‘राजनीतिमा हुने महिला हिंसामा मौनताको अन्त्य गरौँ’

पाटन (ललितपुर) । प्रतिनिधिसभाका पूर्वसभामुख ओनसरी घर्तीमगरले दुई नेताबीच संवाद नहुने अवस्थामा सफलतापूर्वक संसद्को नेतृत्व गरेको बताएकी छन् । मिडिया एड्भोकेसी ग्रुपद्वारा आज यहाँ आयोजित ‘महिला हिंसाविरूद्ध म बोल्छु’ विषयक कार्यक्रममा उनले आफू सभामुख हुँदा एक सय १६ वटा कानुन पारित गरेको जानकारी दिइन् ।
‘मलाई सानैदेखि समाजले छोरीले गर्न हुँदैन भनेको कुरा गर्न मन लाग्थ्यो, हलो जोत्ने, बन्धुक बोकेर आन्दोलनमा होमिनेदेखि कमाण्ड सम्हाल्नेसम्मका काम गरिसकेको छु, लगातार राजनीतिमा होमिएर प्राथमिकता दिए, आफूले ठीक ठानेको क्षेत्रमा लागेँ, पार्टी नेतृत्वमा थुप्रै काम गरेँ’, उनले भनिन् ।
घर्तीमगरले बहुदलीय व्यवस्था आएपछि महिलाहरूमा राजनीतिक चेतनाको जागरण भयो भन्दै राजनीतिमा लाग्ने प्रेरणा मिलेको बताइन् । ‘मलाई जहिले पनि चुनौती भएको ठाउँमा काम गर्न मन लाग्यो, युद्धमा गएर कमाण्ड सम्हाल्यौँ, बन्दुक बोकेर युद्ध गर्र्याैं, यसले मलाई सभामुख पदसम्म पु¥यायो । राजनीतिका हरेक क्षेत्रमा चुनौती भोग्दै आएको छु, जुन लडाइँ मैले लडेँ, सङ्घर्ष गरेँ, त्यस्तै लडाइँ र सङ्घर्ष हाम्रो छोरी पुस्ताले भोग्नु नपरोस्’, उनले भनिन् । प्रतिनिधिसभा सदस्य डा विन्दा पाण्डेले हरेक तहमा नेतृत्वमा स्थापित हुने महिलाहरू सक्षम हुनुपर्ने बताइन् ।
उनले विसं २०६४ सम्म पनि धेरै महिलाहरू राजनीतिमा थिएनन् भन्दै महिलाहरू समानुपातिकमा मात्रै आउँछन् र अटाउँछन् भन्ने भ्रम चिर्नुपर्छ । ‘विसं २०७० मा तत्कालीन कृषिमन्त्रीलाई हराएर म चुनाव जितेको हुँ, अझै पनि हरेक क्षेत्रमा काम गर्न महिलालाई कठिन छ, यौन हिंसाको पनि समस्या छ, महिलाहरूले आफूलाई स्थापित गर्न चुनौती छ, स्थानीय तहमा समेत महिलाहरूलाई काम गर्न पनि कठिन छ, विगतको भन्दा केही सुधार भए पनि अझै धेरै सुधार गर्न बाँकी छ’, उनले भने ।
कार्यक्रममा टेवा अर्गनाइजेसनका संस्थापक रीता थापाले महिलाहरूलाई पहुँचको अभाव छ भन्दै यसका लागि ध्यान दिनुपर्ने बताइन् । मिडिया एड्भोकेसी फोरम अध्यक्ष अनिता विन्दुले महिला हिंसाविरूद्ध समानता र समताका लागि अग्रज महिला नेत्रीहरूले ठूलो योगदान गर्नुभएको छ भन्दै अझै धेरै योगदान गर्नुपर्ने अवस्था रहेको बताइन् ।

प्रतिक्रिया