सार्क राष्ट्रबीच सम्बन्ध बलियो बनाउन पत्रकारिताको भूमिका महत्वपूर्ण छ : सञ्चारमन्त्री गुरुङ

नेपालखोज २०८१ मंसिर ९ गते २०:४८

काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सार्क राष्ट्रको सम्बन्ध बलियो बनाउन पत्रकारिताजगत्को भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

बागबजारस्थित काठमाडौं मोडेल कलेजमा आज सार्क जोर्नालिस्ट एसोसिएसनले आयोजना गरेको कार्यक्रममा मन्त्री गुरुङले पत्रकारिताले वाक स्वतन्त्रता, मानव अधिकारको रक्षा र भिन्न मुलुकबीचको सम्बन्ध स्वच्छ तथा प्रगाढ बनाउन सघाउने बताए ।

उनले एसोसिएसनले पत्रकार र पत्रिकारिताको उन्नतिका लागि गर्दैआएको कार्यको प्रशंसा गरे । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पछिल्लो समय दक्षिण एसियाभरिको पत्रकारितासम्बन्धी साझा मुद्दा सामाजिक सञ्जाललाई कसरी व्यवस्थित बनाउन सकिन्छ भन्ने विषय रहेको बताए ।

‘यस विषयमा सार्क राष्ट्रका पत्रकारले छलफल गरेर समाधानसहितको सामूहिक निष्कर्ष निकाल्न जरुरी छ’, उनले भने । कार्यक्रममा सार्क जोर्नालिस्ट एसोसिएसनका अध्यक्ष डा. नटराज रेले दक्षिण एसियाका पत्रकारको विचार–विर्मश गर्ने साझा थलोका रूपमा सङ्गठित हुने अभियानमा रहेको बताए ।

भारत, नेपाल र बङ्गलादेशका केही सञ्चार संस्था मिलेर गठन गरिएको उक्त सङ्गठनमा अन्य सार्क राष्ट्रलाई आबद्ध गराउने प्रक्रियामा रहेको उनले जानकारी दिए ।

उनले एसोसिएसनले सार्क मुलुकका पत्रकार र पत्रिकारिताको साझा चौतारीका रूपमा विकास गर्ने उद्देश्य रहेको बताए । सो अवसरमा दक्षिण एसियाका विभिन्न पत्रकारलाई पुरस्कारसहित सम्मान गरिएको थियो । रासस

प्रतिक्रिया