मंगलबार, मंसिर २५, २०८१

उप-निर्वाचनका लागि सिफारिस भएका उम्मेदवारको नाम अनुमोदन गर्ने माओवादीकाे निर्णय

नेपालखोज २०८१ कार्तिक २६ गते १२:४२

काठमाडाैं । नेकपा माओवादी केन्द्रले आगामी मङ्सिर १६ गते हुने उप-निर्वाचनका लागि सिफारिस भएका उम्मेदवारको नाम अनुमोदन गर्ने निर्णय गरेको छ ।

सोमबार ललितपुरको खुमलटारस्थीत पार्टी अध्यक्ष प्रचण्ड निवासमा बसेको पार्टी केन्द्रीय कार्यालय बैठकले उपनिर्वाचनका लागि प्रदेश र जिल्ला कमिटीबाट सिफारिस भएका उम्मेदवारहरूको नाम अनुमोदन गरेको प्रवक्ता अग्नि प्रसाद सापकोटाले जानकारी दिए ।

बैठकले निर्वाचनमा पार्टीलाई जित दिलाउनका लागि योजना र कार्यक्रम समेत बनाउँदै अघि बढ्न पार्टी नेता कार्यकर्तालाई आग्रह समेत गरेको उनले बताए ।

त्यस्तै बैठकले पुस २ गते केन्द्रिय समितिको बैठक आह्वान गर्ने निर्णय गरेको छ । केन्द्रीय कार्यालय बैठकले मङ्सिर मसान्तसम्म पालिकासभा र खबरदारी सभामार्फत प्रभावकारी जनपरिचालनको कार्यक्रम गर्ने निर्णय गरेको छ ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय मुद्दामा सरकारको उपस्थीति कमजोर भएको र राम्रा काम गर्नेलाई हटाउने प्रयास भइरहेकाले सरकारबिरुद्धको खवरदारीलाई शसक्त रुपमा अघि बढाउने निर्णय भएको प्रवक्ता सापकोटाले बताए ।

उनले अग्रमन र जनताको अधिकार बढाउने विषयमा संविधान संशोधन हुनुपर्ने र राजनीतिक स्थायीत्वका लागि पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्नेमा माओवादीको जोड रहेको उल्लेख गरे ।

प्रतिक्रिया