्दै छ ?

नेपालखोज २०८१ कार्तिक २५ गते ११:५३

काठमाडाैं । एसियन क्रिकेट काउन्सिल (एसीसी)ले आयोजना गर्ने यू-१९ एसिया कप यहि मंसिर १४ देखि २३ गतेसम्म युएईमा संचालन हुँदै छ । एसीसीले जारी गरेको प्रतियोगिताको खेल तालिका अनुसार मंसिर १४ देखि २३ गतेसम्म हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले श्रीलंकाको सामना गर्दैछ भने दोस्रो खेल मंसिर १६ गते बंगलादेशसँग हुने छ । समूह चरणमा नेपालको तेस्रो तथा अन्तिम खेल मंसिर १८ गते अफगानिस्तानसँग हुने छ ।

एसीसीको आयोजनामा हुने ५० ओभरको यो प्रतियोगितामा एसियाका आठ देश सहभागी हुने छन् । प्रतियोगितामा एसियाका ५ टेस्ट राष्ट्र स्वत छनोट हुने ब्यवस्था छ । गत अक्टोबरमा भएको एसीसी प्रिमियर कपमा यूएईलाई हराउँदै नेपाल च्याम्पियन हुँदै यो प्रतियोगितामा छनोट भएको थियो । नेपाल, यूएई र जापान गत वर्ष मलेसियामा भएको एसिसी प्रिमियर कपको शीर्ष ३ मा रहेर छनोट भएका हुन् ।

प्रतियोगितामा सहभागी ८ देशलाई २ समूहमा विभाजन गरिएको छ । नेपाल समूह ‘बी’मा श्रीलंका, बंगलादेश र अफगानिस्तानसँगै रहेको छ । यसैगरी समूह ‘ए’मा भारत, पाकिस्तान, जापान तथा यूएई छन् । हरेक समूहका शीर्ष दुई देशले सेमिफाइनलमा अर्को समूहका विजेताहरुसँग प्रतिस्पर्धा गर्ने छन् । यो प्रतियोगिताको फाइनल मंसिर २३ गते हुने छ ।

नेपाली टिम
नेपाल क्रिकेट संघ (क्यान)ले एशिया कप यू-१९ का लागि हेमन्त धामीकाे कप्तान र शक्ति गौचन मुख्य प्रशिक्षक रहेको टिमको घोषणा पनि गरिसकेको छ । यू-१९ का यसअघिका कप्तान देव खनाल निरन्तर सिनियर टिममा खेल्न थालेपछि धामीलाई कप्तानीको जिम्मा दिइएको हो । एसिया कप खेल्ने १८ सदस्यीय नेपाली टिममा अर्जुन कुमाललाई उपकप्तानको जिम्मेवारी दिइएको छ भने, सहायक प्रशिक्षक धीरेन्द्र चन्द रहने क्यानले जनाएको छ ।

यू-१९ एशिया कप खेल्ने नेपाली खेलाडीहरुमा आकाश त्रिपाठी, उत्तम थापा मगर, मयन यादव, नरेन साउद, नरेन भट्ट, युनिश विक्रम सिंह ठकुरी, सन्तोष यादव, युवराज खत्री, रोशन विश्वकर्मा, विपीन कुमार महतो, राजेश यादव, दयानन्द मण्डल, अपराजित पौडेल, अभिषेक तिवारी, दिलसाद अलि तथा रन्जित कुमार छन् ।

प्रतिक्रिया