गण्डकी प्रदेस महोत्सव : जातीय परम्परागत घर अवलोककर्ताको रोजाइमा

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडकोट–२ स्थित नारायणी नदीकिनारमा सञ्चालन भइरहेको दोस्रो संस्करणको गण्डकी प्रदेस महोत्सव–२०८१ मा जातीय संस्कृति संरक्षणको प्रयास गरिएको छ । महोत्सवमा नवलपुरमा रहेका विभिन्न आदिवासी जनजातिहरुको मौलिक संस्कृति संरक्षण गर्न उनीहरुको परम्परागत घर नै बनाएर महोत्सव पुग्नेलाई सांस्कृतिक बोध गराइएको छ ।
महोत्सवमा थारु, मगर, गुरुङ, तामाङ र चेपाङ जातिको घर निर्माण गरी उनीहरुले प्रयोग गर्ने परम्परागत घरायसी उपकरण प्रदर्शनीसँगै मौलिक खाना प्रदर्शनी गरिएको छ ।
गत कात्तिक २६ गतेदेखि सञ्चालन भइरहेको महोत्सवमा चेपाङ जातिको सांस्कृतिक घरसँगै उनीहरुको पोसाक, उनीहरुको खाद्यान्न बनतरुल, गिठा, भ्याकुर, पिँडालु र स्याखु राखिएको छ । त्यस्तै, मगर जातिको सांस्कृतिक घरमा उनीहरुले प्रयोग गर्ने औजारहरु न्हाङली (नाङ्ग्लो), पिराँखु (पेरुङ्गो), खुर्पा ट्याक, खँचरी, मुजुरा, जाँतो, ओदान, ढिकी राखिएको छ । त्यसैगरी, मगर जातिको पर्वहरुमा खाइने मासको बटुक त्यहीँ पकाउँदै आगन्तुकहरुको स्वागत गर्ने गरिएको नेपाल मगर सङ्घ गैँडाकोट नगर अध्यक्ष मस्राङ्गी मगरले बताए ।
महोत्सवको सांस्कृतिक समितिका संयोजकसमेत रहनुभएका मगरले जनजातिहरुको संस्कृति लोप हुँदै गएकाले नयाँ पुस्तालाई यसबारे बुझाउन तथा संरक्षणका लागि स्थानीय सरकारलाई ध्यानाकर्षण गराउन महोत्सवमा सांस्कृतिक घरहरु राखिएको बताए । जातीय सांस्कृतिक घरसँगै ती जातिहरुले प्रयोग गर्ने परम्परागत सामग्री उपलब्ध भएसम्म राखिएको उनको भनाइ छ । ‘नयाँ पुस्ताले चासो नदिँदा आदिवासी जानजातिहरुको संस्कृति हराउँदै गइरहेको छ’ उनले भने, ‘हाम्रो प्रयासले नयाँ पुस्तालाई संरक्षणप्रति जागरण आउनसक्छ भने अन्य समुदायका व्यक्तिहरुलाई हाम्रो संस्कृति बुझ्न सहज हुन्छ ।’
नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष एवम् महोत्सव मूल समिति संयोजक अमृत भट्टचनले आफूहरु आर्थिक उपार्जनसँगै संस्कृति संरक्षणप्रति पनि सचेत रहेको बताए । ‘जाजातिहरुको सांस्कृतिक घरमा अवलोकनसँगै उनीहरुको संस्कृतिबारे र प्रयोग गर्ने सामग्रीको बारेमा समेत जानकारी लिन पाइन्छ’ उनले भने, ‘जातीय खानाहरुसमेत सांस्कृतिक घरमा राखिएकाले फरक फरक संस्कृति एकैठाउँमा बुझ्न पाउने वातावरणसमेत बनेको छ ।’ सांस्कृतिक घरमा ती जातिले खाने परम्परागत खाद्यान्नहरु प्रदर्शन तथा बिक्रीका लागि समेत राखिएको उनले जानकारी दिए ।
प्रतिक्रिया