अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न एक जना पक्राउ

काठमाडौं । अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा कास्की माछापुच्छ्रे गाउँपालिका–५ ठेगाना भएका २९ वर्षीय सुजन पौडेललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । सुजन समेतका व्यक्तिहरूले अनलाईन मार्फत सस्तो मुल्यमा ल्यापटप उपलव्ध गराई दिने भनि विश्वास दिलाई पीडितबाट ४० थान ल्यापटप बराबरको २७ लाख ६० हजार रूपैयाँ रकम लिई ल्यापटप नदिई ठगी गर्ने कार्यमा संलग्न उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं ठमेल नर्सिङचोकबाट पक्राउ गरेको हो । उनलाई ठगी सम्वन्धी कसूरमा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ ।
अष्ट्रेलिया पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
वैदेशिक रोजगारमा अष्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सा पर्टेवा सुगौली गाउँपालिका–२ रंगपुर टाडी घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका–१० बालुवाखानी बस्ने ३४ वर्षीय सुदिपचन्द्र बख्रेल र ललितपुर महानगरपालिका–२ सानेपा बस्ने ३३ वर्षीय सुरज खनाल रहेका छन् ।
उनीहरूले अष्ट्रेलिया पठाइदिन्छु भन्दै पीडितहरूबाट नगद १२ लाख रूपैयाँ लिई सम्पर्क विहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं महानगरपालिका–१ नक्साल गैह्रीधाराबाट पक्राउ गरेको हो । साथै पक्राउ परेका दुवै जना बैंकिङ कसूर एवम् अपराधिक लाभ मुद्दामा समेत संलग्न रहेको अनुसन्धानको क्रममा खुल्न आएको छ । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ ।
यसैगरी वैदेशिक रोजगारमा अष्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–३ घर भई काठमाडौं महानगरपालिका–३ पानीपोखरी बस्ने ३१ वर्षीय गणेश गुरूङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । गुरूङले अष्ट्रेलिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट नगद ४ लाख रूपैयाँ लिई सम्पर्क विहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–३ पानीपोखरीबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १८ जना पक्राउ
लमजुङको बेसीशहर नगरपालिका–७ भुपु सैनिक स्कुल नजिकबाट नियन्त्रित लागूऔषध ट्रमाडोल ३ सय ५३ क्याप्सुल र नगद ३५ हजार ४ सय ३० रूपैयाँ सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बेसीशहर नगरपालिका–७ सातबिसे बस्ने २७ वर्षीय उमेश गुरूङ र मर्स्याङदी गाउँपालिका–८ सिमलचौर बस्ने २६ वर्षीय खोम बहादुर गुरूङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
मोरङको विराटनगर महानगरपालिका–१७ मटेर्वा चोकस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ९० मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका–११ पिचरा बस्ने ३७ वर्षीय राजेन्द्र पोख्रेल र सोही महानगरपालिका–१० तीनटोलिया बस्ने ४२ वर्षीय कुशल थापा रहेका छन् । अस्थायी प्रहरी पोष्ट भेडियारीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश ३–०२–००६ प ३०१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी मोरङको विराटनगर महानगरपालिका–१६ हुलास चोकस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ६४ मिलिग्राम सहित सुन्दरहरैचा नगरपालिका–६ गछीया बस्ने ३२ वर्षीय युवराज खड्कालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
सुनसरीको धरान उपमहानगरपालिका–८ स्थित सेउती पुल नजिकबाट नियन्त्रित लागूऔषध ट्रामानिल २ सय क्याप्सुल र स्पास्पेन २ सय ट्याब्लेट सहित ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका–१५ बस्ने २४ वर्षीय मौषम लिम्बु, २३ वर्षीया सृजना राई र २५ वर्षीया निशा श्रेष्ठ रहेका छन् । अस्थायी प्रहरी पोष्ट तिनकुनेबाट खटिएको प्रहरीले को.३४ प ३३९७ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै थप सोधपुछको क्रममा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले धरान उपमहानगपालिका–९ डेरा गरी बस्ने सिराहा घर भएका २३ वर्षीय अंकित कुमार सिंहको कोठाबाट नियन्त्रित लागूऔषध ट्रामानिल ९ हजार ३ सय क्याप्सुल र स्पास्पेन ६ हजार ६ सय २६ ट्याब्लेट फेला पारी अंकित, धरान उपमहानगरपालिका–८ बस्ने २० वर्षीय साइमन राई र २३ वर्षीय सागर श्रेष्ठलाई समेत प्रहरीले पक्राउ गरेको छ ।
यसैगरी सुनसरीको धरान उपमहानगपालिका–३ स्थित लालीगुराँस होटलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय २० मिलिग्राम सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका–१५ बगरकोट बस्ने २४ वर्षीय रवि भन्ने राम श्रेष्ठ र सोही उपमहानगरपालिका–१६ गणेशमानचोक बस्ने २२ वर्षीया मेलिना राई रहेका छन् । वडा प्रहरी कार्यालय धरान र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सर्लाहीको इश्वरपुर नगरपालिका–१२ स्थित फुलजोर–डोमखोरिया सडकखण्डको जंगल एरियाबाट अवैध लागूऔषध गाँजा करिब २ किलोग्राम सहित २ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ब्रहम्पुरी गाउँपालिका–५ बस्ने २२ वर्षीय अबिनाश कापर र २७ वर्षीय बिक्रम कापर रहेका छन् । इलाका प्रहरी कार्यालय केशरगंज र अस्थायी प्रहरी पोष्ट कालिनजोर घारिबथानबाट खटिएको प्रहरीले बिआर ३० एजी ६४२१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
यसैगरी सर्लाहीको बरहथवा नगरपालिका–१६ गंगापुरबाट अवैध लागूऔषध गाँजा करिब १० किलोग्राम सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा हरीहरपुर गढी गाउँपालिका–८ पांचतले बस्ने २९ वर्षीय वाङ दोर्जे थिङ र हरीवन नगरपालिका–४ तीनघरे बस्ने ३० वर्षीय सागर लामा रहेका छन् । इलाका प्रहरी कार्यालय मुर्तियाबाट खटिएको प्रहरीले बा.प्र.०२–०२१ प २४४४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
पर्साको वीरगंज महानगरपालिका–१४ गण्डक चेक पोष्टस्थित सडकबाट नियन्त्रित लागूऔषध डाईजेपाम १ हजार २ सय एम्पुल, फेनारगन १ हजार १ सय ८५ एम्पुल र नुर्फिन १ हजार १ सय ९५ एम्पुल सहित सोही महानगरपालिका–२५ बस्ने २३ वर्षीय राज महम्द देवानलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गण्डकबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौंतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–००१ ख २६६६ नम्बरको बसलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
भरूवा बन्दुक सहित एक जना पक्राउ
कव्होलासोथार गाउँपालिका–९ छापा बस्ने ५० वर्षीय मंगल परियारलाई एकनाले भरूवा बन्दुक १ थान सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी गिलुङबाट खटिएको प्रहरीले उनको घर नजिक जंगलको भिरमा लुकाई छिपाई राखेको उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ
मालिकार्जुन गाउँपालिका–४ ऐरीछाना बस्ने किसन सिंह धामीको घरमा जुवातास खेलिरहेको अवस्थामा धामी समेत ८ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ३२ हजार ३ सय ७० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
कुटपिटबाट एक जनाको मृत्यु, कुटपिटमा संलग्न ४ जना पक्राउ
गौरीगंगा नगरपालिका–११ कान्तिपुर बस्ने ३० वर्षीय सुरेश भुलको कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा ४ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ६५ वर्षीय जंगे भुल, १८ वर्षीय किशोर, २३ वर्षीय बिशाल विक र ३० वर्षीय धर्म विक रहेका छन् । बाख्रा चोरी गरेको विषयमा उनीहरूले शनिबार राति कुटपिट गर्दा गम्भीर घाइते भएका सुरेशको निसर्ग अस्पतालमा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
बागलुङको जैमिनी नगरपालिका–७ हर्देवा पाखास्थित भित्री सडकमा छिस्तिबाट बागलुङ बजारतर्फ जाँदै ग.२ च ९२४७ नम्बरको पिकअप जिप अनियन्त्रित भई सडकदेखि करिब ५ सय मिटर तल खसेर सोमबार बिहान दुर्घटना हुँदा जिपमा सवार ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा जिपका चालक जैमिनी नगरपालिका–८ केवई बस्ने ३८ वर्षीय महेन्द्र पुन, सोही ठाउँ बस्नेहरू २० वर्षीया रश्मी श्रीष, ५० वर्षीया नन्दकली पुन, १७ वर्षीय निरज श्रीष र ७५ वर्षीय कुल प्रसाद श्रीषको मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका जिपमा सवार १ जनालाई उपचारको लागि धवलागिरी अस्पताल बागलुङ पठाइएको छ ।
सुनसरीको कोशी गाउँपालिका–८ भाण्टाबारीस्थित सडकमा ना.६ ख.२०९३ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरूषको आइतबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको गोल्डेन अस्पताल विराटनगर मोरङमा थप उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रौतहटको चन्द्रपुर नगरपालिका–१ पौराई लच्कन पुल नजिक सडकमा बाग्मती बि एसी ५६०३ नम्बरको कारको ठक्करबाट भारत बिहार पश्चिम चम्पारण पर्सौनी मानपुर बस्ने ४० वर्षीय भोला गिरीको आइतबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको चन्द्रपुर अस्पताल प्रालि चपुरमा उपचारको क्रममा मृत्यु भएको हो । उक्त स्थानमा बिग्रिएको लु.५ त १४०९ नम्बरको धान काट्ने मेशिन मर्मत पश्चात राजमार्गमा निकाल्ने क्रममा मेशिन बनाउन आएका मिस्त्री गिरीलाई उक्त कारले ठक्कर दिएको थियो । कार र मेशिनका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सर्लाहीको बलरा नगरपालिका–१ हथिऔलस्थित सडकमा बिआर ३० एस ९३०७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार साँझ दुर्घटना हुँदा चालक सोही नगरपालिका–९ बस्ने २० वर्षीय राजीव सहनीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको एनएमसी वीरगंज पर्सा हुँदै थप उपचारको लागि भरतपुर चितवनतर्फ लैजाने क्रममा मृत्यु भएको हो ।दुर्घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
काठमाडौं महानगरपालिका–७ गोपीकृष्ण हल पछाडी सोही महानगरपालिका–९ गौशाला बिजय चोक घर भएका ४२ वर्षीय संजिब भण्डारीको आस्क ईन्टरनेशनल प्रालि (फर्निचर गोदाम) मा विद्युत सर्ट भई आइतबार दिउँसो आगलागी हुँदा गोदाममा रहेको प्लाई, भिनिष्टर, आलमुनियम लगायतका सामान जलेर करिब ३ करोड ५० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । साथै उक्त आगलागी फैलिएर सोही ठाउँ बस्ने भवानी उपाध्यायको घरमा समेत आगलागी हुँदा करिब १० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
बाराको सुबर्ण गाउँपालिका–६ मुसहर्ना टोल बस्ने ७० वर्षीया तबिजन खातुनको घरमा आइतबार बेलुकी आगलागी हुँदा करिब २ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । साथै उक्त आगलागी फैलिएर सोही ठाउँ बस्ने शेख नेसार महम्दको घर अगाडि रहेको धानको भकारीमा समेत आगलागी हुँदा भकारीमा रहेको करिब २० क्विन्टल धान जलेर नष्ट भएको छ ।
पाँचथरको फालेलुङ गाउँपालिका–२ जोरपाटी बस्ने नवराज विष्टको घरमा आइतबार बेलुकी आगलागी हुँदा घरभित्र रहेको अन्नपात, लत्ताकपडा, भाँडावर्तन, काठपात जलेर करिब ३ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया